ओभानो

निश्चल भण्डारी

सोच

मरूभूमीमा बालुवाका कण जति
अथक मुटुका धड्कन् जति
यि सोचहरूको गणन कति साथी ?

वायूको साहारामा आकाश टेक्न नसक्ने
सूर्यको अङ्गालोमा पग्लिन पनि नसक्ने
यो चारै दिशाको लखतरान कति साथी ?

ऊ चुपचाप चारैतिर रगत बगाउन सक्ने
नशामा ओखति राखी घाउ जचाउन पनि सक्ने
तिम्रो आफैसँगको आन्दोलन् चाहिँ कति साथी ?

‘म’ भित्रको नृत्य

म भित्र एक देवता बस्छ
आफू विष पिएर
संसार बचाउन खोज्छ ।

म भित्र एक सैतान पनि बस्छ
आफू राज गर्न
अरूलाई कङ्गाल बनाउन खोज्छ ।

यसरी पहिले, कहिलेका देवता र राक्षस
‘म’लाई बनाउँछन्, आफू प्रकट् हुन्छन्
‘मै हुँ’ भन्ने ‘म’लाई
‘म’ नरहुन्जेल फन्फनी नचाउछन् ।

हालत

आज तिमी बिमारको हालत बुझ्न आउनु
नाप-तौलले सही गलत छुट्टयाउन आउनु ।

दबाइ व्यर्थ छ— तिम्रो एक झल्को मुस्कान ल्याएर आउनु
घाइतेले घाउ खरिद्छ—तिम्रो दु:खका दुकान ल्याएर आउनु ।

हर्ष विस्मातको यो कहानी—आँशु बटुल्न रूमाल बोकेर आउनु
बेलाबखतको उदासी छल्न घर आँगनका सवाल बोकेर आउनु ।

पहिल्याउलान् बिमारको कारण— तिमी घुम्टो ओढेर आउनु
निर्लज्ज दिल सपना बुन्ला फेरि—तिमी चुल्ठो बाँधेर आउनु ।

आज तिमी बिमारको हालत बुझ्न आउनु
नाप-तौलले सही गलत छुट्टयाउन आउनु ।

फेरि आउला नआउला

बर्सेनि ऋतु जसरि निरन्तर यो सोच फेरि आउला नआउला
पेटको भोक रातको निन्द्राझैँ यो बोझ फेरि आउला नआउला ।

समाजको ऐनामा आफ्नो ढाकछोप फेरि आउला नआउला
पहिले कहिलेको अन्धाधुन्ध खोज फेरि आउला नआउला ।

बटुलेको सारा ढुकुटी मास्ने प्रकोप फेरि आउला नआउला
ढिक छेवैमा जीवन ठड्याउने अठोट फेरि आउला नआउला ।

तिम्रो र मेरो चिन्जान हुने विचित्र संयोग फेरि आउला नआउला
जीवनको सिलाई कटाई साथै गर्ने अनुरोध फेरि आउला नआउला ।

एकल आवत जावतलाई साथको जरूरत फेरि आउला नआउला
अणु, आगो, वायू, प्राण, जल, धर्ती हरथोक फेरि आउला नआउला ।

ओहोर-दोहोर

यो बाटोमा पहिले पनि हिडेको हो
यो यात्री पहिले पनि ढलेको हो ।

अन्जान मुहारसँग पहिले पनि ठोक्केको हो
आत्मिय बन्धनबाट पहिले पनि छुट्टिएको हो ।

आशा भरोसाका धुनमा छमछमी पहिले पनि नाचेको हो
रोगी वर्तमानको दोषी इतिहास पहिले पनि जाँचेको हो ।

जीवनले हरेक बाधा जित्दा मृत्यूले पहिले पनि हारेको हो
कचकचे समाजको पहिरो मौन्ताले पहिले पनि टारेको हो ।

भयो कि?

यो सहरको रङ्गिन सपना अधुरो रह्यो कि ?
अर्काको दाम्लो अर्काकै बारी अफ्ठ्यारो भयो कि ?

भोजन पाक्न ढिलो अनि भोको पेटलाई हतार भयो कि?
अरूले सुनाउने आफूले दोहोर्‍याउने यो बोझ दोब्बर भयो कि?

सदियों देखीको समाज र समयको ऋण उधारो रह्यो कि?
अरूको बाटो हिड्दा कतै आफ्नो सूर्य अँध्यारो भयो कि?

शब्द सबै बुझे पनि अर्थ अझैँ बाँकी रह्यो कि?
एक मुहारमा सारा जिन्दगी बन्धकी रह्यो कि?

तरिका नयाँ अनि समस्या भने उहीँ पुरानो रह्यो कि?
कदम चाल्दा धेरै थरी आत्मा कतै अन्धो भयो कि?

फुर्सद

उस्का आँखामा ताराहरु निदाउँछन् रे
गुराँसहरु उसैका ओठमा उम्रन्छन् रे ।

उस्का पाइलाले धर्ति गजल कोर्छ रे
चन्द्र पनि उसैको मुहारमा ऐना हेर्छ रे ।

यदि यो भन्ने सुन्नेबाट छुट्टी मिल्दो हो त
म उसँग प्रेम गर्दो हुँ ।

उस्का चुल्ठोबाट ताराहरु टिपेर
सगरतिरै फर्काउदो हुँ ।

रंग बिर्सेका फुलमालाहरूको हाड झिकेर
मसानघाट तिरै मिल्काउदो हुँ ।

तर फुर्सद कहाँ छ र यहाँ?
तिमी‍ — एक सोच,
म — अर्को सोच

सोचाइमा लत्पत्तिएका हामी ।
काश फुर्सद हुदो हो त
घुम्टो खोलेर हामी प्रेम गर्दा हौँ !

समय एक्स्प्रेस

यो कोठाको
सामान नमिलाएको
धेरै भयो ।

त्यो मेचको मैनबत्तिले
बिहान नदेखेको
धेरै भयो ।

भित्तामा अड्केका मान्छेहरू
इन्द्रियले नभेटेको
धेरै भयो ।

सिरानी छेवैको डायरीमा
जीवन नबिसाएको
धेरै भयो ।

मन मगज कोट्याइरहने
माकुरो नधपाएको
धेरै भयो ।

सम्भव

कहिँ कतै कम्पन आउँदा
केहि पुग नपुग रहदा
शब्दहरु फिक्का पर्दा
त्यहाँ गाँसिन साथी आउन सक्छ ।

यो रिक्तता
यो शून्यता
यो उतारचढावमा
एक साथ मिल्न सक्छ ।

कही कतै
उस्तै माटो मा फलेको
एक रूखको हाँगा नै
तिम्रो टेको हुन सक्छ ।

यि जान-अनजान घाउका
भारले थिच्चिदा
आफू भित्रै सुस्त सुस्त
ज्ञानको मुल फुट्न सक्छ ।

मौसम मुग्ध प्रवृत्तिहरू
समयका पर्खालहरु
बजारका खिचातानीका
दृश्यको दर्शन बुँझ्दा
यथार्थ तिमी सामु झुल्किन सक्छ ।

आउँ

आउँ आज एक पुरानो बाटो हिडौँ
आफ्नै नाम बोलाउँ
आफ्नै इतिहाश पढौँ
के थाहा अझैँ कतै भेट्टिन्छौँ कि हामी?

आउँ आज भुलेका सपनाका गनौँ
आत्मा रक्षाको पर्खाल ढालौँ र
लक्ष्यको ठाडो उकालो उक्लिउँ
के थाहा जिन्दगी सबै यात्रामै कमाउछौँ कि हामी?

आउँ आज आफूले आफूलाई नभेटेको रात सम्झिउँ
आफूले आफूलाई रटाएका झुटको घुम्टो खोलौँ
आफूलाई ऐना देखाउँ र हेरौ एक टक भई
के थाहा आफैसँग चिन्जान गर्छौँ कि हामी ?

आउँ आज दाँत माझौँ
धेरै चपाएको चिनी छादौँ
कोल्टै पिच्छे बिझाउने कुनाका सिङ उखलौँ
मुहारमा हाँसो सिरानमा निद्रा फलाउँछौ कि हामी ?

मगन्ते

कुनैबेला सृङ्गारको भोकमा मैले जुन माँगे
कैले चाहिँ मैले सम्पत्तिको आसमा सुन माँगे ।

जवानीको उन्मादमा कसैसँग साइनो गाँसिदिन भनेँ
घुम्ति पिच्छे काम, नाम, र इनामको याचना गरेँ ।

ब्रह्माण्ड सोच्दो हो म एक नअघाउने मगन्ते
तर यो शाश्वत भोकको आफ्नै इंजन छ ।

मलाई माग्नेहरुको पनि लस्कर छ
समाजको केहि अपेक्षा छ ।

पाएको आधाउधी परिवारले पुन: माग्छन्
आफूभित्रको एक अन्जानले पनि सुबिधा माग्छ ।

म भिखारी मात्रै कहाँ हो त
म दाता पनि त हुँ ।

ब्रह्मान्ड जत्ति त्याँगी
म पनि उत्ति नै ।

मेरो याचनामा दुनियाँ झर्किनु पर्दैन अनायासै
के म यो बुलबुले खोलाको सगर जाँन्दिन र ?

माँझी

नयनको घुमफिरमा धर्तीले केवल एक तारा दर्शाउँछ
नास्तिक कन्चटमा उस्को नाम ठेगनाको मन्त्र जपाउँछ ।

निष्ठुरीको एक मुठ्ठी माया पाउन मन मुरी मुरी खर्चिन्छ
उस्कै मण्डलमा झुल्किरहन सारा दूरी मजबूरी बिर्सिन्छ ।

खु:शीका पर्वहरु दुखका जँघारमा मन उस्लाई सम्झिन्छ
सडक देखी महलसम्मका करोबारमा उसैलाई अड्कल्छ ।

हर ऋतु हर घडी पवन पनि उसैको खबर ल्याएर आउँछ
उस्का पाउँका पाउँजु कानका झुम्काको गजल सुनाउँछ ।

काँचुली फेर्दा समेत खप्परले उस्कै यादको भारी भेटाउँछ
सम्झी कर्के नजर कालो केश माछा पुन: माँझी बोलाउँछ ।

सौभाग्य

तिमी संसारमा आउनु
तिमीले आमा बुबा पाउनु
तिम्रो आगमनमा आफन्त हाँस्नु
यो कस्तो सौभाग्य!

यो अन्जान दुनियाँमा
तिमी आउनु अनि अट्नु
अनि समेट्टिनु ।

यो नौलो संसारमा
तिम्रो लागी मान्छे हुनु
भाषा हुनु
माया हुनु
यो कस्तो सौभाग्य ।

यो जीवनमा
तिमी बाटा हिँड्नु
नयाँ मान्छे भेट्नु
संसार त पहिल्यै छ
तर तिमी नयाँ हुनु
यो पुरानो संसारमा
तिमी तिमी हुन पाउनु
यो कस्तो सौभाग्य ।

तिमी तिमी हुँदा
यो धर्ती नखुम्चिनु
यो धर्तीमा नयाँ तारा थप्पिनु
यो संसारले नौलो दृष्टि पाउनु ।
यो कस्तो सौभाग्य ।

यो संसार रहिरहनु
तिमी अस्ताउनु
तिम्रा बासी याद आला हुनु
अनि संसार चलिरहनु
यो हाम्रो कस्तो सौभाग्य ।

पत्थर

तप्केको कसैको जिन्दगीबाट
कसैको जिन्दगी भर्रिन सक्छ ।
अनि कसैको जिन्दगी
तप्किएरै रित्तिन पनि सक्छ ।

कोही आउँछ यस्तो मुटु ल्यएर
भएजतिको माया सबै सोरेर लान्छ ।
घोप्टि रहेको अर्को किनारको दिल
उस्को थोपाकै स्पर्शले अघाउन सक्छ ।

समयले नमिलाएको हिसाब
एक मनुवा मिलाउन प्रयत्न गरिरहन्छ ।
तिमी टर्रो चर्को नगरको बासिन्दालाई
ऊ पत्थरको उत्तरमा फूल सुम्पिन सक्छ ।

डाम

कस्तो ठट्टा गर्दै छ ऊ
आउँछ पुलुक्क हेरेर फर्किन्छ ।

के म संग्रालयको वस्तु हो ?
मसानघाटको लास मात्र हो ?

बरु आओस ऊ मायाका
काँडा ल्याएर र बिझाओस् ।

कमसेकम प्रतीक्षाका फल भन्दा
जीवनले यथार्थका डामहरू पाउनेछ ।

आज

आज आइपुग्नु, भोली नआउनु
तिमी आइपुग्नु, डोली नआउनु
सूर्य कति उदाउने हुन् ? मुहार कति फेरिने हुन् ?

यात्रा पूर्ण हुनु, सपना अधुरै रहनु
समयले वसन्त ल्याउनु, सम्बन्ध चर्केरै रहनु
गाडी कति चढिने हुन् ? शिशिर कति खपिने हुन् ?

फूल फूलिरहने, बगैँचा भने सधैभरि रित्तो रहनु
पात्र अनेक भैजाने, मात्र नक्कलको अस्तित्व रहनु
बास्नाले कति डोर्याउने हुन् ? नाटक कति रचिने हुन् ?

आज आइपुग्नु, भोली नआउनु
तिमी आइपुग्नु, डोली नआउनु
आज कति बित्ने हुन् ? साइनो कति छुट्ने हुन् ?

भाथ्यो कि ?

शव्दहरू उस्तै कथाहरू बर्बराइरहन्थे
जीवनको पाना पल्टाउने बेला भाथ्यो कि ?

नयाँ गाउँको नक्सा कोरेकाहरू चल्मलाइरहन्थे
सम्बन्धको खिड्की उघार्ने बेला भाथ्यो कि ?

छिमेकीहरू तिलको भरमा पाहाड ठड्याइरहन्थे
सन्चो विस्नचोको जबाफ मुस्कानले टार्ने बेला भाथ्यो कि ?

सम्झना र सपनाहरू बारम्बार झम्टिरहन्थे
सोचहरू रित्तिन्न दिएर शून्यता अंगाल्ने बेला भाथ्यो कि ?

पाइलाहरू उकालो सम्झेरै कठ्याङ्ग्रि रहन्थे
चढेको उकालो अवलोक्न गर्दै चौतारीमा सुस्ताउने बेला भाथ्यो कि?

अर्थतन्त्र

तिमी मलाई जति माया गर्छौ
म पनि गर्छु कसैलाई त्यति नै ।

तिमीलाई लाग्दो हो
म मायाको अर्थ बुझ्दिनँ ।
त्यसो होइन–अर्थ जरुर बुझ्छु ।
तर अर्थतन्त्र मिलाउन जाँन्दिन ।

यहाँ म लत्पत्तिएको छु यसरी
जसरी तिमी दलदलमा परेकी छौ ।
आशा र यथार्थको मेसो मिलेको छैन
एक हात दानी अर्को चाँहि भिक्षु भएको छ ।

सीमित

यो तक्दिरमा नसम्मिट्टिने सम्बन्धहरू
वाणीहरूमा नअटाउने सोचहरू
कसरी कोच्चिदाहुन् जीवनमा ?

मन बहुलाउने आशाहरू
सज्जन बहकाउने स्याबासीहरू
कहाँबाट उदाउदाहुन् जीवनमा ?

हामी र तिनी छुट्याउने पर्खालहरू
भविष्य जिस्क्याउने चिहानहरू
कति धपाउदाहुन् जीवनमा ?

एक मान्छे

जम्छ, फुट्छ, बग्छ, उड्छ, पुन: जुट्छ
एक हिमाल अनि एक मान्छे ।

हिड्छ, छुट्छ, बिसाउछ, पुग्छ, भेट्टिन्छ
एक बाटो अनि एक मान्छे ।

उम्रन्छ, हुर्किन्छ, फूल्छ, फल्छ, झर्छ
एक बोट अनि एक मान्छे ।

कल्पिन्छ, देख्छ, बुझ्छ, बनाउँछ, बढाउँछ, बिर्सिन्छ
एक दैब अनि एक मान्छे ।

नृत्य २.०

म भन्दा ठुला दु:खले
मलाई कुल्चिन्छन् ।

म पाँजी भित्रका यि वेदना कदापी होइनन्
म भन्दा भयङ्कर केही त छ
म भन्दा बाहिर‍‍–
म भन्दा भित्र–
केही त छ ?
जो मलाई थिचेर–
मलाई मिचेर
जन्मिन्छ र मैलाई गिज्याउँछ ।

म भन्दा भब्य सु:खले
मलाई खुबै उक्साउँछन् पनि
यि म जैरेद्वारा रचित उमङ्ग कदापी होइनन् ।
म भन्दा विशाल
मेरो परिसर भन्दा पर
मेरो चेतना भन्दा गहिरो
केही त छ
जो जाग्छ र मालई उन्मात बनाउँछ ।

म र तिमी भन्दा पर केही फूलहरू त छन्
जस्ले हामीलाई नचाइरहन्छन् भमरा जसरी ।

तिमी र म

घाम तापौला मंसिर पुसको
वर्षात छेकौला साउन भदौको
तिमी र म ।

हाँसौला उकालीका दुई घुम्ती
बाँचौला ओरालीका दुई चुनौती
तिमी र म ।

मायामा कैदी बनौला मुक्त पनि भैजाउला
मायामा बिलाउला अर्थ पनि मायामै भेटाउला
तिमी र म ।

छलौला यि सबै काँडे पर्खालहरू
डुलौला पुर्ख्यौली गाँउ सहरहरू
तिमी र म ।

अनुभवका टुक्का गाँसी दोहोरी खेलौला
आदर्शको खोजीमा यथार्थ पनि झेलौला
तिमी र म ।

टुकी

एक दिन थियो
जब झुल्कियो किरण क्षितिजमा
चकमन्न भयो धरातल
अनि नव उज्यालोमा
जूनको खोज हुन थाल्यो ।

चाहना यस्तै पिङ रहेछ
जस्ले घुमाइरहन्छ एउटै गल्लीमा
हिजो युवा हुन चाहाने बालक
आज बचपनका माला जपिरहन्छ रे ।

स्वर्ग पनि यस्तै भ्रम हो कि कुन्नि ?
जहाँ पुग्ने भरपुर आशा छ
तर पुगेर जहाँ महशुस हुनेछ
घाम त त्यै गल्लीमै पनि झुल्किन्थ्यो हरेक बिहान ।

बुझाइ यस्तै घुम्ति रहेछ
जस्ले फुर्सदमा पुन: बिगतको पाना पल्टाउँछ ।
अभिलाषाको लोकमा लोभ्याउने अनेकन दृश्यहरू पनि
दैनिकीको निरन्तर भोगाईमा कोक्याउन थाल्दाहुन् ।

भिड

लम्पसार सडक छेउको मृत मेचमा
जीवनले चिमोटीरहेको एक मान्छे ।
लामो सुस्केरासँगै टुलुटुलु आँखा डुलाउँदै
मग्न हुन्छ ऊ आफ्नै सोच गगनमा ।

लाग्छ ऊ त आफूकै हैन
दगुर्दै छ अर्काकै दौड।
मालाले सजिन्छ घाँटी
तर यो जीत पनि अर्काकै सापट्टी ।

लाग्छ ऊ त आफूलाई हैन
अर्काकै मालामा कैद छ अर्काकै बगैँचामा ।
प्रफुल्ल मौरीहरू डस्छन् बेला बेला
उत्पादनको निहुँमा ।

लाग्छ ऊ त आफूमै छैन
दौडिन्छ बेस्सरी भिरेर मालाजती सारा ।
निसासिदै फूल्छ ढक्मक्क
मौरी भुलाउने प्रयतनमा ।

लाग्छ ऊ त भिड्को, भिड्का लागि, अनि भिड्मा–एक भेडा ।
लखेट्छ कस्ले, पुग्छ कहाँ पत्तो चाहिँ छैन
तर दौडिए जत्ती पनि
अन्तमा ऊ त भिडको हुलैमा ।

जब

जब निन्द्राले ओच्छ्यान चिन्दैन
म तिमीलाई सम्झन्छु ।

जब भोक्ले भोजन् चिन्दैन
म तिमीलाई सम्झन्छु ।

चारो खोज्न गएको माउँ चरीको समर्पण
जब जालले चिन्दैन
म तिमीलाई सम्झन्छु ।

सिलाई-कटाई

घुम्ती जीवनका सारै थकाउने
मन भने पोल गाड्दै छ–
पिङ अझैँ खेल्ने रे ।

माया मोहले भष्म नै बनाउने
मन भने खोल ओड्दै छ‍–
आफू अझैँ जल्ने रे ।

नुन-सुन-बैगुन सबै ढाँड सेकाउने
मन भने अझैँ गोजी बुन्दै छ–
खोक्रोपना अझैँ बटुल्ने रे ।

अन्याय

तिमी कसैको अङ्गालोमा हुनु यि यादलाई अन्याय भो
तिमी विशाल समुद्र भेटाउनु यो पोखरीलाई अन्याय भो

तिमी कसैको प्राकाश हुनु यो ग्रहणलाई अन्याय भो
तिमी हत्केलाले चन्द्रा छुनु यो काँधलाई अन्याय भो ।

तिम्रो कविता सधैँ बाँचिरहनु यो कलमलाई अन्याय भो
तिमी विगतमा मात्र भेट्टिनु यी कदमलाई अन्याय भो ।

तिम्रो सिउँदो मुस्कुराउनु यो रगतलाई अन्याय भो
तिमी बेहोसीमा मात्र भेटिनु यो वर्तमानलाई अन्याय भो

तिमी आकाश धर्तीमा फूल्नु यि काँडालाई अन्याय भो
तिमी बेर अबेर झुल्किरहनु यो अन्धोलाई अन्याय भो ।

लेख्छु

देखेको के लेख्नु
दृर्श्य हो कि पहिरण मेसो नहुँदा ?

सुनेको के लेख्नु
शब्द हुन् कि भावना मेसो नहुँदा ?

पाएको के लेख्नु
यो जीवन बर्दान हो कि यातना मेसो नुहुँदा ?

बरू लेख्छु नदेखिने, नसुनिने, र नपाइने
लेख्छु काँडाहरू
लेख्छु घाँउहरू
लेख्छु बल्छीहरू र
लेख्छु माछाहरू ।

लेख्छु आफ्नै जोतखनका चोटहरू
लेख्छु समाजका हत्कडीहरू
लेख्छु नबगेका आँशुहरू र
लेख्छु जीवितका चिहानहरू ।

के हो ?

खिस्स हाँस्ने दिल चोर्ने–
भन तिम्रो लक्ष्य के हो ?

दर्जन दिलमा कम्पन ल्याउने
भन तिम्रो सत्य के हो ?

एक तिर दुई सिकार
भन तिम्रो कटाक्ष के हो ?

मन, तन, जीवन धितो राख्दिन्छु
भन तिम्रो परिक्षा के हो ?

झुट्मा डुबाउने कि यथार्थले जोगाउने
भन तिम्रो कर्तब्य के हो ?

सिमाना कति नाघ्ने बन्धन् कति तोड्ने
भन तिम्रो सभ्य असभ्य के हो ?

Dilemma

“जाबो हरफहरू के लेख्छस?” मन गिज्ज्याउँछ ।
शब्दले समेट्न नसक्ने सानदार संसार दर्शाउँछ ।
हो कि क्या हो भनेर कहिले काहीँ म पर्खाल नाँघ्छु ।

देख्छु कलम भन्दा क्यौँ गुणा भव्य महलहरू
देख्छु ताराझैँ चम्किरहेका मान्छेका नयनहरू
देख्छु अक्षरमा नअट्ने अङ्गलाहरू
देख्छु पानामा नउत्रिने मान्छेका कथाहरू ।

संसार देखेर घुँडा टेक्छु र त फर्किन्छु पुन: पानामा ।
कोर्छु भव्य सहरका ससाना कोठाहरू
कोर्छु नपढिने आँखाहरू र नखुल्ने ओठहरू
कोर्छु बुढा रूखले खेपेका हुरी चट्याङहरू
कोर्छु पल‍-पल जीवनका र एकै पलको मृत्यूका कम्पनहरू ।

भन्सुन

बोलीमा नखोलिएका मन्थन आँखाले सुनाउँछन्
गाउँमा नसुनिने कष्ठहरू वन पाखाले सुनाउँछन् ।

गुलाबले दर्शाउन नसक्ने माया धड्कनले चिनाउँछन्
रगतले गाँस्न नसकेको सम्बन्ध अड्चनले चिनाउँछन् ।

पूर्ण जीवनको अपुरो हिसाब त्यागले सम्झाउँछन्
झिना मसिना उमङ्गको मूल्य सन्तापले सम्झाउँछन् ।

समय र स्थानको पर्खाल नाघ्न नदी खोलाले सिकाउँछन्
पर्वत चढ्न पहिरो छल्न निष्कपट हौसलाले सिकाउँछन् ।

भव्य जीवन साधारण दिनचर्या मनस्थितिले जनाउँछन्
एक मान्छे असल कि बेइमान परिस्थितिले जनाउँछन् ।

के खोजिरहेछौ ?

यूद्धलाई शान्ती
अन्यायलाई क्रान्ती
तिमीलाई के चाहिने हो कुन्नी ?

भोकलाई भोजन
गरिबीलाई धन
तिमीलाई के चाहिने हो कुन्नी ?

अपमानलाई सम्मान
लतलाई धुम्रपान
तिमीलाई के चाहिने हो कुन्नी ?

जोगीलाई बैराग
व्यापारीलाई ग्रहाक
तिमीलाई के चाहिने हो कुन्नी ?

सोचलाई भूत भविष्य
ज्ञानलाई एक शिष्य
तिमीलाई के चाहिने हो कुन्नी ?

कसरी ?

काँडाको व्यापार उनैको
बगैँचाको मालिक उनी कसरी ?

घायलहरू रगतले भावना कोर्ने
घातकहरू नै शिर्षक कसरी ?

धमिलो मन छरप्रष्ठ
देखावटी नक्कल आकर्षक कसरी ?

चहाना बादलझै बद्लिने
उनैको झल्को हरथोक कसरी ?

आत्मा बेच्ने पुँजी सोर्ने
पुक्क गोजी सार्थक कसरी ?

बारम्बारको घटनामा अचम्मित हुने
आफ्नै दैनिकीसँग अन्जान कसरी ?

विपरीत

मधुर हावाको चालमा
आएर कोही
हुरी बतास ल्याउन सक्छ्न् ।

मन्द मुस्कान
पोतेर मुहारमा
कहाली लाग्दो बादल भित्र्याउन सक्छन् ।

कोही अक्मक्किदै आएर
जीवनको जग
दृढ बनाउन पनि सक्छन् ।

कोही पाहुना
घरके पेटीमा बिश्राम नगरेरै
जीवन परको प्रित बन्न सक्छन् ।

सायद मान्छे र जीवन
नक्सा जस्ता हुँदा हुन् त
कस्तो सहज हुँदा हुन्
कस्तो फिक्का हुँदा हुन् ।

आवत-जावत

जानेहरू ढोका बन्द गरेर जान्छन्
आउनेहरू दैलोबाटै फर्केर जान्छन् ।

कोही आउनेहरू ढोका ढक्ढक्याउन पनि
यो चरम बेहोसीको मन बिउझाउँन हुन्थ्यो ।

हुन त जानेहरूले बिछोडिन सिकाएर जान्छन्
नआउनेहरूले बन्द कोठाबाट निस्कन सिकाउछन् ।

यि जानेहरू, यि आउनेहरू, अनि यि नआउनेहरू सबैले
म पनि त यहीँ नगरको अस्थायी घुमन्ते हुँ भनेर सम्झाउछन् ।

शून्य

कहिले दु:ख ढिलो आइपुग्छन्
मन दुनियाँका खुशीबाट वाक्क भैसकेको हुन्छ
हल्लाको हर्षमा आत्मियाता सुकिसकेको हुन्छ ।

अनि कहिले सु:ख ढिलो आइपुग्छन्
मन मेसो नपाएर कुम्लो बोकिसकेको हुन्छ
दैलोको घाम छोडेर दील अन्धकार तिरै पल्किरहेको हुन्छ ।

यि बद्मासहरू कहिले चाडो पनि आइपुग्छन्
काँडा केलाइरहेको बेला फूलमाला भिराउन आउँछन्
अनि दिलमा फूल फुलिरहेको बेला कुल्चिन आउँछन् ।

दुख सुखहरू हिसाब नगरेरै लुसुक्क आउछन् सुटुक्क जान्छन्
म समयको गणित गर्दै ठेला टुप्पाका कारोबार मिलाउन खोज्छु
जे जसो गर्दा पनि नाफा घाटाको अन्तमा उत्तर सधैँ शून्य पाउँछु ।

बुढो समाज

बा नयाँ कलम किनिदिन्छन्
अनि पुर्ख्यौली कथा बर्बराउँछन् ।

कलमले पानामा खेतका आली भेटाउँछन ।
खेतले चर्काएका सम्बन्ध र नफलाएक अन्न बाली भेटाउँछन् ।

बा काँधमा राखेर संसार देखाउन मरिहत्ते त गर्छन्
तर बिचरा बा के गरूँन् उनका खुट्टा तान्नेहरू कयौँ छन् ।

कतै पोखिदै त कतै घस्रिदै बाले संसार चिनाएका थिए ।
छोरा लत्रिदै बालाई अलि परको दुनियाँ दर्शाउन खोज्छन् ।

छोरा बाले देख्न नसकेको संसारको केही किस्सा किन्न त तम्सिन्छन्
नयाँ कलमले पुरानै बल्झेका मुद्दा लेख्न बाहेक अरू केहि सक्दैनन् ।

नयाँ कलम र नयाँ पुस्तकले
समाजको भार सधैभ खेपन सक्दैनन् पनि ।

समाज विद्यासँगै चल्मलाएन भने
विद्यवानहरू बोलाई अग्ला भिर गहिरा ताल खोज्न बाध्य हुन्छन् ।

बन्धन्

धुलाम्मे सहरमा
कोलाहोल यादहरूमा
मधुरा सपनामा
तिम्रो चित्र प्रष्ट नाचिरहन्छ ।

सूर्यको उडान डुबानमा
कछुवा खरायोको गतिमा
शिशिर वसन्तमा
मन तिम्रै नाम गुनगुनाउँछ ।

माया तिम्रै सर्वोच्च
चोट पनि तिम्रै उत्कृष्ट
केही आउला अनि रोपला
तिम्रा भन्दा भब्य फूल काँडाहरू
भन्ने सोचैम मन झस्किरहन्छ ।

सिकार

लोभीलाई सिकारीले सोध्छ, “भन तिमीलाई कति चाहिन्छ ?”
स्वार्थलाई त हिरा मोति सम्पत्ति अथाहा चाहिन्छ ।

अनि भन तिमीलाई मिहिनेत कि प्राप्तिको मार्ग चाहिन्छ ?
आलस्यातालाई त जादु चल्ने कर्तब्य नहुने स्वर्ग चाहिन्छ ।

के तिमीलाई अंश, प्रशंसा, शान, बर्दान सब चाहिन्छ ?
मनलाई त राज, राज्य, सौख, शक्ति हरदिन चाहिन्छ ।

दौडधुपको हस्याङफस्याङमा के आफ्नो पहिचान चाहिन्छ ?
तिमी भित्रको समाज चिन्न प्रसस्त खोज अनुसन्धान चाहिन्छ ।

जीवनको रोग अनि ओखती पनि त्यतै पाइन्छ ।
खोजे बुझे लक्ष्मी सरस्वती पुग्ने जति पाइन्छ ।

अंकमाल

जुन ताराको अवतार भए भन्दैमा
झमक्क रातको चेतनामा
ऐना हेर्न आउने तिमी ?

आऊ बरु झिस्मिसे सबेरै
उघाँर मेरा बेहोसीका ढकनीहरू
चिमोट बरु यि एक्ला ओठहरू ।

कोशौ परको सक्लो जूनको सपना भन्दा
सूर्यको एक पित्का किरण जसरी
आऊ कुना काप्चा छिचोलेर अंकमाल गर्न ।

ओभानो

लाखौँ थोपाहरूको समुन्द्र हुँ म
यस्तो विशाल सागरको कुन अंश
कुन बेला छचल्किन्छ र तुफान आउँछ
मलाई पुर्णत: अन्दाज हुँदैन ।

यि थोपाहरूको गोरेटो अनि गन्तब्य पनि बेग्लै छन्
कुनै आँशुले भिजेका छन् निथ्रुक्क
त कुनै प्रतिक्षाको रापमा सगरको बाटो लागिसके
यसरी मेरो पहिचान म बाहिर पनि रुमल्लिरहेको हुन्छ ।

सूर्यका कानेकुसीका दुई थोपा लग
या त मेरा सतहका दुई बाल्टी
तिमी मलाई उत्तिनै बुझ्ने छौ
यो विराट समुन्द्रको तिम्रो तस्बिर मधुरै रहनेछ ।

आफ्नै परिचयको ढाँचा खोज्न
मैले छोडेको हुँ हिमाल, पहाड, बगर, र नदीहरू
र खन्निएको हुँ आँफै भित्र र लम्केको हुँ आकाश तिर
आफैसँगको परिचय म गहिराई र उचाई अनुरुप भिन्नै पाउँछु ।

अनि तिमी आउछौ र खोज्छौ जीवनले नछोएको मान्छे ?
बरु एक झल्को दृश्य लेउ अनि फर्कि हाल आएकै बाटो
यो भयकंर गहिरो समुन्द्र हो साथी
खूंखार पौडेवाजहरू पनि यहाँ डुबानमा परेका छन् ।

तिम्रो मेरो कहानी

कसरी सोचुँ मेरा दु:ख तिम्रा भन्दा भब्य छन् भनी ?
छानो मूनि एउटै आकाशको
तिम्रा बाटामा पनि ठेस त पक्कै लाग्दो हो ।

तिम्रा परिश्रमका बाली मास्ने
असिने पानी बर्षिदो पक्कै हो ।
आफ्नै आँशुबाट ओत् तिमी पनि खोज्दा हौ ।

एउटै जमिन र गगन बिच थिचिएका
तिमी र म
कति पो फरक हुन सक्छौ र नाप तौलमा ?

चोटपटक

दिलमा अर्काकै एक चोट छ
जिन्दगीको कहानी बुनिरहन्छ
सायद केही टुक्राहरू जोडेर, प्वालहरू थुनेर
सबै मान्छे र घटनाहरूको अर्थ लगाउनु छ उस्लाई ।

पुरानो धुलाम्मे यस्तो चोट छ
कोट्ट्याइरहन्छ विगत र भविष्य
डुबाउँछु अरूलाई भन्छ तर
आफैले खनेको खाल्डोमा आफै पसिरहन्छ ।

नबोलिएको नसुनिएको यस्तो चोट छ
दिन रात कानेकुसी गरिरहन्छ
फूलमा काँडा भेट्छ जुनमा खोट खोज्छ
पर्वहरू पनि सबै षड्यन्त्र ठानेर तर्सिरहन्छ ।

यो कस्तो चोट–
सफा पोखरीलाई हिलाम्मे बनाउँछ ।
बर्खा मासमा आँखा गुमाएको गोरुलेझै
सबै वस्तुको वास्तविक एउटै भन्ठान्छ ।

उस्ता‍-उस्तै

हुरी चल्छ अनि पात झार्छ
जरा-जमिनको परिक्षा लिएर जान्छ ।

धर्ती नजिकैको एकै हाँगामा दुई फल पलाउछन्
एक कुहिएर सक्किन्छ तर अर्को पुर्णत: फस्टाउँछ ।

आएर आफ्नो गुड छाडी एक पञ्छी फलहरू ठुंग्छ
छिप्पिदै गरेको बालीको खबर साथीलाई सुनाउँछ ।

बादलको केही तला मुनि एक हाँगा यस्तो पनि छ
जहाँ अर्को चरी घरजाम गरेर निर्धक्क बसेको छ ।

डाँडाको यो रुख दिनै रात बारै मास सारै एक्लै हुन्छ
तर जल जमिन पवन सूर्य सबैसित ऊ दिनहुँ भेट्टिन्छ ।

डाँक्टर

तिमी अर्कै रोगको चिकित्सक
मेरो बिमारको उपचार
तिमीलाई थाहा छैन ।

बिगतको मुसलधारे बर्षामा भिजेको यात्रीले
भविष्यको पहिरोको पनि अन्दाज गर्दछ
उस्लाई तिम्रो धुमधामको कुनै डाहा छैन ।

तिमी आउँछौ र नाप्छौ
मेरा नशा, सोच, र हैसियत् तर किन ?
यो भिरको जग्गाको नापको केही मूल्य नै छैन ।

तिमी पुज्छौ को, ढोग्छै कस्लाई, अनि माग्छौ के ?
यि महल, मन्दिर, र घाटहरू सबै तिम्रै त हुन्
यस्तो परम सत्य छल्ने यहाँ केहि उपाय छैन ।

बाकस

समय जुरेको बेला बा बाकस उघार्थे
जीवनका शब्द झिक्थे र सम्झाउथे,
“तिमी हिमालसँग हाँस्नु,
खोला नदीसँग मितेरी गाँस्नु,
तिमी डुल्नु भिर पाखा पखेरी
हराउनु संसारै भरि
अनि टुप्लुक्क आइपुग्नु आफ्नै घरको छानो मुनि
र सुनाउनु तिम्रो जीवन हाँसे-दुखेका कहानीहरू ।”

बालाई संसार त जरुर मन पर्थ्यो
सायद मसँग गाँसिएको संसार झनै मन पर्थ्यो ।
उनी बेला बखत सोध्दथे,
“नयाँ सहरको बानी परिसक्यो कि छैन ?
अनि खानपिन, उठ्बस, साथी संग्त ?
अनि पढाई, आम्दानी, घरबार ?
अनि ? अनि ? …”

उनी यस्तै झिना मसिना प्रश्नको आडमा
तन्किदै मेरो दुनियाँ चियाँउथे र मख्ख पर्थे ।
कहिले काहीँ लाग्थ्यो मलाई बाले छोरालाई बुझ्नै खोज्दैनन् ।
त्यसपछि म बा भए र आफू छोरा हुने गरेको बिर्सिदै गए ।
बाले बिर्सिए जसरी ।

उनी जस्तै म पनि कहिले काहीँ मेरो बाकस उघार्छु र
मेरी छोरीलाई सुनाउँछु,
“तिमी फूलहरूसँग जिस्किनु,
तिम्रो सूर्य ओइलाउदा ताराहरूको बुइ चढ्नु,
विगत भविष्यले चिमोट्दा खोलाहरूसँग बाटो सोध्नु ।”

“तिमी जीवनबाट ओभानो नरहनु ।
तिमी बुझ्नु समाज, परिस्थिती र मान्छेहरू ।
जब तिमी भिज्नेछौ निथ्रुक्क संसारबाट
तब उहीँ पुरानो टोलको ढोका ढक्ढक्याउनु
अनि अगेनो छेवैमा बसेर तिम्रो जीवन सुस्ताउनु ।”

बाजेका पालामा

सबेरै बुढा बाको रेडियोमा संसार ब्युझन्थ्यो ।
त्यतिबेला सम्म कान्लाका एक बिटो घाँस दाउरा
आमा घरको आँगनसम्म ल्याइसकेकी हुन्थिन् ।
बा दिउँसभरि बारीका बाँझा आलीहरू झम्टिरहन्थे ।
दिन्चर्याको व्यस्तताको बावजुद चुलोमा माटो सुहाउदो
मिठो मसिनो दुई छाक भोजन पाक्थे ।

हाम्रो गाँउको पूर्वपट्टी
अर्को सानो गाउँ थियो ।
दुबै गाउँमा सँगसँगै
सयपत्री फूल्थे र घर लिपिन्थे ।
चाडबाडका बेला एक गाउँका मान्छेहरू
अर्को गाउँसम्म किनबेच गर्न डुली हिड्थे ।

अलि टाढाको अर्को गाँउमा
चौवर्षे मेला लाग्थ्यो ।
हाम्रा गाउँका ठिटाहरू
चिटिक्क परेर मेला धाउथे, दोहोरी खेल्थे ।
कुन्नी कुन गाउँकी कन्याहरूलाई
मोहनी लाउथे र गाउँमा भित्र्याउथे ।

सुसेल्दै गाउँबेसीका भाकाहरू
त्यहिँ तल खोला बगिरहन्थ्यो ।
कहिले हुत्तिदै त कहिले सुस्तिदै
बतास डाँडाका रूखहरू जिस्काइरहन्थ्यो ।
झिस्मिसे साँझको चिसो जाडो खेपन
जुनकिरीहरू मैनाहरूलाई बाँसघारीको बाटो देखाइरहन्थे ।

झरीको ओत

कोही आउछ
टुसुक्क बस्छ
काँपी रहेको दिललाई
कम्मल ओढाउँछ ।

धर्तीमा ताराको रुप लिन्छ
हरेक अध्याँरोमा दियो बाल्छ
रोइरहेको आकाशलाई
ख्याल ठट्टामै हसाउँछ ।

साथमा कम्पनहरू पनि ल्याउछ
कुनै पल अन्यौलता झन् बढाउछ
निथ्रुक्क भिजेको ज्यानलाई
जेहोस् चुहिने छानोको सुबिधा दिन्छ ।

कहिले बिगतका धुन सुसेल्छ
भोलीका सपना पनि उमार्छ
एकान्तमा विलिन समुन्द्रलाई
हिमालको बाटो डोऱ्याउछ ।

कोहि आएर गाँसिन्छ
दैनिकीको हिस्सा बन्छ
ध्यान नै नगरेको आफ्नो पहिचानलाई
छर्लङ्ग दर्शाइदिने ऐना बन्न पुग्छ ।

अनुवाद

लुकामारी खेल्छन् जहाँ ताराहरू
जहाँ इन्दु सृङ्गारिएर ऐना हेर्छिन्
जस्लाई चुम्न नस्केर हिमाल बाँफिन्छन्
मेरो घरको छानो त्यहीँ हो ।

भित्तैभरि उनकै हतेलीहरू जहाँ लुकेका छन्
जहाँ चुलोमा उनी माया पकाउँछिन्
जस्ले एक घरको आत्मा हुर्काउछिन्
मेरो बास उनैको काखमा हुन्छ ।

पुष्पहरू सिंहासन खोज्दै जहाँ शिर चढ्छन्
जहाँ ईन्द्रेणीले ओठमा लाली चक्षुमा गाँजला भर्छ
जस्ले नदीलाई संयमताको पाठ पढाएर पठाएकिछिन्
मेरा कविताहरू उनैका मौनताका अपुरा अनुवाद हुन् ।

संसारिक स्वार्थका पोलहरू जहाँ गाडिएका छैनन्
जहाँ उनी उनी हुन उहाँको मञ्जुरीको खाँचो पर्दैन
जस्ले आफ्नो शक्ति प्रदशनका खातिर वन जलाउदिनन्
म नास्तिकका देवी देउता उनैका अस्तित्वहरू हुन् ।

यो कविताका लेखक

यो कविता
तिम्रो समाजको सुन्दर‍ताको
आयामले नसमेटेको मुहारले
वाचन गरेको हो ।

आत्मा बिर्सेका सपनाका
धारिला सिसाहरूमा टेक्दै
चुचुरोतिर लम्केका रक्ताम्मे पाउँहरूले
यि हरफहरू कोरेका हुन् ।

समाजको खोलबाट उम्केर
दैवको ढोका खोल्नु पहिले नै
जीवन दर्शन भेटेका दैनिकीहरूले
यो स्वतन्त्रको सास लिएका हुन् ।

तिम्रा क्रान्तिका बम बारुद पड्काउन
गाँउघरका बारीहरू बाँझै रहनु पर्दा
एक बालकको भोको पेटको द्वन्दले
यो देशको भविष्यवाणी गरेका हुन् ।

सिर्सिरे बतासले बोकेका चाराका लयहरूमा
भेट्टिने उनका हाँसोका पंक्तिहरूको
समझनाको लहराले तानेका छहराहरूद्वारा
यो कविता लेखिएको हो ।

दोष

कट्ठै तिम्रो जीवन
बिझाउन पुगेछ फेरि कोही–
तर दोष सबै उसैलाई नभिराऊ
ऊ पनि त अरु कसैले रोपेको काँडा हो ।

जब बेहोसीबाट बिउँझिन
फूलबारी छाडेर घाँटतर्फ दौडिनु पर्छ–
आँशुको डुबानमा सदाका लागि सूर्य ननिभाऊ
आखिर बादल पनि यो विशाल आकाशको साथी नै हो ।

अनि सबै सोचले शब्द र स्वर नभेटाउँदा
अक्मक्किदै बरालिनु पर्छ सम्झनका गल्लीहरू जब–
तब पनि सोचै सोचको सगरमाथा नठड्याऊ
संयम हुन छाडेको हिमाल एक हिमपहिरो न हो ।

सौन्दर्यको नापको गुणस्तरमा
काँडाको अंक कम नै हुन्छ–
तर पनि निर्धक्क फुल्नका निमित्त शिखरमा
फूलले टेक्नै पर्ने खुड्किलो काँडा पो हो ।

घमण्ड

तिम्रो विराट सगरको
घमण्ड तोड्न
जुन त्यहीँ सानो पोखरीमा
पनि त झुल्किन्छ ।

तिमी सुगन्धको आश्वासनमा
फूलहरूको हिसाब गरिरहदा
बिँउ कतै धर्ती मुनि
कोहिएरै जीवन जितिदिन्छ ।

दौडेर मुटु नै फुट्ने गरी
जब तिमी बिसाउन पुग्छौ एक चौतारी
अर्कै गाँउको पिपलको छाँयाले
तिम्रो आफ्नो बिरानोको दायारा मिचिदिन्छ ।

भुर्र-भुर्र

चरी त उड्यो है गुडै छोडेर
हाँस्-खेल् गर्ने दौतरी बिर्सेर ।
सातै है सागर तरेर गैगयो
माया गर्ने मुटु पत्थरै भैगयो ।

उधो है बगेको खोला
उभो फर्कन्न भन्छन् ।
भाँचिएको है मनले
ओखती टेर्दैन भन्छन् ।

दिन है हिँड्यो रातमा ढलेेेर
कर्तव्यको भारि बिसाउन भनेर ।
पात है हाँगाहरू भुलेर गैगयो
न्यनो साथ चिसो खडेरी भैगयो ।

यादको है दाम्लो
बलियो हुन्छ भन्छन् ।
सम्झनाले है बारबार
फर्काएरै छाड्छ भन्छन् ।

क्रान्ति

टम्म अघाएको पेटलाई पो
अन्तरिक्ष उक्लनु छ
भोक्ले कोक्याइरहेको पेट त
खोज्दछ माटो मुनिका कन्दमुल
र भेटाउछ कुपोषणले घुँडा टेकाको
आफ्नै छोराका करङहरू ।

गल्ली-गल्लीका लामखुट्टेले टोकेकाहरू पो
बिमारको जाँच गर्न अस्पताल धाउँनु पर्छ ।
आफ्नै बारीको एक काँडाले घोचिएकाहरू त
कुटो कोदालो बोकेर खनिरहन्छन्
आफ्नै छाति र
उखेल्न तम्सिरहन्छन् पुस्तौ देखि गाँडिएको खम्बा ।

सफलताको राजगद्दीमा गदगद परेकाहरू पो
धाउँछन् विगतका धरोहरहरू र लेख्छन् आत्माकथा
अन्धो समाजले मलम लाउन भुलेकाहरू त
ताली पड्काइरहेछन् एक फटाहा नेताका झुटा बयानमा
र भुल्न खोजिरहेछन् जाँडोले
कापी रहेको आफ्नै अस्तित्व ।

सोचाइमा पट्टी लगाएकाहरू पो
घन्काइरहेछन् भविष्यका बिगुल
हिजो देखि आज सम्म छर्लङ्ग देखाकाहरू त
बेहोरिरहेछन् डुङ्डुङ्ती गनाउने आदर्शहरू
र टिपी रहेछन् यिनै आदर्शका नारा पोतिएका
बाटोमा झिङ्गा सरि फन्फनाइरहेका पोस्टरहरू ।

घट्ट

त्यहीँ पानी घट्टमा
पसिनाका दुई माना
अन्न पिँधेर
उनको जीवन निर्वाह हुन्छ ।

सहरका सान्दार महलको
एक सानो पेन्टहाउसमा
बिगत र भविष्य बाँझिदा
उस्को जीवन चस्किरहन्छ ।

अरू कसैको डोको तौलेर
आफ्नो भारको तुलना
गर्न पनि त नसकिने आखिरिमा–
हामी सबै वेग्लै भारवाहक भरियाहरू ।

अनि एउटा यस्तो हिमाल ठडिन्छ
डुली हिँड्छ जीवनका घुम्तीहरू
खनिन्छ आफै माथि र भिजाउँछ सबैलाई
समस्त जगतको एक नाङ्गो तस्बिर प्रस्ट्याउन ।

चिठ्ठी

हरेक झरनाले साँगर भेटाउदैनन्
अनि सारा थोपाहरू बादल बन्दैनन्
चिठ्ठीका आठ-दश वाक्यमा
म पोखिएको हुँ
तिमी भिज्नु पर्छ भन्ने पनि जरुरी छैन ।

आस्थाको मधुरो दियोले दैब जन्माइदिन्छ
भोलीको प्रतिक्षाले आज बिर्साइदिन्छ
तिम्रो मुस्कानको भाव तन्काएर
मैले प्रेम सेवन गरेको हुँ
एकोहोरो मायाको बाटो त भ्रमले नै खनिदिन्छ ।

बुद्धीले नापेर प्रेम गरूँ भने
सुरुमा भग्वानलाई खेद्नु पर्छ
अनि तम्तयार हुनु पर्छ
मायाका चोटिला डामहरू सहन र
जलपरी जस्तीलाई किचकन्या भन्न ।

बरु ठिकै छ यसरी नै
चिठ्ठी लेख्छु शब्दकोश रित्त्याएर
आशाका किरणले ज्योती बाल्छु
चकमन्न रातको यि नक्षत्रमा
तिम्रा मुहारका बुट्टाहरू भरी बस्छु ।

गुराँस - राष्ट्रिय फूल

जब ऊ सानै थिई
उस्लाई सिन्दुर पोते
खुबै मन पर्ने ।

अल्मारीका आमाका
सृङ्गार समाग्रीहरू
हात परेरै छाड्थी ।

सजिएर बाल्यकालको रहरमा ऊ सोध्द्थी,
“आमालाई भन्दा धेरै
रातो त मैलाई सुहाउने है, बाबा?”

झिस्केर बाले उस्लाई उत्तर दिन्थे,
“रातो साडी किनिदिउला एउटा
कोही लक्का जवान खोजिदिउला
उस्ले एक बट्टा रातै सिन्दुर दिनेछ
अनि मेरो छोरी त जीवनै भरिलाई रातो खुर्सानी ।”

बा‍,आमा, र म गलल हाँस्थ्यौँ ।

ऊ सुरुसुरुमा त लजाउँथी
तर चेतनाको रापले पोतिदै जाँदा
बाका यस्ता तर्कका खण्डन् गर्थी, ”
मेरो अस्तित्व रङ्गाउने
साँचो अर्काको हातमा म किन दिऊँ ?
म त आफ्नै जराहरूमा
गुराँसको बोटझै उभिन्छु र
फूल्छु ढकमक्क र
दिनमा प्रित गाँस्छु सूर्यसित र
रातमा मुहार साट्छु जुनसित ।”

बा चुपचाप उस्का तर्क सुन्थे
र आफ्नो हार स्विकार्थे तर
उनी झिस्क्याउन कहिल्यै छाड्दैन्थे ।

मेरी बहिनी–
गुराँसको फेद मुनि–
गराँस फूलका पत्रहरूझैँ
छरिएका रातो दुप्ट्टा र सुरुवालसँगै
लखतरान, रक्ताम्मे अवस्थामा
भेटिएको प्रहरीले खबर पठाउँछ
अल्मारीका सृङ्गारहरुलाई र
बा-आमाले खोजिदिने दुलाहालाई ।

वाह

केही छैन यहाँ मेरो
जो देखेर तिमीले वाह भन्नु परोस् ।

मेरा पाउँले चुम्ने धर्ती
नयन पग्लाउने झकमक्क आकाश
तिम्रा पनि समपत्ति हुन् ।

यो महल‍‍–
अर्काको पसिनाले पनि बनेको हो ।
यो आफ्नै कोठामा बसेर म कल्पेर अर्कैलाई
एउटा कविता लेखिदिन्छु ।
मेरो स्वामित्व केसैमा छैन ।

हिजो झिस्मिसे साँझमा टोलाएर हिड्दै गर्दा
अनजानसँग नयनहरू जुँधे मुटुका दुई घडी
उनले मलाई यस्तो मिठो मुस्कान पस्किन कि
मेरो कलौटे चोलाको ग्रहण हटेको छ आजभोली ।

भो यो पनि डाहा नगर तिमी
म हिड्दै छु कयौँ झिस्मिसे गल्लीहरू
यात्रामा अल्झिरहेको निन्याउरो बटुवा भेट्छु छिटै
र यो पोतिएको हाँसो उसैलाई थमाइदिन्छु ।

गणित

नजरमा परेका कयौ दृश्य अबुझ नै रहिरहे
कति दृश्य त नजरमा नठोक्किएरै पाठ पढाँए ।

कान भेटेका केही ध्वनीहरू चिच्यारै पनि मौन बसे
कुनै सुस्केराहरूले रातको चिरनिन्द्राबाट बिउँझाउन भ्याए ।

हिमाल जस्तै कञ्चन सुन्दरीको दुई नजर मानसपटलमै पग्लिए
छिमेक-टोलकै कान्छीको बिहेको हल्लाले पो पटक-पटक तर्साए ।

कसैको ऋणको भार थेग्न नयाँ गोजीहरू तुनिए, भरिए, र रित्तिए
आफ्नै पसिनाको खुशी टिपरे सिउरन नसक्ने गरी साहुले भार बोकाए ।

दिनै पिच्छेको अस्तित्वले हिलोमा डोबे अनि पानीमा पखाले
कोशौ परको मृत्युले धुलो र थोपाको हिसाब किताब मिलाए ।

हाइकु– एक बथान

१.
लुगा धोइने र सुकाइने
खोला किनारको ढुंगा
एक जीवन ।

२. चिटिक्क मिल्ने एक आकार
जीवनका ठेला-टुप्पा
कठै बरा पाइथागोरस ।

३. महंगा अन्न हाटबजार भरी
भोको पेट रित्तो गोजी
जवानी–झुसिल किरा ।

४. दुर-दुर परबाट स्वर्गको निमण्त्रना
छाति भित्र प्रियसी
आँशु–हवाई जहाज ।

खै कविता ?

पानीका थोपाहरू कठ्याङ्ग्रिएर
पत्थर हुँदै थिए मन जस्तै
फूलहरू आफ्नो धर्म बिर्सेर
काँडा जसरी घोच्न थालेका थिए ।

कलम आफ्नो मुटुको मुठ्ठी कसेर
कविको बिरोधमा तयनाथ थियो
शब्दहरू दिमागका कुना काप्चा उम्केर
गाँसिदै थिए समस्त जगतको शून्यातामा ।

आज कमिला, मौरी, र चराहरू
कहाँ बाँस बस्छन् केही पत्तो थिएन
भुकम्पै भुकम्पमा हुर्केको उस्को मुटु
आज काँप्दै थियो पग्लिदै गरेको हिमसागर जसरी ।

आकाशबाट तप्किरहेका हिम्कणहरूले
धर्तीमा कोरेको एक नरम गजल जस्तो
उस्का आँखाबाट बर्सेका हरफहरू पनि
पल-पलमै बिलाउँदै थिए याद भुमरीमा ।

बेला आएको छ

सम्झना छन् प्रशस्तै
सम्झना जस्तै–
भिमलको रुख मुनि डन्डीबियो खेलेको
अग्लिरहेका बाँसका भित्ताहरूमा
हाम्रो ठुटो सम्बन्धको नासो कोरेको ।

सम्झना छन् नि यस्ता पनि–
जहाँ गोठालो गएका दाइ घर फर्केनन्
त्यहीँ तल खोल्सोमा बिधुवा भाउजुले
मार्मिक भाका गुन्गुनाएर घाँस काटेको ।

सपना पनि छन् प्रशस्तै
जस्तै–
अर्कै सहरका भब्य महलको बाल्कोनीमा उभिएर
वाइनको एक-दुई सुर्काले
डुब्दै गरेको सूर्यलाई नियाली बस्ने ।

अनि यस्ता आकांक्षा पनि छन्
बिगतकै मुठ्ठीमा निसासिएका सम्बन्धलाई
उद्दार गरेर पुन: साइनो गाँस्ने उनीहरूसँग
र उनीहरूसँग आफ्नो पुरानो पहिचान फिर्ता माग्ने ।

“ए बहुलठ्ठे, ब्यूँजे छिटो,” ऊ भन्छ ।
“मर्ने बेला भयो, ब्यूँजे छिटो ।”
सम्झना र सपनाका झोला टक्राउछु उस्लाई ।
हिर्काउछ लठ्ठीले र खोस्छ केबाल वर्तामान ।

टिमुर

टिमुरका बोटै भरि
काँडा नै काँडाका बुट्टाहरू
तिनै बुट्टाहरूको बार छल्दै
टिमुरका दानाहरू टिपिरहेकी आमा ।

सोच्छु‍–
टिमुरले सबै काँडाहरू
आत्मरक्षाको लागि रोपेको हो
आमाको जिउँ भरिका काँडाहरू त
अरु कसैले बिँझाएका हुन् ।

आफैले रोपेका काँडाको
सुरक्षामा फक्रेका टिमुरे दानाहरू
अनि अर्कैले रोपेका काँडाको
चोटहरूमा जन्मेका आँँशुका दानाहरू ।

ए, व्यापारीहरू–
आऊ उन्का दानाहरू बटुल
र बेच बजार बजारमा ।

फेरबदल

कुनै एक समय
गर्वसाथ ठडिएका
मुर्तिहरू पनि
ढल्छन् तृष्णाले ।

समयको वेगसँगै
सत्यका इन्द्रेणीहरू
छुट्टाछुट्टै रंगहरू ओढ्छन्
र कानुन मौसमी झार भैजान्छ ।

शरदमा फूलझैँ
फूलेका दुई मुटु
ओइलाउँछन् शिशिरमा
डाँडाको एक्लो पिपल जसरी ।

अन्तरात्माको जाडो खप्न
बाहिरी काठ दाउराहरू बाल्दा
भित्र भित्रै धुवाँको वर्षातले
खेदीहाल्छ बरफको अंगालोमा ।

हतेलीहरू

चोयाका त्यान्द्राहरू
मिलाएर डोको बुन्ने
ति बाजेका औलाहरू
देवकोटाका औला जस्तै
सिर्जनशील लाग्छन् ।

पिठ्यूमा एक पुलो खर
गाई गोठ तिर डोऱ्याइरहेकी
ति आमैका पैतलाहरू पनि
पासाङ ल्हामुका पैतलाझैँ गगन चुम्बी लाग्छन् ।

समाजले आहा र स्याबास
भन्न भुलेका, नसक्ने, या नचहाने
दिनहुँका सुस्केरहारू
सम्पूर्ण किर्तिमाणहरू जत्तिकै
भब्य र सहासी लाग्छन् ।

एक

घर छोडेको रूखको हाँगामा टेकेर पनि
काँप्दै, चुलिदै उतिर्ण हुन सक्ने
एक बोट ।

मुहारका भब्य गुलाबहरू ओइलाउदा समेत
यथार्थको फूलबारीमा फक्रिरहने कालझैँ
एक सम्बन्ध ।

चिनजानका नजरहरूले घुम्टो ओडी मुन्टो मोड्दा
सत्यको तपस्याबाट ब्यूँझेर ओर्लने
एक आँशु ।

यात्राको उकालोमा पसिनाका असिनाले चिमोट्दा
स्मृतीका हिलो बटुल्न बिसाइने
एक झुपडी ।

कसैले उपहार दिएको स्विटरमा ठ्याक्क नअटाउने
आफ्नै छालामा सियो घोचेर बुनेको
एक जिन्दगी ।

दन्किरहेको धर्ती

पर्खाइको सन्नटामा कतै बहिरो हुँदै जाँदा तिमी
हर्षको जुलुस ल्याएर ऊ आएन भने
फर्खेर हिजो जान सक्ने छैनौ तिमी
जो पर्खेर भोली तिमीले मासी सक्यौ ।

आफ्नै चड्कनमा चिसिएका गालाहरूका निमित्त
व्यवस्थाले स्याबासीका ताली पड्काएन भने
चाउरिएका छालामा बुट्टा भर्न सक्नै छैनौ तिमी
जो सजिएका छन् आदर्शका खरानीमा ।

स्वाभिमानको स्वार्थमा बम बनाउदै हिँड्दा तिमी
शान्तिका परेवाहरू गुँड् छाँडी हिँडे भने
सफलताको ईन्द्रणी झुल्किने छैनन् देशमा
जो चिसिएर ढुङ्गा भैसकेको छ तिम्रो भ्रमसँगै ।

शिखर छुने उद्धेश्यमा तिमी भुईमा तातिदा
हिमाल घुँडा टेकेर लोप भयो भने
चुपचाप सुस्ताउने छैनन् तिम्रा पाउँहरू
जो टेकिरहेका छन् दन्किरहेको धर्ती ।

तिमीले पुर्खाको विरताको गित गाइरहदा
आफ्नै सन्तानको आन्दोलन चर्को भयो भने
भाँसिने छ तिम्रा पसिनाले उभ्याएको पुल
जो खोजिरहेछ दर्शाउन एक कारागारको बाटो ।

टाँपु

समुन्द्रको कसिलो अङ्गालोमा
बाँधिएर टुलुटुलु हेरिरहेछ
आफ्नै इतिहाश र भविष्य–
एक टाँपु ।

पानीका तिर्मिरे धर्शामा कोरिएका सिमानामा
पर्खाल ठड्याएका मान्छेहरू
युद्धै युद्धमा होमिन्छन्–
त्यहीँ समुन्द्रमा डुबुल्की मार्दै आउने माछासँग ।

समुन्द्राका थोपाहरूमा रगतका राता टाटाहरू पर्दा
पर्खाल वारी-पारीका मान्छेहरू विरताको गित गाउदै
शहिद हुन तमतयार थिए इतिहासको खाल्टोमा ।

टापूँको एक बच्चा पढ्दा एक बुढो इतिहाश
तरवारमा नाचेका आफ्ना पुर्खाहरूको हातहरू
बर्शाउँछ आफ्नो पुर्पुरोमा र पुकार्छ बुद्धलाई ।

पानी जहाँज चढेर शत्रुलेझैँ उहिलेको पालामा
ऊ लुसुक्क पस्छ यसै टाँपुकी एक कन्याको छातीमा
र गाँड्छ प्रेमका स्वर्थी र चोटिला किल्लाहरू ।

जमिनमा रगतले पहिचान कोर्ने ति सिपाही
अर्काको दिल कब्जा गर्ने तन्नेरी लाउरेहरू–
कर्म त्यहीँ बिचार र दृष्टीकोण फरक ।

हुनु-नहुनु

केही नहुनु पनि केही हुनु हो
केही नगर्नु पनि केही गर्नु हो
केही नहुँदा नहुँदै पनि
सुस्त-सुस्त तिमी कोही भईजाउला ।

तिम्रो सपनाको भारी बोक्ने
हवाई जहाज नभेटिदा
तिमीले एयरपोर्टको बाटो बिर्सनु पर्दा
तिम्रो गाईगोठ नै तिम्रो गन्तब्य होईजाला ।

चुलोको धुवाँले ग्रस्त
खरानी जस्तै देखिने मुहार पुछिरहेका तिम्रा
हत्केलाका भाग्यरेखा मासिदै जाँदा हर दिन
तिम्रो भागको अभागी रात पनि ढलीजाला ।

थाली

तिमीलाई रुच्ने थालीमा
पस्केको स्वादिलो भोजन जसरी
तिम्रा सबै चाहनाहरू नपस्किदा
जीन्दगीको कुन् पेट भोको रहने हो कुन्नी ?

आस्थामा ढुंगाहरू जो पुजिन्छन्
उस्तै तिम्रा दुरदुरका आदर्शहरू
तिमीलाई झम्टिन आउँदा
यथार्थको स्वामित्व कुन दैबले पाउने हो कुन्नी ?

शव्दहरूको फूलबारीमा
नअट्ने अस्तित्वका काँडाहरूले
तिमीलाई कोतर्दा पटक‍-पटक
कुन अत्तरको बेहोसीमा चोट भोलाउने हो कुन्नी ?

एक बाँकी किरा

एक किरा किला ठोकिरहेछ
झुन्ड्याउँछु भन्दैछ आफ्नो एक तस्बिर
एक निरङ्कुश नेताझै गर्जिन्छ–
“म तिमीले पल्काएको एक पाहुना न हुँ ।”

देब्रे छातीको भित्तामा एक पुतली नाचिरहनथी
पंखा निखार्छु भन्थी आकाश छुनलाई
एक बालकका हाँत पाऊले धर्तीलाई जसरी
आकाशलाई अढेश लगाउँदै ऊ उडेर गैगइ ।

मेरै शरीर र सोचको सङ्ग्राहल्यबाट
विलिन भए कयौँ चिनो र यादहरू
धमिलो दृश्यले देख्छु स-सना प्वालहरूबाट
लुसुक्क पसिरहेका फौजहरू
मैले थालेको युद्धको अन्त्य गर्न तम्सेको आजभोली ।

देख्छु तिनै स-सना प्वालहरूबाट
स्वतन्त्रको नारा चिर्बिराउँदै
फुत्तफुत्त निस्किरहेका
रगतमा नुहाइएका परेवाहरू ।

कुनाको दाँत कोट्याएरै जीवन काटेको एक किरा छ
जो निर्धक्क छाती ठोक्दै मलाई फुर्ती लाउँछ–
“हेर कान्छा, जिउन कति सजिलो ।”
म गिँजा दुखाएरै खिस्स हाँसिदिन्छु ।

बर्बादी

म पढे-लेखेको लक्का जवान
तिम्रो निधारमै प्रष्ट लेखिएको
मेरो नाम चिन्दिन होला त ?

चियाँको कपबाट बाँफहरू उडेजस्तै
बैसको तरङ्गहरू उड्दा ज्यानबाट
तिमीसँग यथार्थको चियाँ पिँउदिन होला त ?

तिमीलाई मन पर्ने अर्को झिल्के
अरु कसैको मायामा विलिप्त भएको
सुचना सरासर गलत होला त ?

कवि ज्यूका हरफहरूका माला भिर्दै
मानौली ऊ सुर्य अनि आफू सुर्यमुखी फूल
ऊ तिम्रो सारा अस्तित्व सुम्सुम्याउने बर्षात होला त ?

बेँसीका पैतलाहरू सगरमाथा पुगेकाछन्
आजा वास्तै गरिनौ भोली आँखा तरौली
पर्सी मायाको टुसो पलाउन असम्भब होला त ?

आँखाले चस्मा खुट्टाले लट्ठी पाएकै छन्
आखिरीमा तिम्रो गन्तब्य अर्कै अंगालो हुन पुग्दा
घाइते यो दिल मलम नपाएरै बर्बाद होला त ?

परिचय

को हुन् उनी जो हाँसेर गइन् हिमालको हाँसो–
मिलेको जिउडालमा जो नाचेर गइन् मयूरको नाच ?

को हुन् उनी जस्ले चेतनामा कोरेर गइन् भविष्यको सुनौलो तस्बिर–
कर्के नजरले नै जो उद्दार गरेर गइन् कुहिरोमा विलीन एक तक्दिर ?

को हुन् उनी जस्को हाउभाउले नै कोर्छ उत्कृष्ट कविता–
अनुपस्थितिले जस्को एकलकाटे मनमा उब्जाउँछ द्विविधा ?

को हुन् उनी जस्ले लुकाइनन् खाल्टोमा जमेको पानीबाट आफ्नो चन्द्रमुख–
डेढोलो लागेको दिनहरूमा सितलता फैलाउने जो बनिन् एक कृपालु रूख ?

को हुन् उनी जस्ले हाँसेर भाँचिन एकलवासले लगाएको दिलको ताल्चा–
दुई भिन्नै फूल एउटै बारिमा हुुर्किदा बारी नमासिने गरिन जस्ले बाँचा ?

तराजु

कोट्याउदा कोट्याउदै विगत
भविष्यको आर्यघाट नजिक सर्छ ।

मोहनी गुलाफको सुन्दरता र बास्नले लाउँछन्
छेउछाउका काँडाले बिस्तारै परिचय खुलाउँछन् ।

चाँडबाडको हर्षोल्लासमा तन्नेरीहरू खसी ढाल्छन्
बुढा बा “अैया बाबै” भन्दै जिउँका हड्डी सोझ्याउँछन् ।

बालक दौडिरहेछ चौरमा चेतनाको बिर्को उघारी
जस्मा समाज माना पाथी नानाथरी खन्याउँछ ।

खल्तिमा अर्थ भर्न जवानी जोश खर्चिदा
अस्तित्वको अर्थसँग तालमेल नै बिग्रिन्छ ।

बिग्रेको तराजुको नियत सबैलाई तौलेरै छाँड्छु भन्ने छ
ऐसआरामको छट्पट्टीबाट ऊ लुत्रुक्क परेको कविलाई गिज्याँउछ ।

पाना

नजिकको निस्पट्ट अन्धकारले दिनहुँ झम्टिदा
टाँढा-टाँढाको तर्मिरे उज्यालोले डोऱ्याइरहन्छ ।

अनि सपनाको भारि बोक्दै टाँढा लम्किरहँदा
त्यहीँ कोप्चाको निन्द्राको झल्को आइरहन्छ ।

गाग्रीमा जसोतसो जीवन भर्छु भन्दा
लयबद्द चुपचाप जीवन पोखिरहन्छ ।

बुढी आमै डाडामा घाँस-दाउराको बिटो बनाउँदा
सम्झनामा एक काँडा एक फूल हुर्किरहन्छन् ।

एक सुन्दरी ओठमा लाली आँखामा गाजल भर्दाभर्दै
सिन्दुरको एक बट्टा हाँस्दै आएर उनीलाई रुवाइरहन्छ ।

रातभरि घोचिरहने व्याथाहरूको चित्र कोर्न कलम समाउँदा
लजाउँछन् सोचहरू अनि मौन पाना चुपचाप सत्य बाँचिरहन्छ ।

भने ?

ऐनामा टाँस्सेका बाँफझैँ
यादहरू बिलाई गैदिए ?

मसि सकिएको कलमझैँ
चहानाहरू चुपचाप भैदिए ?

बग्दै हिँडेको खोलाले सागर भेटेझैँ
धड्कन सम्हाल्ने अङ्गालो भेटाए ?

दिन सुरू गर्ने चियाँको दुई सुर्कोझैँ
सुर्यास्त साथै हेर्ने एक साथी गाँसिए ?

एक मुर्तिमा कुँदिएको मन्त्रझैँ
चेतनामा कुँदिएका दर्शन मेटिए ?

भित्ताको मसिनो काँटाले भब्य सम्झना थामेझैँ
कतै बिझेको सानो काँडाले जिन्दगी लेख्दिए ?

दैबको धाकमा एक पत्थरले शिर फुटाएझैँ
कल्पनाको भागबन्डामा बाँझिदा मानवता कुल्चिए ?

चित्र चित्र बिचित्र

चुहाउदै पसिनाका दाना
खियाउँदै औलाका नङ्ग्रा
काठमा, ढुङ्गामा, पानामा
जन्माइरहेछौ हामी आफ्नै चरित्रहरू ।

आफ्नै टुक्राहरू भेट्टिन्छन सजिलै धेरै ठाउँमा–
यात्रामा, साथमा, बोलचालमा, एकान्तमा–
तर अस्तित्वको अधुरो अनुहारको पूर्ण चित्र चिन्न
उभ्भिन्छौ मात्र समाजले थामेको ऐनाकै अगाडि ।

जगत बुझ्न खोज्छौँ अक्षरमा, बिम्बमा, वस्तुमा
समुन्द्रको खोजी किन यति सारो बिघन हाम्रो
दैलो नजिकैको गाग्री कोल्टो पारेर
जीवनको प्यास बुझाउन न मिल्ने नै हो र ?

गल्ली गल्ली चारेको कुकुर निर्धक्क आएर कौशीमा
च्यातिएर मिल्काइएको एक पानामा जल चढाउँछ
ओहो, म मख्खिदै सोच्छु, अन्तमा एक आलोचकले
हतारमै मिलकाएको एक कवितालाई पूर्ण अंक दिएकै हो त ?

टूथपिक

दाँत बिच-बिचमा अड्केका माँसुका टुक्राहरू
टूथपिकले घोचेर निकाले जस्तो सजिलो कहाँ हुन्छ र
निकाल्न यादमा अड्केका दिल घोच्ने मान्छेहरू ।

बाटोका धुलो मैलो बटुलेको नयाँ पाइन्ट र सर्ट
पुन: चम्काउन टक्टक्याए जस्तै सरल कहाँ छ र
टक्टक्याएरै हटाउन बिगत भविष्याका डामहरू ।

प्रेम पत्रमा एक पलको उत्सुक्तामा मुटु पोखेर
माया जताँए जसरी शभ्य र पूर्ण कहाँ छ र
सम्हालन उतारचढावका बद्मास पहरहरू ।

भुकम्पले मुल खम्बा चर्काउदा झुटो मुस्कान ओढेर
मनको डढेलो लुकाए जसरी सजिलो कहाँ छ र
ताप्न आफ्नै पैताल मुनि बलिरहेको आगोका मुस्लोहरू ।

समुहमा जम्नकै निम्ति बुनिएको एक मुकुन्डो भिरेर
हुलमा हाँसेर चाँड मनाए जसरी कहाँ सकिन्छ र
नभिज्न छाँतामुनि जब बर्सिन्छन् सत्यका आँशुहरू ।

A non-poetic complaint

साइला दाइ चोकमा चियाँ पिउँदै उम्लन्छन्,
“बुद्ध बिर्से, हिमाल बाँढे, र नदि बेचे टाउकेहरूले ।”
तल्लो घरे कान्छो भाइ झोलामा पिलेन बोकेरै तर्किन्छ,
“भ्रष्ट नेताहरूले मुतेको जमिनमा पसिनाको मूल्य म देख्दिनँ ।”

उपल्लो घरे जेठो दाजु बोकिरहेछन् विदेशीका पाइलाहरू
र चढाइरहेछन् सगरमाथा जहाँबाट विदेशीहरू देख्दछन्
आफूले आर्जेको सफलता र सेर्पा दाजुले देख्दछन् फेरि
चुलोमा आफ्नी बुढीलाई दु:ख दिइरहेको ओसिलो दाउराको धुवाँ ।

देशैभरि फटाहा, बद्मास, लालची, चोरहरूको गिदीमा
टेक्ने, बिसाउने, र कुस्ती खेल्ने झिङ्गाहरू भन्भनाई रहेका छन्
तम्सिन्छन् कोही जालीहरूलाई जालमै निसास्याउन
त कोही हजुरेहरू लागिपरेका छन् उनीहरूको बुई चढ्न ।

कोही सज्जन आउँछ यो झिङ्गाको मैदानमा
एउटाले भन्छ मेरो धर्मको मान्छे, अर्को भन्छ मेरो पार्टीको
ऊ भन्छ, “देउता र नेताको पाउँमा जन्तालाई घुँढा नटेकाउ भो ।”
धर्म बिरोधी ! संस्था बिरोधी–देशले उस्को बली चढाउँछ ।

यो माटोमा देबकोटा कवि कम पागल बढी गनिन्छन्
देशले गरिबी, भ्रष्टचार, र टाउकेबाहेक अरू केही पाएकै छैन
चित्रकला, साहित्य, विज्ञान, र निमार्न बारे चेतनाको बिर्को बन्द छ
अरुको वर्षौ पहिलेको क्रान्तिको सिको गर्न अहिले फुर्सद छ ज्यूहरूलाई ।

झुसिल् किरा

यो निधार बिझाइरहने
झुसिल् किरो
कुन बेला पुतलीको उडान भरेछ पत्तो भएन ।

चिरपरिचित कविलाई बुझ्दै जाँदा
तमाखु तान्दै कौसीमा गफ्फिने बाजे
उत्तिकै ज्ञानका खानी भएको अन्दाज लागेन ।

टाउको तन्काएरै मात्रै देखिने हिमालहरू
सुस्त सुस्त पाइला चाल्दै जाँदा
भेट्टिन्छन् भन्ने विश्वास नै जागेन ।

उनको सौन्दर्यको महिमा गाउँदा गाउँदै
पर्दा पछिको उनको शुद्द अस्तित्वले
पहिचान गुमाएको हेक्का रहेन ।

संसारिक घडीका १२-२४ चक्र लगाउँदै गर्दा
छाती भित्रका दुई धड्कनले
जीवन मृत्यु झल्काएको होसै आएन ।

कोही आज

कोही आज हिमाल हेरेर
कुहिरोमा बाँफ थपेर
चियाँको प्याला निलेर
हाँसोको थुंगा सिउरेर
कविताका दुई पंक्ति गुन्गुनाएर
बुढा बाजेको पुच्छर लागेर
कोर्दैछ संसारलाई चेतनाको पानामा ।

कोही आज हत्केलाले तारा छेकेर
घडीका तिनवटै पाइला रोकेर
बिदाईमा परेलीहरू चिम्लेर
बाध्यताको मुठ्ठी कसेर
सम्झनामा औला भाँचेर
सपनाको मण्डप लत्याएर
बेहोर्दै छ चेतनामा हुर्केको संसारलाई ।

हड्डीहरू

सबै हड्डीहरूले
उस्तै शरिर बोक्दैनन्

सबै आँँखाहरू
एउटै संसार चिन्दैनन् ।

आँशुहरू घर छाडी माइत आउने
बाटा बाध्यताका एकनास हुदैनन् ।

उहीँ शब्दले बनेका वाक्यहरूको
अर्थ एउटै लाग्दैन ।

सुस्केराहरू लेक र बेसीका
जनजीवन उस्तै हुँदैनन् ।

टाउको-टाउकोमा गिदी त्यहीँ
कथा-व्यथाको लय एकै हुँदैनन् ।

बद्ला

बदलामा बाँच्छ ऊ, भन्छ–
उस्को भन्दा दोब्बर कमाउँछु
टोलकै सान्दार भवन बनाउँछु
नाममा नमस्कार गर्ने बोली जुटाउँछु
आफू बाहेक सबको बदनाम फैलाउँछु ।

बदलामा बाँधिएर
बदलामै बादल भएर
बदलामा नबद्लिएर
बदलामै गुमनाम हुन्छ ऊ ।

ऊ र म

चिम्लेर देख्छ ऊ
जो म चक्षु तरेर देख्दिनँ ।

चुपचाप लेख्छ ऊ
जो म किताब भरेर लेख्दिनँ ।

सबको बुझाईमा प्रश्न सोध्छ ऊ
जो म गलत कुरामा सोद्धिन्नँ ।

सत्यको लागि विष पिउँछ ऊ
जो म असत्यको पुँजा गर्न परे पनि पिउदिनँ ।

आफू भित्रको जंगली एक जनवारको कुरा गर्छ ऊ
जो म मेरा दैबको अपमान होला भनी चुइक्क बोल्दिनँ ।

सत्य मैदान

देखिने सत्य
देखाइने सत्य
बोलिने सत्य
बोलाइने सत्य ।

प्रचारको सत्य
प्रवचनको सत्य
प्रशासनको सत्य
पाठशालाको सत्य ।

सोचाइको सत्य
भोगाइको सत्य
रोजाइको सत्य
खोजाइको सत्य ।

सत्यको प्रचुर खेतीको युग छ ।
पसलेले दाममा, नेताले भाषणमा उमारेको छ ।
हरेक रूखले बुद्द जन्माएको छ ।
चौर‍-चौरमा सत्यै सत्यको भिडन्त छ ।

गुनासो

ऐनामा दिनहुँ देखिरहेको एक दृश्य पनि बद्लेछ
हामी बिचको नाताको आजकाल परिचय बद्लेछ ।

ढाडको हाँड सोज्याउन नपाउदै आज रात ढलेछ
सारा जँघार साथै तर्ने बाचाको अदालत ढलेछ ।

एक दुई दिनको भेटघाटलाई अनयासै सदबहार सम्झेछ
माया दिने मनले माया पाउनु नै पर्ने अधिकार सम्झेछ ।

ढकमक्क फूलहरू झरेर जाँदा रूख त नाङ्गै भएछ
फर्किने बाटो नसोधी जाँदा तिमी मन खक्रकै भएछ ।

वसन्तले पुन: बाँसी बस्तीमा मगमगाउने बतास ल्याएछ
आफै भित्र घाँउ र उपचार दुबै भएको सन्देश ल्याएछ ।

संसारमा तालमेल नमिली ठक्कर खाँदा बैरागको टुसो पलाएछ
चमक मात्र हेरी आउने दाग खोजेर जाने प्रति गुनासो पलाएछ ।

देउराली

आज त गैगयो अरू कसैको यादमा
तिम्रो बर्कोको सप्कोमा माया भर्न
म भोली आउँछु है ।

हप्ता भरिकै साँझहरू चट्याङ छल्दै बिते
आगम हर गोधुली साँझमा दिन बिसाउन
तिम्रो काँध माग्छु है ।

सही गलतको बुझाई सिमित छ आफ्नै समाजको मुहारमा
सम्बन्धमा अर्कैले रोपेको काँडा उम्रन नदिन
तिमी खेले-हुर्केको समाज बुझ्छु है ।

भविष्य निदाउने छ तिम्रै अङ्गालोमा
मायाको तिर्थ थालनी गर्न
म डोली ल्याउँछु है ।

मनका बेइमानी चालहरूले उक्साउदा
लोभ, इर्ष्या, तरंग, र भ्रम बुझ्ने
म देउराली भाक्छु है ।

बराबर

फूपुले गहुँ पिध्ने बेसीको जिर्ण पानी घट्ट
पसिनाको दान बिनानै ठडिएको होला त झट्ट ?

भित्ताको बाह्रैमास हाँसिरहने गजक्क परेको तस्बिर
ल्याएर आएको होला त कहिल्यै नबिझाउने तक्दिर ?

हिजोको लाठीचार्ज भोलीको फाँसीमा कैद बर्तमान
नबिउझाएरै रातको सपनीबाट फुत्केला त हर बिहान ?

पाएको सापटी एउटै जीवन जगतको गर्बबाट
बिना कर्म अँजुलीमा अर्थ भेटिएला त निर्धक्क ।

ब्याङ्ग्य गरिरहेछ खोला किनारबाट एक आर्यघाट
अन्तमा सत्य एकै हुँदा समान नहोला त सबको औकात ?

एक फूल, एक आँशु, र एक चुल्ठो

पानी पोखिएर छताछुल्ल भुईमा
न बगेर भेटायो सागर न तिर्खा मेटायो ।

वशन्तको फूल चुडिएर डालीबाट
न सजियो बोटमा न त कसैको चुल्ठोमा ।

सहरको सान्दार महल हल्लायो घर झगडाले
न दिनमा चयन छ न त रातमा निन्द्रा भेटिन्छ ।

समुन्द्रमा हाँसो खोज्दै आएकाहरूले आँशु बेच्दा
न आँशुले भिजाए न त हाँसोले उम्त्याए ।

समयको दियो अस्ताउदा क्षितिजमा
न गोजीको अर्थ रह्यो न त खोजीको मूल्यांकन भयो ।

भविष्यको रेखा हिडिरहेका दुई पाइलाहरूले
न त गतिलो गन्तब्य न फर्केर हेर्दा एउटै बिगत भेटाए ।

नसकिने

सूर्यसँग आँखा खुल्ने
सिरानीमा निन्द्रा पर्ने
बानी किन्न सकिदैन ।

कतै हँसाए पनि
अन्त कतै बिझाइरहने
आफ्नो भोगाई बद्लिन सकिदैन ।

जन्म पूर्व, पछि, र जीवन कालमै
देखिने, छुट्टिने, र गाँसिने
मान्छेहरू आफै उभ्याउन सकिदैन ।

आफ्नो रात भब्य हुँदा
कुप्रो परेको जूनलाई
उक्सिन भनी हपार्न मिल्दैन ।

चाहानको गन्तब्य भेटन
आफ्नो शरिर नुघेको नेदेखन
समयको गति मनमर्जी हाँक्न मिल्दैन ।

सम्झना-बिर्सना

बेला कुबेला जिब्रो समातेर बसेको
गित संगित बिर्सिए ।

घर वन विद्द्यालय सँगै हिडेका
साथी सारथी छुट्टिए ।

मुटुलाई दाम्लोले बाँधेको
अनेक मुहार हराए ।

जे नहुँदा जिन्दगी पनि हुदैन सोचिन्थ्यो
त्यस्तै धेरै घामहरू अस्ताए ।

खैर, अस्तित्वको नयाँ दिन झुल्केकै छ
डाँडामा बाटो भुलेरै बतास हुइकेकै छ
महिनौ जाँडो खपेर बोट फेरि पलाएकै छ
खोला बगेकै छ मुहान छोडेर
दैनिकी चलेकै छ उही दोहोरिएर ।

म पनि पाब्लो नेरुदा

मध्यरातको यो शून्य घडीमा म बढो उदासीन् पंक्तिहरू लेख्न सक्छु
जस्तै कि- घाम डुब्दै थ्यो क्षितिजमा लाली छरेर भोलि पुन: झुल्किन
अनि जिन्दगी बिलाउदै छ आफ्नै अंगालोमा कहिल्यै नभेट्टिने गरेर ।

रात लट्ठ छ । मन चुपचाप रोहिरहेछ सिरानीको एक फोटोसँग ।

आजको रात म लेख्न सक्छु सब्से मर्माहत शब्दहरू:
रोएरै सक्किएछ जिन्दगी जस्को निम्त्ति वर्षौ पछि
भेटाएको थिए दुई चुट्किलाहरू ।
फुर्सदमा चुमूलाँ भनेर पर्खाइएका गालाहरू
आज धुवाँमा भौतार्रिरहेछन् न्याना हत्केलाहरु खोज्दै ।

आजको रात म लेख्न सक्छु बडो उराठिला शब्दहरू–
कोही थियो माया गर्ने जस्लाई मैले बुझ्नै खोजिन
कोही थियो माया नबुझ्ने जस्लाई मैले भुल्नै सकिन ।

म उसैको ओठमा लालीगुराँस फुलाइरहे
पाँउमा पाउजु बजाइरहे; शिरमा बुट्टा भरिरहे
उस्को यथार्थलाई तन्काएर म प्रवेश गरे उस्को जीवनमा
मकै बारीमा बाँदर पसे जसरी ।
ढुंगा प्राहार गर्ने निष्ठुरीलाई म चिन्दिनँ
मैले माया बुख्याँचालाई गरिरहे ।

आजको रात म लेख्न सक्छु सब्से विस्मातजनक शब्दहरू ।
सोच्दा त रित्तिएछ मनभरिको सागर जत्तिको गहिरो माया
मलाई माया गर्ने त्यो अभागी र मैले माया गरेकी त्यो भाग्यमानी
कता भिजिरहेछन् कुन्नी कस्को अंगालोमा ।

आजको यो रातलाई दुई अंजुली आँशु सापटी दिन पनि सक्छु
जुन खुम्चेर सक्किन लाइसक्यो मेरो मुटु जसरी
चरो रोइरहेछ भत्केको गुँडमा एक्लोपनले पिरोलेर
ताराहरू आकाश छोडेर हिड्दै छन् हिमालको काखतिर ।

जाँदा माया ठेगना दिएर गएकी थिइन्
हिड्दा म नशामा लट्ठिएर हिँडेछु
खाल्डोमा खस्दा निधारमा बसेको रातो टाटोलाई
उन्को चुम्बन भनेर मन बुझाइ राखेको छु ।

तथापी विस्मयको अन्तिम पाँउ ढोगी म नबहकिने संकल्प लिदै छु ।
कलमले आँशु पुछी सक्यो अब लेखन बाँकी केही रहेको पनि छैन ।

फोटो

रित्याउदिनँ भन्छु नयनको खाल्डो
छातीको फोटो गलेर टुक्रियो ।

सिउदिनँ भन्छु सपनाको भोटो
मध्यरातको ठण्डीले चिमोटेर बिउँझायो ।

निस्कन्छूँ भन्छु यादको कारागार
जाने त दिलको दैलो फोडेर हुईकियो ।

लेख्छु भन्छु सकसको सागर
जो पश्चतापको रापैमा सुकेर बिलायो ।

फर्किन्न भन्छु भत्केको गोरेटो
धड्कन सारा विगत हिडेर सकियो ।

बिर्सन्छूँ भन्छु मनावताको अध्याँरो
साथीले पिठ्यूँमा छुरा रोपेर सम्झायो ।

यस्त-यस्तै छ

सूर्य उदाउँछ, अस्ताउँछ
चराहरू गाउँछन्, बाँस खोज्छन्
मन चल्मलाउँछ, थाक्छ ।

पर कतै भट्टीमा एक जडियाँ
एक दुई बोतलको घुट्कीमा
घाँटीमा अड्केको सत्य निल्दै छ ।

घाम, वर्षा, चट्याङ, खडेरी
सबथोक आउँछन् नयन वरिपरि
यस्तै फेर बदलीले नचिमोट्दा
जिउँदो भएको चेतना जाँग्दैन ।

पुस्तकलायको भित्री कुनामा एक सिपाही
एक दुई हरफको अङ्गालोमा
छातीमा गडिएको गोली खियाउँदै छ ।

संगित गुञ्जिरहेछ
चियाँ पसलमा ज्यानहरू बिसाउन पाएकै छन्
कहिलेकाहीँ गोजी छाम्दै फोनकलहरू आइपुग्छन् ।

कहाँबाट आउँछन् ?

सोचहरू कहाँबाट आउँछन्–
चोक-चोकमा भग्वानहरू जागरुकै छन्
क्यौँ बद्मासहरू कहाँबाट आउँछन् ?

माया कहाँबाट आउँछ–
छाती-छातीमा बिस्पोटक धड्नक चलिरहेको छ
एकतर्फी समय कहाँबाट आउँछ ?

बोझहरू कहाँबाट आउँछन्–
समाज, समय र प्रशास्न हत्कडी बेचिरहन्छ
जेलभित्र निर्दोषहरू कहाँबाट आउँछन् ?

षड्यान्त्र कहाँबाट आउँछ–
स्वार्थको राजमा चुर्लुम्म मुन्टो डुबाईरहेछ नयाँ टोपीले
गणतन्त्र कहाँबाट आउँछ ?

कानुनहरू कहाँबाट आउँछन्–
यथार्थ बेसुरा गुन्गुनाइरहन्छ
धुनहरू कहाँबाट आउँछन् ?

कोही

कोही आऊलिन् र भन्लिन्
मेरो अँगालोमा चिटिक्क अट्ने गरी
उनको जीवन बुनिएको छ ।

कोही भेटिएला र बुझिएला
उस्को काँध ठ्याक्कै
मेरो शिरको सिरानी पुग्ने छ ।

पर पर हेर्छु यो बगर
संकेत गर्छु; आवाजले दिन्छु
अह, पतझड् बगरमा रुख हुर्कने
छाँटकाँट कतै देखिदैन ।

ऐंठान

हेरिरहेछु एक फोटो
हाँसिरहेछौ तिमी–
सम्झीरहेछु म
रुझिरहेछ मन ।

दोडिरहेछौ अर्कै बाटो
पर्खिरहेछु म
डुब्दै गएको छ जवानी
आँत्तिरहेछ समर्पण ।

हुर्किरहेछ एक ठिटो–
छोडिरहेछन् कोही
गाँस्सिरहेछन् अरु
बल्झिरहेछ ऐंठान ।

हजार सपना

अजीब मान्छे–
न कोही बाटो-बाटोमा सल्लाह माग्दै पछि लागेको छ
न वरिपरि ताली बजाइदिने दुई-चार हात बटुलेको छ
न हेर्दा आँखै खाने घरबार ठड्याएको छ ।

हाँसिरहेथ्यो हिजो देख्दा, एक्लै–
न कसैले चुट्किला सुनाएथ्यो
न कोही यादमा पस्किएको थियो
न त स्थिति हस्यास्पद न थियो ।

हिँडिरहेछ साँघुरो गोरेटो–
फर्किरहेछ पुरानै आँगन–
तापीरहेछ कुनाको अगेनो–
फेरिरहेछ दुई मुठ्ठी प्राण ।

झुक्केर विदेशी चक्लेट उस्को हातमा पनि परे
भन्छ दाँतले चक्लेट भेटाउनु पैला किराले दाँत खाए
हाँस्छ चाउरी परेको छालामा भिरेर वर्षौँ पुरानो समय
उस्को दैलोमै आए र दैलोबाटै हजार सपनाहरू फर्किए ।

थोपाहरू

दिन पुरै काखमै लडेर बित्यो
नङ लामा-लामा हुँदै थिए रात जस्तै
बायाँ छाती छाम्दा कोही अैया भन्न थालेको थियो ।

न घाम बोकेर ल्याएथ्यो अनेक थरि काम
न त शरिर चोटको वेदनामा ग्रस्त नै थ्यो
तर आज पनि नङ् काट्ने फुर्सद जुरेन ।

बर्खे भेल बटुलेर ल्याएथ्यो बाटाघाटाका कसिङ्गर
समुन्द्रको गहिराई नापेका थोपाहरू सुस्त सुस्त
पात पतिङ्गरहरूको भारि अंगालोमा बिलाएर गएछन् ।

टपरी

देशले रगत मागिरहेछ–
हाम्रो देशै मंशहारी ।

यहाँ बुद्ध, सगरमाथा, र विरहरूको ताँती छ
हाम्रो देश इतिहास प्रेमी ।

भूपीलाई इतिहास गलत लागेर के भो ?
हाम्रा नेताहरू झुठको व्यापारी ।

जनताको नशा-नशामा रोग-भोक-शोक दौडिरहन्छ
अबिर घस्ने माला लाउने नेता भाग्यमाणी ।

अगेनोमा छोरो नेता बन्छु भन्ने सपना सुनाउँछ
पिँढीमा बुढी आमा रुन्छिन् धरधरी ।

बाँदरले जंगलमा आफ्नो नयाँ राज्य घोष्णा गर्छ
कुशासनले बुनिरहेछ यथार्थको टपरी ।

आँखा

ज्ञान खोज्न हिडेको शिष्यलाई खुट्टामात्र ढोगाएछन् ।
नेताले देशको नक्शा कोर्दा रगतले पो बुट्टा भरेछन् ।

बुद्ध र सगरमाथाको मौनतामा व्यापरीले बजार खोलेछन्
शान्तिको आशामा तातो रगत बगाउने हतियार बनाएछन् ।

बुढा बा बृद्धा भत्ताले आफ्नो जवानीको उर्जा किन्न तम्सेछन्
आँग्न तलतिरको खोलाको लालपुर्जा विदेशीलाई बेचेछन् ।

बम बारुतले हुर्काएका कानमा मच्छेड् आएर तर्साउन खोजेछ
देश बनाउन टोल छोडेको नेता जन्मेको टोलको ठेगना भुलेछ ।

देश भन्ने केही हुँदैन भन्दै कोही आदर्शको स्वर्गबाट चिच्याएछ
आफ्ना दिन-दशाको बिरह सम्झिदा गाउँलेको आँखा रसाएछ ।

मोहदय

मोहदय जुन फूल देख्यो
त्यहीँ फूल टिप्न खोज्छन् ।
प्रतिष्ठा, मर्यादा, चरित्र
पुँजीले किन्न खोज्छन् ।

फूलको बाँसना फित्तलो हुँदा
फूलबारी नै माँस्न तम्सिन्छन् ।
कोही सज्जन आउँछ
आकांक्षाका काँडा चिनाउँछ ।

अन्धो खोजलाई चश्माको उपदेश–
जूनको उज्याली आफ्नै टुकी भन्ठान्छन् ।
संसारका सबै सम्पत्ति
उस्कै अधिकार सम्झिन्छन् ।

संसारका सारा कर्म र फलहरू
आफ्नै परिश्रमका दाना भन्दछन् ।
कोही सज्जन जाँग्दछ
वायूमण्डल उनको फोक्सोले नधानेको ज्ञात गराउँछ ।

चेतना

शब्द धेरै, सत्य कम
लामो याद, छोटो सम्बन्ध ।

तन्केको एक गुलेली, थकित अर्को कलम
निमुखाको घर जलछ, लखपतिलाई राहत

सोचाईमा ठप्प एक ताल्चा, पुर्ख्यौली एक पहिचान
कला साहित्य चाहिँ शून्य, चेतना ओगट्छन् भाषण ।

धारिला हतियार, कम्जोर शरीर
देशको माया गाँडा, भ्रष्ट सरकार ।

किसानको बेजोडको काम, कुहिने अन्न
टम्म नेताको भूँडी, कस्तो अचम्म ।

डाँडा मुनिको सपना

मुहानबाट बाटो बुनेर झरना नदी भेट्दछ
ताल मुहान भेटाउन अर्कै खुड्किलो उक्लन्छ ।

प्रकृति आफ्नो गर्बमा शुन्दर चित्र कोर्दछ
कवितामा शब्दले भिन्नै बयान लेख्दछ ।

अपराध भने पुरा समुदायको भिड मिलेर गर्दछ
समचारमा केबल एक नाम एक मुहार छापिन्छ ।

कुरो यत्र-तत्र सुइकिन्छ; कुरा गरूँ कुरैको दु:ख लाग्दछ
रहरहरू खोज्न बेसीँ झरेको तन्नेरी सपना डाँडाको देख्दछ ।

छामछुम गर्दा आफ्नै घाउँ कतै चिने जस्तो मान्छे ब्यूझिन्छ
आँखाको ढक्नी खोली लुसुक्कै कतै टाँढाको लागि निस्किन्छ ।

खल्ति

ब्याक्ग्राउण्डमा बजिरहेको एक गित
श्रोताको ध्यायनमा नपरेरै सक्केजस्तो
सक्किदैछन् सधैँ आँखा खोल्ने दिनहरू ।

आफ्नो बुढो सोचबाट उफ्रिरहेका सन्तानलाई
सुझाई-बुझाई गर्दै हैरान एक बाबुजस्तो
चिन्तित छन् भ्रम बेहोरिरहेका भोलीहरू ।

दैनिकीको कष्टको मारमा निसासिएर
रिंगटा लाग्ने गरी फन्फनी भोतारिरहेको एक नागरिक
खल्ति कोट्याइरहेछ किन्न नेताका सुख शान्तिका बाचाहरू ।

आमा बा आँगनमा

पैसाको बिटो बोक्न गएको तन्नेरी
घरको बाटो बिर्सिन्छ
मनको बाँसुरी भुल्दछ
समयको अन्त्य नकार्छ ।

बाउ आमाहरू पनि त उँभिरहेछन् आँगनमा
हातमा लट्ठी बोकेर
खेदिरहेछन् घर फर्किने छोराछोरीहरू
हकार्छन् पुँजी र प्रतिष्ठाको उपनाममा ।

समाज बसेर परिवर्तनको चोकमा
सम्झाइ रहेछ टुहुराहरूलाई
माया पाउन लाग्ने खर्च र
भिँडको मेलामा आफूलाई बिर्सन ।

बिचरो आफू भन्ने पनि के हुँदो हो
समय र स्थानले आँधी मिचिहाल्छन्
सम्झना र सपनाले हात्कडी कसेकै हुन्छन्
एउटै पहाडमा कयौँ चट्टानको अस्तितव लुकेको हुन्छ ।

कुहिरोमा काँग

बिहान बिहान चियाँको गलासमा
हर्ष गिँजा फिजाएर आउँछन्
सूर्य अबिरल झुल्किन्छ क्षितिज चिरेर
तिमी एक दुई पल उदाएर अस्ताएकी
जीवन त दिनहुँ सल्बलाइरहन्छ ।

तिम्रो अनुपस्थितिले नसताएको पनि होइन
बादलको मुठ्ठीमा कैद एक सूर्य जस्तो
चिसिएर मौन बसेको चियाँ जस्तो
केरमेट गरेर च्याँतिएको एक पाना जस्तो
मन पनि दिनका केही घडीमा चस्किरहन्छ ।

फेरी बादलले शितलता पनि पस्किन्छ
न्यानो बटुलेको बाँफले समयको गति चिनाउँछ
केरमेटको शिलशिलामै एक कवि जन्मिन्छ
हुनु नहुँदा नहुनु हुँदा पनि संसार चलिरहन्छ ।

अनि गतिशिल समयमा एक मनुवा थला नपर्ने पनि होइन
नयाँ कलम नयाँ कपीले मौन धारण गरेजस्तो
शिशिरमा सूर्यमूखीले ढुंगा ढोगे जस्तो
चियाँ उमाल्दा घरमा आँगो सल्केजस्तो
मान्छे पनि कुहिरोमा अलपत्र काँगझै बेला-बेला अलमल्लिरहन्छ ।

एक किलो दिलमा

दशैमा भित्ताले
नयाँ रङ्ग पाएजस्तो
अस्तित्वको रङ्ग फेर्न पाए ?

खोलाले बोकेका थोपाजस्तै
पहिचानका डोकाहरू
बाफहरूलाई सूम्पिन पाए ?

आज पनि सयौँ हिजो पनि उत्तिकै धेरै
भोली पनि पेट भरी बाँची सकियो
दुई स्वासमै समयको निष्कर्ष निचोड्न पाए ?

सम्झनाको मैदानमा एक परीका लात्तीहरू
भकुण्डो खेलीरहेछन धेरै वर्ष पूर्व देखि
जानेहरूलाई बाँध्न दिलमा एक किलो ठोक्न पाए ?

दिल भाँच्नेको खुट्टा भाँच्न पनि नमिल्ने
सबै गोरुको सिङ घरकै डिलमा कहाँ भाँचिन्छ
जाँदा उस्को पाउ मूनिको भिर दर्शाउन पाए ?

तिर नजरका

कर्के नजरका तिरहरू चलाउँछ्यौ तिमी
छाती थाप्न सयौँ युवकहरू तौनाथ छन् ।

आँखा तिम्रा कविता बोलिरहेछन् बोली चाँहि युद्ध
तिम्रो मनासय अर्थयाउन धड्कनहरू हैरान छन् ।

सूर्यलाई अंगालोले बेर्दा भष्म बनाउला भन्ने डरमा
तिम्रा सूर्यमूखी फूलहरू जून पुज्न विवश छन् ।

जानेलाई जान दिउ भन्छ एक त्याँगी ठिटो
तिम्रो नाम जप्ने बैरागीहरू हजार छन् ।

पाउँजु जस्तै तिम्रा पाउँ पनि समयका उपहार न हुन्
पहिले छाती सजाउने फूलबारीहरू अहिले उजाड छन् ।

हँसाउ भो तिम्रो मुहार रुनलाई त मन लुकेरै रोइहाल्छ
यो चक्र यस्तै छ प्रिय यहाँ फूल भमरा दुबै उदाश छन् ।

भिर

किलोमा कैद एक गोरुझैँ यो दिमाग
फनफनी नाँचिरहेछ एउटै घेरोको सेरोफेरो
दामलो चुँडी देउता खोज्न हिड्छ क्यौँ पल
ब्यर्थै भिरबाट पल्टेर बटुल्छ चोट्पटक अनेक ।

बाटो हिँड्ने सबैले स्वर्गकै कुरा गरे
त्यसैले पाइला लम्किए स्वर्ग खोज्न बगालसँगै
भिरबाट खस्दा जपे सबैले देवोनाम
काँध, अहँ, कसैले पनि थापेनन् ।

यूं ही खुद से खुदा बन गए हम सनम
तुमसे जुदा हो न सके मगर ।
खुदा होकर हमने सिर्फ आपको नहीं
तुम्हें भी तबाह कर दिया है ।

कायर

यो नयाँ पाना, नयैँ कलम
छुन, समाउन पनि डर लागिरहेछ
कलकलाउँदा, ज्यूँदा, र रित्ता पानाहरू
सम्भावना प्रचुर बोकेका छन्
कुनै दमदार लेखको शरणमा पो पाउँछन् कि कुन्नी ?

डर लाग्छ चलाउन मेरा औलाहरू‍‍–
म टुटे-फुटेको एक लेखक–
कतै लेख्न थालेको बिच्चमा
कोरेर, च्यातेर, भाँचेर यि नयाँ कलिला जीवनहरू
मिलकाइदिन्छु कि एक डुङ्डुङ्ती गनाउने डष्टबिनमा ?

मेरो जीवननै काँपीरहन्छ–
यो धर्तीका मनुवाहरूका बातहरू सुन्दा–
धर्म गुरूका अर्ति उपदेशहरू सुन्दा–
देशै देशले नागरिकलाई कुवामा भ्यागुतो बनाएको देख्दा !

के लेखूँ अस्तित्वको यो खोलबाट ?
लेखूँ आफ्नै बिरुद्ध–
आफ्नै बाबुको बिरुद्ध–
आफ्नै गुरूआमाको बिरुद्ध–
आफ्नै साथीको बिरुद्ध ?

निश्चित् मेरा औलाहरू थिचिनेछन्–
औला थिचिएको लेखको साहारामा
यि कलिला कलम र पानाको भविष्यको
जुवाँ खेल्न म कसरी तम्सिऊँ हँ ?

अहँ, यस्तो नहुन पनि सक्छ–
सायद म भित्रको एक कायरलाई
म जोगाइरहेछु, म सम्झाइरहेछु–
कुनै एक भरपर्दो जाँगिर दिएर–
घरपरिवार र समाजको माला ओढाएर ।

समाजको हत्कडीमा आफूलाई सूम्पिदै
म जोगिइरहेछु सायद–
बिष पिउन सुकरातले जसरी ।
ढुङ्गा सहन ग्यालिलियोले जसरी–
त्याग सहन बुद्ध जसरी ।

अपराध र सजाय

अस्तित्व मुहार धुँदैछ
आफ्नै पापको मैलो पखाल्न ।

कहिले लाग्छ बिगत व्यर्थै जाने चिज न हो
या त बिगत मास्नु बिना कुनै हेतु एक अपराध हो ।

एक मानिस मासेर बिगत बस्दो हो
वर्तमानको कठघरामा कल्पिदै आफ्नो सजाय–
एक उराठिलो भविष्य–
जस्लाई वफदारीका साथ जीउनु नै
उस्को एक सजाय हुन जानेछ ।

गन्तब्य

मुहान छोडेको पानीको गन्तब्य–
एक समुन्द्र, एक ताल, एक नदी–
एक बोट, एक तिर्खा, एक बाँझो खेत ।

एउटै रुखको हाँगा–
कसैको लठ्ठी, चरीको घरबार, फलको सर्वस्व ।

चिरबिर वशन्तको आवज
प्रेमिल संवाद, जीवनको भिक्षा, न्याउलीको विरहको भाका ।

अनेक थरी यात्राहरूमा डोऱ्याउने पदहरू
कोही तिर्थ, कोही मिलन, कोही बिछोड् त कोही बिश्राम ।

एक जाले रुमाल बेहोरिरहेछ
मुहारको धुलो, चक्षुका मोती, र ठण्डीका रुघाखोकी ।

दुखाई

न गोडा न त घुँडा दुखेको छ
न छाती न त हड्डी नै दुखेको छ
खुसी नै छन् हत्केला, नयन, र नाम पनि ।

कहिल्यै नफर्किने गरी हिडेकी उनका
बारम्बार आउने याद दुखेको छ ।

यहाँ अतित उस्तै दुखेको छ ।
भविष्य पनि सपनामा चिथोर्न पछि हट्दैन ।

न त नेताको भूँडी दुखेको छ ।
हिराको हार भिरेको घाँटी देख्ने कुरै भएन ।

निमुखाको घरबार जरुर दुखेको छ ।
कतै घाम कतै असिना खेप्दा
आकाश धर्ती पनि दुखेको छ ।

आश्वासनको दाम्लोले जनता लतार्दा राजनीती
देशको यथार्थ त दिनहुँ चस्केको छ ।

खुशी बटुल्न गएको सन्तान आफै थुनिएर आउँदा
आमाबाको काँधको बाँकस दुखेको छ ।

व्यस्त सहरको प्रेमी

सुन्छु तिमीलाई–
दिनमा रात रातमा दिन प्यारो लाग्छ ?
जून उज्यालो अनि सूर्य अध्याँरो लाग्छ ?
यसरी तिम्रो हकिकत पल्टाउने निष्ठुरी को हो साथी ?

सुन्छु तिमीलाई–
हिजो आजको भन्दा भोलीको आश बर्ता लाग्छ ?
बाटो हिँड्ने हर मानिसको दिल एक हतियार लाग्छ ?
यो दर्दनाक कहानीको अचानो को खुकुरी को हो साथी ?

सुन्छु तिमीलाई‍‍–
आदर्शबादीहरू घटियाँ र बैरागीहरू सत्य लाग्छ ?
दिलको वर्षामा ओत दिने घुट्की सभ्य लाग्छ ?
यो व्यस्त सहरको फूर्सदिलो पागल प्रेमी को हौ साथी ?

रुञ्चे

आँशु सँगालिएकै छन् महिनौ देखि एक बटुल्ने अंगालो पर्खेर
टाँठाबाँठाले सताइएको एक दिल बसेको छ एक दयालु पर्खेर ।

चन्द्र तारा निदाएको एक रात बिताउला बतासका गित सुनेर
चियाँउला तिम्रा मेरा यात्राहरू स्मृतिमा कैद हारजित सुनेर ।

अतितको भोटो छोटो-मैलो हुँदैजाँदा उपहार दिउँला अर्को बुनेर
कुसुमे रूमालले के तेग्थ्यो जाँडो बरै ओढौला सँगै बर्को बुनेर ।

बोलीमा समेटन नसक्दा भोगाइ हामी अल्झी बसौँला मौन्ता बुझेर
जन्मिनु कि मर्नु अन्याय फैसाला पनि साथै गरौँला अवस्था बुझेर ।

सोच कति लामा-चाख्ला सकिन्छ कि सारा समय कसैलाई पर्खेर
केही हुन हिँडेको अनुहार वर्षौ बिताइसकेछ ऐनामा आफैलाई पर्खेर ।

बद्मास

ऐनामा उत्रिन्छ एक सक्कल–
अबेर राति सम्म पनि ननिदाउने,
कति नाघे अति हुन्छ नठहऱ्याउने,
मान्छे त्यहीँ त हो !

बर्बाद गरेर आफूले आफैलाई,
अपराधको सजाय पनि आफैलाई दिने,
मान्छे त्यहीँ त हो !

आफू प्रतिको घृणाले आफैलाई राक्षस बनाउने,
मन्दिरको ढुंगामा क्षामाको याचनामा शिर चढाउने,
मान्छे त्यहीँ त हो !

जबरजस्ती कसैले अपहरन गरेर राखेको झै ठान्ने,
आफ्नै जीवनको वास्तबिक्ताबाट उम्किन खोज्ने,
मान्छे त्यहीँ त हो !

बाँच्नु पर्छ बा,
ऐनामै दिन-रात बिर्सेको
एक सक्कल समेत देख्न पाइन्छ ।

यस्तो पनि हुन सक्छ

नसोधोस् कसैले आएर मेरो जीवन कहाँ दुखेको छ
सदाबहार हँसिलो मुहारको व्यथा कहाँ लुकेको छ ?
झुटो बोलेर थाकिएको छ–
फ्याट्ट सत्य निस्कन सक्छ ।

तलाश गर्ने कष्ट पनि नगरोस् कानुनले दोषीका घर नगरहरू
औल्याउन पनि नखोजोस कसैले पछि-पछिसम्म फैलिने असरहरू ।
हिँडेर डाँडो काटेको छ घाइतेले–
बोलाए दर्दनाक घाँउले ऊ पुन: फर्किन सक्छ ।

नसोधोस् कसैले कि एउटै घाउँले कतिलाई पोलेको छ
ठडिएको हिमाल कति पत्थर किति हिउँले ढाकेको छ ?
कसैको एक विनम्र प्रश्नको उत्तरमा–
निर्धक्क उभिएको एक मान्छे पल्टिन सक्छ ।

मैलो आँखा

आँखामा एक झार पसेर आँखामै बिलायो
पित्को झारले पुरै ब्रह्माण्डनै धमिलो बनायो ।

मानसपटलमा एक सोच बार बार दोहोरिएरै वर्षौ बिझायो
सोचै त हो सोचेरै टारौला भनेको त मनमा घरबारै बसायो ।

हिजो अस्ति पर्खिदै, कल्पिदै कोरेको भोली कता पो हरायो ?
टाँसिएको छ छातीमा घडी; भित्ताको घडीले कति पो तर्सायो ?

चञ्चल तालको पानीले अचल हिमालको सम्झना थोपामै पस्कियो
धेरै सम्झनामा अड्किएछ; बग्नु पर्ने जीवनमा जमेर पत्थर बनियो ।

ट्वार-ट्वार गरी बस्ने कुवाँको भ्यागुतोले बिस्तारै आफ्ना बिलौना बिर्सियो
चराको एक गित फूलको एक लहर वासनामा आफ्नो अस्तित्व सुम्पियो ।

कुन मन्दिरमा जाने हो !

बाटा छन् अनेक
मान्छे छन् धेरै
यो मुटु कुन बाटो बिराई
कुन मान्छेलाई खोजिरहेछ कुन्नी ?

यात्रा सबै पैदल थकाउने
समय हिँडेर कहिल्यै नअघाउने
यो यात्री कुन घडी हेरी
कुन गन्तब्य तर्फ लम्किदै छ कुन्नी ?

कमाई कम ऋण धेरै
छानो कम्जोर वर्षात धेरै
यो निमुखाले कुन हिसाब गरी
एक हातले घर अर्को हातले साहुँ समालिरहेछ कुन्नी ?

छोटो भन्दा केही दुरी बढी
ठिक्क हुन हल्का अपुग
यो भोगाई कुन तारजुले नाँपी
मिल्दो जुल्दो बुझ्न बुझाउन सकिन्छ कुन्नी ?

थुप्रो प्रश्न छन् गोजी-गोजीमा
फटाहा-सन्त सब छन् आ‍-आफ्नै खोजीमा
यो दौडधुपमा कुन छाता ओढी
एक पुजारी सडक पेटीमा दैब बेचिरहेछ कुन्नी ?

हकिकत

शब्द- शब्द खोजेर
ओढेको अस्तित्वको खोल
मौनताको अङ्गालोमा मैलो भयो ।

प्रेम पत्र पुगेनछ क्यारे उनको हातमा
लेखक सुरुमा लेख्दा बहकियो
पाठकको बेवास्थाले मन झन् बहकायो ।

मदन नहुनु भन्छे मुना
बजारका चोक-चोकका पसलमा
मिथ्य पात्रहरूको ओहिरो भेटियो ।

सत्य सत्य भन्दा भन्दै
अन्धो भए सयौँ ऋषीहरू
यता बुढा बाको लठ्ठीले यथार्थ स्विकार्यो ।

बतास आएझैँ परलोकको एक हँगाबाट
बटुलेर फुलेको थियो कलपनामा एक प्रितिको फूल
हाँस्दा आफ्नै हकिकतमा आँधाउधी जिन्दगी बुझियो ।

हिँउ

हिँउ चुमिरहेथ्यो धर्ती
दुरी जत्तिकै आकाश धर्तीको
त्यतिनै परको एक घाउँ पनि
घरी-घरी दुखिरहेथ्यो ।

निद पलाइरहेको थियो
आँखाको खोपीमा
सम्झना बास बसिरहेथे
शिरको टुप्पीमा ।

हिमकणहरू टेकिरहेथे पाइला
धर्ती ओडिरहेथ्यो नरम कम्मल
सान्त-सुस्त-हलुका हुँदैँ
रात कटिरहेथ्यो ।

पुर्पुरोमा दुई औला

पुर्पुरोमा औला डुलाएर भाग्य सराप्नु कि लेख्न तम्सिनु ?
हुन त खास्सै पिर लिनै पर्ने पनि केहि विशेष छैन
त्यसै कहिलेकाहीँ आँखा भने रसाउने गर्छन् ।

डोकोमा घाँसको एक बिटो जस्तै
बोकिए केही सम्झना र सपना आफ्नै मस्तिष्कमा
तिनैको साहारामा एक किलो एक दाम्लो जन्मिन्छन् ।

यस्ता पनि छन् केहि सम्झना जो वशन्त जस्तै सुगन्ध छर्छन्
अनि केहि अनुभब चट्टान धक्लन तत्पर सिसिफसका जस्ता छन्
भोगाइ घुम्दा हुन् र त भुगोल जस्तै जीवनका मौसम बद्लिन्छन् ।

बिहान बिहान सबेरै सूर्य उँदाएको वर्षौ भैसक्यो
समयमै नअस्ताएको एक दिन पनि यादमा छैन
बच्पनदेखि बद्लेको यहीँ छ–रुवाईको स्वर हरायो आँशु अझैँ वर्षिन्छन् ।

भाग्यबस एक युवतीको हातमा परिहालेछ भने पनि यो कविता
बिचरो कविता के देखाउँदो हो पुरानो प्रियसीको नयाँ नगर
यथार्थले चड्कन लाउँदा बिचरा हरफहरू आँफै तर्सिन्छन् ।

देउता

मन्दिरमा पुजिने देउता पनि ढुंगा कै
प्यासीको प्यास मेट्ने धारा पनि ढुंगा कै
उनी भने ठुस्केर हिडिन‍् यो मुटुलाई ढुंगाको दोष दिएर ।

गल्ली गल्लीमा हाम्रा प्यारा देउतादेखी नाराज
ठिटा-ठिटी बुढा-बुढी हातमा ढुंगै बोकेर हिडिरहेछन्
नयाँ नयाँ मन्दिर ठड्याउन नयै देउता जन्माउन ।

तिमी किन तर्किन्छौ त्यसै प्रियतम देउता नभेटिदैमा
हतार तिमीलाई केस्को छ कुन्नी उज्यालो बल्ल भयो
खोजी जारि राखेको भए ढुंगा भित्र मान्छे भेट्न के बेर ?

हुन त समय बितेको खासै हेक्का नहुने नै रहेछ
दोष लाउन तम्सिने औलाहरूको हड्डी जाँच्ने बेला आएछ
खैर, तिमीलाई भनि हालौ, यो ढुंगे मुटुमा मायाको मुहान लुकेको छ ।

तप्किरहेछन् आँखा कविता र तस्बिरहरूमा
चुप लाग् भन्छु समुन्द्र भेटाउँछु भन्ने खहरेलाई
दाग लागेको छ मनमा यो भेलले एक-दुई पटक धोइदिए कसो नमेटिएला ?

Notes from Underground

All my dreams have died–
A death of strayed dogs–
Unattended, Under-nourished.

They have died thousand deaths indeed–
Neither did I console them at their final moments–
How cruel, insolent, and evil, you may think.

Think, please do, be my uninvited guest–
I thought of how I inherited them plenty–
Never did I find an answer singular and straight.

A man in moments? A moment of a man? A man of a moment?
What am I, eh? A gift, a cause or just another uncalled accident?
Despite confusions, I’ve got funny ideas. Can I laugh at a funeral?

भग्वाण रुन्छन ऐनामा हेरेर

अर्को गाउँमा भेट हौँला हामी भनी भग्वान पनि छुट्टिए
मै बाँठो कहाँ गल्ली डुल्दो हुँ म त सहरतिर सुइकिएँ ।

भोले त भग्वाण पो हुन्छन् मान्छे त चत्तुर हुनुपर्ने सल्लाहा लिएँ
यसरी आँफै भित्र हुर्केको भग्वाणको अनन्य रूपलाई पनि बिर्सिएँ ।

नास्तिक चोकमा आस्थाको दियो बाली भग्वाण खोज्नेहरू पनि भेट्टिए
भग्वान चिनेझैँ त गरे तर अंकमाल गर्दा त उनीहरू ढोंगी पो निस्किए ।

कयौँ मान्छेहरू हात-हातमा ढुँगा, फलाम, आगो, बन्दुक बोकेर तम्सिए
अरू कयौँ मान्छेहरू चाहिँ बुद्धीमा बुद्धलाई हत्गडीमा बाँधेर ध्यानमै बिलाए ।

मै नास्तिक अस्तितवको खाडलमा उब्जेको चेतनाबाट उनलाई ऐना किनिदिएँ
कठैबरा भग्वाण आफ्ना मुहारका डन्डिफ़ोर ऐनामा हेरेर घण्टौँ सम्म रोई बसे ।

एक कुवाँ

आफै भित्र कतै एक कुवाँ सङ्लिएको छ सायद
त्यहाँ छप्ल्याक्-छप्ल्याक गर्ने मान्छे मै हुँ सायद ।

कुवाँमा जाल थाप्ने माँझीहरू पनि कवाँमै कैद हुन्छन् सायद
हप्ताका दुई-चार बार यिनै माछा-माँझीहरू गफ्फिन्छन् सायद ।

ऐनामा एक माछा पौडेको देखिन्छ अनि भित्र अर्कै पौडिरहेछ सायद
बाहिर बाहिर एक शरिर कुवाँ र माछा दुबै बोकेर दौडिरहेछ सायद ।

के कविता लेख्दो हो कवि, बिम्बै बिम्बमा भाँसिएर माँसिने भो सायद
अर्थ दर्शाउन जन्मेको एक वाक्य हिलोमा लत्पत्तिएर निसासिने भो सायद ।

खैर, कठैबरा कवि यै टुकुचे कुवाँमा उदाएको सूर्य त लेख्दो हो सायद
जति कुवाँ छन् यहाँ त्यति नै भिन्न-भिन्न सूर्यको उदय देख्दो हो सायद ।

पर पर गगनमा

पर पर क्षितिजमा केही परीहरू लाली लाउदै छन्
चक्षु नै धम्लिने गरेर एक ठिटो बसेर सन्ध्याकालीन झ्यालमा
कस्दै छ डुबिरहेको जवानीका बुढ्यौली कम्मरहरू ।

पर पर डाँडाबाट फर्केर आउँदै छन् केही बथान पंक्षीहरू
पर्खाईको साँघुरो पर्खालमा अढेस लागेर निदाउन खोजिरहेको एक बुढो
सोच्दै छ चरीले त्यागी हिँडेको गुँड जलाउन जहाँ बस्ती बसाएका छन् माकुराहरू ।

वर वर आइरहेछ बतास ल्याएर रित्तो कोसेली कान‍-कानका जालीमा पस्किन
सुन्सान् क्षणमा शून्य वायू चिच्यारै सकिन्छ शून्यताको चाख्लो, चेप्टो भूँडीमा
म सुन्दै छु आँफै सुनाउदैछु मनको कुनै कुनामा उब्जेका बिर्से-बिर्से लाग्ने आवाजहरू ।

A Coin Toss

A borken ankle,
A broken toe,
A broken arm–twice.

All these bones–
Summoning the devil in this body.

Poor heart, now is your time–
You should take a chance.

यसो गरूँ कि ?

आज कोरेर केही समाज-शास्त्रका चुलिँदा गन्थनहरू
यो गन्हाउने गल्लीका आदर्शको भारी थामेका भित्ताहरूमा
ठ्याप्प टाँसिदिऊँ कि क्याँ हो एक क्रान्तिको घोषणा पत्र ?

हैन, कि बरु घुँढा टेकेर, छाती पोखेर उनको न्यानो काँखमा
एकबारको एक्लिदो एक खोला हुँइकिएर अर्को दोभानमा
रोपी दिऊँ कि क्याँ हो एक प्रतिको फूलबारी ?

आज उठेर ओच्छ्यानबाट सबेरै घामलाई निम्ताउन
यो अँध्यारो कोठाको अपरिचित कुना कन्दराहरूमा
धपाइ दिऊँकी क्याँ हो हर बिहान मन लठ्ठयाउने एक मञ्जरी ?

होस्, बरु टुँकी बालिदिएर अन्धकारका कणहरूलाई
सपनामा एक बिरामी ढाँडलाई ब्यूँझाएर राती‍-राती
खुवाई पो दिऊँ की क्या यथार्थमा मुछिएको एक तितो-सत्य औषधी ?

“खोजेको तिम्ले कल्लाई हो ?”

मैले खोजेको कसलाई हो ?
मैले खोजेको माया कस्तो हो ?
कस्तो हो भरोसा, साथ, र चिन्तन ?

मलाई ठ्याक्क अट्ने भोटो कुन हो थाहा छ मलाई
के मैले केबल यहीँ भोटो
मैले भने जसो गरी ओढाइदिने मान्छे खोजेको हो ?

अनि मलाई खोज्ने चाहीँ को हुन्, कस्ती छिन् ?
मेरो अस्तित्वमा उन्ले आफ्नो लागि के खोजिरहेछिन् ?

हामी खोजिरहेछौँ एक अर्कालाई कि आँफू जस्तै अर्को–
कि खोजिरहेछौँ हामी बिर्सन वा बिसाउन आफैलाई ?

चिन्तनको यो घडीमा यो पनि सोधी हालौ क्यार–
के खोज्न जरुरी छ ? के भेटाउन, भेट्टिन जरुरी छ ?
के यो क्षण पारीको अर्को क्षण भब्य छ ?
के अँगालोका मान्छे भन्दा क्षितिज पारीका मान्छे पुज्य छन् ?

आँखा आँखाम आँशु

न बिजेको थियो काँडा पाउँमा
न घोचेको थियो कसैलाई शरीरमा
तर आँशु यसै बर्सिन भ्याए ।

बिगतको नजानिदो घोचाई पनि होइन
बर्तमानको यथार्थले पनि पोलेको होइन
तर आँशु कुन्नी कुन बाटो हुँदै आइपुगे ।

न भेटाउन हिड्या थिए झिस्मिसे भविष्य
न खोज्न नै तल्लिन थिए भब्य गन्तब्य
तर आँशुले जरुर मुहान छोडेका थिए ।

न औला लम्किए मेटाउन उनीहरूका मार्गहरू
न उनीहरूले बास बस्न नै खोजे मुहारका बस्तीमा
तर आँशुले मस्त निदाएको अनुहार भने ब्यूँझाए ।

न टुंगियो आँशु कि आँखा जेठो भन्ने विवाद
न आँखा आफ्नो हार स्वाकारी नै रोएको हो
तर आँशुले अन्धोहरूलाई पनि संसारको चस्मा लगाइदिए ।

अर्को एउटा देशमा

बादल पारी अर्को एउटा देशमा
लडीबुच‍डी खेल्दै चौरमा,
चराहरूलाई लय संगित सिकाउदै,
घरबार बिहिन् टुहुरा फूलहरूलाई
आफ्नो केशको स्वर्गमा बासको कृपा दिदै
तिमी गुजारी रहेकी हौली अर्को सामान्य दिन ।

हाँगा त्यागेका तपस्वी पातहरूलाई सुमार्ग दर्शाउँदै
गन्तब्य बिर्सेका पथहरूलाई आफ्ना पाइलाको आशिर्बाद दिदै
एक प्रेमिल नजर कुरिरहेको ब्रह्माण्डलाई आफ्ना गाँजलु नयन पस्किदै
तिमी गुजारी रहेकी हौली अर्को सामान्य दिन ।

हिमालको टुप्पो पल्लो पट्टीको डाँडामा तिम्रो घर होला
जहाँ घरका भित्ताहरूमा मायाका रँगहरूले लाली पोतिदिदै
अगेनोमा भोजनहरू आफ्नो स्वासको मिठासतामा पकाउँदै
तिमी गुजारी रहेकी हौली अर्को सामान्य दिन ।

कुनै एक सोक ग्रस्त समाज-समयको हिसाब गर्दै
निश्चल मनका भावनाहरूले चिठ्ठीमा सिठ्ठी बजाउँदै
दिलको कुरा दिलै खोली पढ्न बिन्ती बिसाउँदै
एक ठिटो पुन: पुकारिहेको होला बादल पारीकी एक परी ।

सियो-धागो

आँखा खुब चञ्चले बाबै–
फूल देख्छन् अनि मन बहकाउछन्
एक सुन्दरीको निवासको बाटो पैल्याउछन्
जब घामले घुँडा टेक्ने सुरसार गर्छ
आँखा फर्केर आफ्नै झुपडीमा मुहान भेटाउछन् ।

दोकाने आमैले हाँस्दै बेचेको कलम–
घरी-घरी पानाको अंगालोमा रुने गर्छ
खोट्टा भाँचिएको छ एक लेखको
बिचरा लठ्ठीले घोर सास्ती खप्नु पर्छ ।

दिलको दिमाग कि त दिमागको दिल हुँदैन गाँठे ?
हर दिन एक दिल एक दिमागसँग सिंघौरी खेल्छ
दिमागले दिलमा यस्तो सियो चलाउँछ
आँफै उम्कन नसक्ने गरी आफ्नै गाँठोमा फस्छ ।

ओहोरदोहोर

खाली-सन्नाटा-फाँट
बगैँचा भनी नठान एक मरुभूमीलाई ।

चिप्लो-हिलाम्मे-बाटो
बर्खा भनी नसम्झ एक झरीला‌ई ।

भ्वांङ-रित्तो-खोपी
खाल्डो भनी नठान एक कुवाँलाई ।

टन्न-भाग्य-खल्ती
सम्पत्ती भनी नसम्झ एक जुवाँलाई ।

चट्ट-वाक्य-सन्देश
बुद्द भनी नठान एक कविलाई ।

आवत-जावत-यात्रा
सवारी मात्र नसम्झ एक जिन्दगीलाई ।

एक दुईवटा बोटहरू

लाली ओंठ, गाँजलु नयन, फराकिलो निधार वाली
रातो साँडी, लाल दुप्ट्टा, सेतो गुँरास शिरमा सप्केर
मस्किदै हिड्ने गर्छन् साँझ बिहान सोभा बढाउँदै
भोकमरीको अंगालोमा बाँधिएको शोक-ग्रस्त गल्लीको ।

झोत्रा लुगाफाटाले ज्यान ढाकेर टन्टलापुर गर्मीमा
बेरोजगारी हातमा फूट्बललाई नचाइरहेको
एक मरनच्यासे ठिटो आफ्ना दुनियाँका दुई दिने खडेरी
तिम्रो वशन्तको आगमनमा चटक्कै बिर्सन तम्तयार हुन्छ ।

यो गल्ली पनि श्रापमै बाँचिरहेछ क्यार
तिमी कुन राजदरबारकी महारानी हौ कुन्नी ?
तिमी हिड्छ्यौ वेवास्ता गरेर यो गल्लीको धुलो–
तिम्रा खातिर बिच्छ्याइएका मुटुहरू दिनहुँ कुल्चिइन्छन् ।

भोको पेटमा पालेको एक नेता चाँदीको लठ्ठी टेक्दै गाँउ फर्केछ
हाटबजारबाट एक थान गफ उपहार ल्याई सोझालाई झुक्याएछ
यिनी हरफहरू नेताका गफ जस्तै हल्का-सस्ता ठान्दिहो एक निठुरी
जो अस्तितवको कुवाँ नुचोडेर उब्जेको दुई थोपा मसिले कोरेका हुन् ।

भैगयो त नि तिमी-हामी भन्दा केही कोष पर अर्को बस्ती पनि छ
त्यो बस्तीमा पनि ‍‍नाप-जोखको हिसाबको नजरमा धेर-थोर यस्तै छ
एक आमा, एक लोग्ने, एक बहिनी शिर नियूराउँदै, ठड्याउँदै हेरिरहेछन्
अरूले आफ्नो जीवनको बारीबाट उखेलेर लगेको एक दुईवटा बोटहरू ।

घर फर्किदै गरेका पैतला

फलानोलाई उस्का दन्ते लहरको डाँहा भए
सम्झाउनु कसैले उस्को कुनाको दाँत बारे ।

कसैलाई भब्य महलका आठौँ तलाको घमण्ड पलाए
सम्झाइदिनु उस्लाई पर्खिरहेको आर्यघाट बारे ।

सपनाको सिस्नो पानीमा एक युबक बैरागमा डुबे
सुनाउनु उस्का जस्तै लाख-हजार हकिकत बारे ।

तिम्रो नाममा ताली पिटिदा संसारले तिम्रो पुरा कथा बिर्सिए
बताइदिनु कुनै रात तिम्रो ठाडो शिर ननिदाउने ओछ्यान बारे ।

घर छोडेर खजनाको खोजीमा निस्केका कोही यात्रुहरू भेटे
सुनाउनु गन्तब्य लत्याएर घर फर्किदै गरेका तिम्रा पैतला बारे ।

कुन्नी

दु:ख अरू कसैको बुझेर एक‍-दुई झरी रुझुँ कि नरुझुँ कुन्नी
कोहि अभागी एकै हातले आँशु र पसिना दुबै पुछ्दै छ कि कतै ?

आँशुको मुल्य आँखै पिच्छे फरक हुँदो हो सायद
पानीको आकार भाँडै पिच्छे फरक भए जस्तै ।

एक जोडा भाँडाकुँडीलाई अपेक्षित भुँडीको झ्याँलबाट हेर्दै होला कोही
भर्खरै वेटरले सर्भ गरिदिएका टेबलका परिकार पेटमा कसरी अटाऊँ कुन्नी ?

अरू बारे सोच्ने फुर्सद् कहाँ मिल्दो हो सहरको ब्यस्त कैदीलाई
पक्कै आफ्नो निथ्रुक्क भिजेको रुमाल निचोड्दै होल अन्त कतै ।

भोग्दै आफ्ना आँगनमा जन्मेका पैतालाका केही अँजुली डामहरू
कोही बाढ्दै होला निरन्तर मलमहरू भोका बस्तीका पिढीमा कतै ।

सिकार र सिकारी

दिलमा ज्वरो जस्तो केही बिमार पलाएको छ
न डाँक्टर न औषधी न कुनै सान्तवना खोजेको हो
तिर चलाएर गइन् जो दिललाई उहीँ चाहिएको छ ।

दिन सक्किदा मैनबत्ति सक्किएझैँ पुन: अँध्यारोमा
पर्खाइमा टोलाएका आँखाको प्रकाश नसकिने रहेछ
निद चोरेर गइन जो नयनलाई उहीँ चाहिएको छ ।

एक बच्चा अर्को बच्चाको खेलौना पाउन ढिँपी कसे जस्तो
अथक जिद्धी गर्न पल्केको छ दिल उस्लाई पाउनको निम्त्त
आफ्नै मर्जीले छोडेर गइन् जो धड्कनलाई उहीँ चाहिएको छ ।

सबै बगैँचामा फूल फूल्दैनन् ए मित्र भनी सम्झाउनु सम्झाइन्छ
फूल ओइलाएको बोटका काँडा अँगालोमा सजाउन तम्सिन्छ ऊ
जो फूलले बसाइ सरेर गैसक्यो अभागीलाई उहीँ चाहिएको छ ।

धेरथोर मदन-मज्नुहरूले आफ्नो ज्यान जवानीको ख्याल राखे पनि हुनी
फूलको कविता लेख्न माटो मूनि कुहिएको बिउँलाई पनि माया गर्नुपर्ने
गनहाउँदै गर्दा आँफू मगमगाउने छ जो लाल्चीलाई उहीँ चाहिएको छ ।

मध्यरात

मध्यरातको बाह्र बजेको छ–
घडीका तिन सुई–
बिगत, वर्तमान, र भविष्य–
सुतिरहेका छन् एकै क्षणमा ।

असम्भब, अनर्थ, विधवंश–
म सपनाबाट अतालिदै ब्यूँझिन्छु–
घडीमा मध्यरातको बाह्र बजेको छ–
तिन लडाकुहरू छुट्टाछुट्टै डाँडामा तैनाथ छन् ।

आहा

लेख्दा एउटा कविता राम्रो
उनका हातका चुरा, कानका झुमका, शिरको चुल्ठो राम्रो
कलकल बगिरहेको एक ब्राह्रैमासे नदी राम्रो ।

हड्डीहरू आफ्नै छालामा कुहिएरै जाने भए ता पनि राम्रा
राम्रा आफ्नै फुपू, गाईवस्तु निलेका भिर पाखाहरू
आमाबालाई तह लाउँछु भन्दै खुकुरी किन्न हिडेका सन्तान पनि राम्रा ।

समयसँगै चिसिएर जाने गलासको चिया मिठो
चराहरू वनमा दोहोरी खेलेको झन् कति मिठो
भोग्दा कोक्याउने अनुभबहरू यादमा साह्रै मिठा ।

हेर्दा सबैलाई उनैका निर्दोष स्थितिको खाल्डोमा राखेर मायालु नजरले
उनैका सुक्ष्म, बेहोसी, अकाट्य भाग्यको बन्धन र विवश्तामा राखेर
यहाँ रूवाउने हरू कस्ता राम्रा अनि रुने हरू त झनै राम्रा ।

सवारी

धेरै भाउ नबढाउँ कान्छी भन्छु, उनी माने पो
चोक-चोकमा गल्ली‍-गल्लीमा वस्तुको वास्तविक्ता नबुझेर
मूलय के अमूल्य के, तौल्य के अतौल्य के नबुझेरै
महंगा-चहकिला सम्पत्ति जोड्ने माड्सापहरूको ओइरो छ ।

बाटो हेरेर नपर्ख भनी सम्झाउँछु प्रेम वियोगमा परेका मित्रलाई
पुरानो घाउँको नाशो बोकेर निथ्रुक्क भिजेको मुटुलाई सम्हालेर
पुन: दिनचर्याहरू चलाउन भए पनि ऊ जरुर उठ्नुपर्छ
नफर्किनेहरूको अर्कै गाउँको अर्कै मुटु भेटाउने सवारी छ ।

भट्टि पसलहरूमा बुद्दको मुर्ति नराख भन्छु, साहुजी माने पो
मदिराले लट्ठ बोलीका शब्द-शब्दमा गोली बारुद पड्काएर
कसैको भावनका कलिला कोपिलाहरू कुल्चेर
रक्ताम्मे हत्केलाहरू बुद्दको पाउँमा पुछ्ने भक्तहरूको लस्कर छ ।

हाटबजार

नहुने कुराहरू पनि हुने गर्छन्
भैदिए हुने लाग्ने कुराहरू
कहिल्यै नभैदिन पनि सक्छन् ।
जिन्दगीको हाटबजारको किन-बेचमा
नाप-तौल नाफा-घाटा सधैँ नमिल्न पनि सक्छन् ।

यो जुनी तिम्रो प्रथाना बाहिरको उपहार हो
अब तिम्रो शरीरलाई सुँहाउदा लुगा-फाटा
तिमी आफै अन्दाज गर्न सिक्नु पर्छ ।
तिम्रा माशु बुढा हुन्छन्, आँखाले दृश्य धेरै देख्छन्
आँशु झर्ने बेला आउनु पुर्ब तिमी सम्हालिन सिक्नु पर्छ ।

भोली आउँदै होला

भोली आउँदै होला
कसैको डोली ल्याउँदै
वशन्त ल्याउँदै कसैको खडेरीमा
उकालीका ओराली ल्याउँदै ।

भोली यसरी पनि आउँदै होला
पर्खिएका केही मुहार नफर्काएरै
शिशिरको छातीमा वशन्त नजन्माएरै
हिजो आजका डामहरू नमेटाएरै ।

भोली भुलेर समयको मुठ्ठीमा
लड्दे, उठ्दै एक जडियाँ जसरी
पर्खी बसेको घरको दियो निसास्याउँदै
आउँदै होला बिस्तारै, अबेर घुँडा टेक्दै ।

बाँचा गरेर नयाँ ऐना नयाँ तस्बिर
दुर-दुर क्षितिजमा बाम्बे सर्दै
हात हल्लाउँदै बिदाई र बधाईका
भोली माँसिदै, छोटिदै आउँदै होला ।

यसरी बियूँझियौ तिमी मेरो मस्तिषकमा

व्यस्त सहरमा रहरहरू फुत्त-फुत्त भाँगिरहेथे आफ्नै गुँडबाट
जब कुनै सडक छेउको एकान्त कुनामा तिमी उदायौ शून्यबाट
भेटियौ पुरानो स्मृति जसरी जो भुलिएको होस् आफ्नै मस्तिषकमा ।

मुहार यस्तो कतै देखे-देखे कतै भेटे-भेटे जस्तो
चन्द्र मेरो शिर चढे जस्तै देब्रे छाती पसे जस्तै
तिमी उभियौ सहजै पहिलो पटक कयौँ पटक जस्तै ।

उस्को आवज कस्तो हुन सक्छ ? के उस्लाई बोलाउन उचित छ ?
के उस्को आवाज कहि कतै सधैँ सुनिने-बोलिने जस्तो छ ?
फेरि जूनलाई बोलाएर जूनका कुरा सुन्न पाएको कस्ले पो छ र ?

यो द्वविदा मेटाउन सायद कायरताको मुठ्ठी कसेर उस्लाई आँफै बोलाउनु पर्छ
फेरि कुनै जबाफ यस्ता हुन्छन् जस्को उत्तर दिन जटिल हैन असम्भब हुन्छ
के तिमी पहिल्यै भेटिएकी थियौ ? यस्तो प्रश्नको भविष्य के हुन्छ ?

प्रश्नको उत्तरमा ऊ जुरुक्क उठेर रिसाउँदै मोबाइलको फेदको गहिरो तपस्याबाट
नाक खुम्च्याउँदै सुस्केरा छाँड्दै टाउको कन्याउँदै टेबल नै छाँडेर हिडिँन भने
उसँग फेरी कुनै अर्को स्थान कुनै अर्को समयमा भेट्टिने मेसो मिल्ने टुंगो छैन ।

होस्, बोलाउदिन उस्लाई, सुन्दिन उस्को कोइली जस्तो स्वर, सोद्दा पनि सोद्दिन्न
के हामी पहिल्यै भेटिसक्यौँ ? के हामी फेरि भेटिने छौँ ?
एक दुई दर्जन प्रश्नको उत्तर नपाएरै अस्ताउनु पनि जिन्दगी एक लक्षण न हो ।

उस्लाई भन्दा बेसी सायद उस्को मुहारमा पोतिएको उदासीलाई पो चिनिएको हो कि ?
यदि पहिलेको भेट् र चिन्जान बिलाएको होस् यादबाट दुबैको फेरी नजन्मिने गरी
हुनसक्छ हामी फेरि भेटिन जुरुरी छैन हाटबजारहरूमा; कुनै घटना अद्वतीय रहेकै बेस ।

मरुभूमि

पर पर आँखाले भ्याउनजेलसम्म उजाड छ जमिन
जमिनदारहरू सबै धुँलो मुनि गाँजिई सके क्यार
जीवितले पनि खास्सै फूर्ति लाउने मिल्ने माटो कतै छैन
खस्छन् कहिले काहिँ एक-दुई दाना आँशु आफ्नै छातिबाट
अन्नको के अभिलाषा–झारपात समेत उम्रने छाँटकाँट छैन ।

कवि बिचारा

कवि नेता माथि कलम चलाउँछन्
कलम जो पऱ्यो के झुटो बोल्थ्यो ?
नेता कविलाई थुनामा पुऱ्याउँछन्
भाँच्छन् उनका कलम र औँलाहरू
ताली नबझाउने हात नेतालाई के खाँचो ?

उनी बोलिछिन् आफ्नो अधिकार बारे
उनको बोलीमा हिलो छ्याँपेर नेता पञ्छेछन्
उनी बोल्दै, चिच्याँउदै बहिरो समाजको आत्मामा
आफ्नो आशाको सारा उमेरमा दागबत्ती लाउँछिन् !
नेतालाई गलत ठहऱ्याउने सारा सत्यहरू प्रतिबन्धित रहेछन् ।

स्टेथोस्कोप

स्टेथोस्कोप छातीमा टाँसेर डाँक्टर
ज्यान ठिकठाक भएको दाबि गर्छन् ।

यथार्थमा रातभर आँखा चुहिन्छन्
धड्कनहरू सुँक्सुँक्क रोई बस्छन् ।

सिलिपिङ् ट्याबलेटको कुरा डाँक्टर बारम्बार गर्छन
यता दिल बेहोसीबाट नब्यूँझेको महिनौ भैसकेको छ ।

औषधी आजको रात पनि कुनै काम आउँला जस्तो छैन
जूनले पनि टुलुटुलु हेरी बस्न बाहेको केही जानेकै छैन ।

ये मेरा चाँद कुछ कहता क्यों नहीं?
ख़ामख़्वाह ख़ामोशी में चुपचाप डूबा रहता है क्यों?

क्या सोच रहा है? क्या भूल गया है?
दिल की हर बात छुपाना ज़रूरी है क्या?

च्याट

तिम्रो नाममा फेस्बुकमा एउटा टाट पल्टेको च्याट बाँकी छ
तिम्रो व्यवास्ताले कुँजिएको वार्तालापलाई कसरी उभ्याऊँ कुन्नी ?

कुराकानीमा खास्सै बिग्रे-झुक्केकै होस् भन्ने पनि त केहि छैन
तिमी हाँस्दा हाँस्दै रिसायौ सधैँका लागि भनी कसरी मानूँ कुन्नी ?

कुराको बिट् मार्न तिमीले केही ठेला-टुप्पाका कारणहरू जरुर भनेकी हौ
धेरै बयानहरूको सत्य एक-दुई कोस टाढा हुन्छ भन्ने कसरी नकार्नु कुन्नी ?

तिम्रा औलाहरू अरू कसैको तारिफमा फुर्र-फुर्र नाँच्दै होलान्
औलाहरू झुक्केर कहिल्यै हाम्रै च्याटमा नफर्केलान् भनी कसरी सोचूँ कुन्नी ?

यसो पनि होइन कि सबै खोलाहरू समुद्रमा नै मिस्सिनु पर्छ
तर तिम्रो भाग्य क्यौँ मुहानहरूको हातमा थमाई आँफू बग्न कसरी छोडूँ कुन्नी ?

बुझाइ

झिना मसिना मनमुटाबमा,
झैझँगडामा, भ्रमहरूमा, सफलतामा, असफलतामा,
आशा, निराशाहरूमा–
मन अलि कम दुख्न थालेको छ ।

आफ्नै औलाका टुप्पा-टुप्पामा उम्रेका
नङ्ग्राहरू पनि बिस्तारै खिइदै छन् ।
शिरले आजभोली शरीर भन्दा टाढा
हेर्न, बुझ्न पनि सिकेको छ ।

एक दुई दर्जन दुखाईहरू
ज्यानमा थपिएका पक्कै छन्
धेरै वर्ष पछि मुहारको दाग पनि
नितान्त आफ्नो अनि प्यारो लागेको छ ।
वर्षौ लगाएर आफूलाई
अलिकति बढि चिनिएको छ ।

भुलक्कड

थियो भुल्ने बानी कान्छीको
हिँड्दा बिरामी थिइन् उनी–
खाना, दबाई समयमै खाइनन् कि ?
सम्झेर मन भारी भएको छ ।

फर्किन्छु भनेर हिडेको पनि
धेरै भयो क्यार
भुल्ने बानी कान्छीको सारै नराम्रो
पत्रचार गर्ने, फर्केर आउने
ठेगना पनि भुलिन् जस्तो छ ।

भोलीको पर्सी आइसक्यो
भोली आउँछु भन्ने, अहँ, आएनन्
बाँचा गर्नेले बाँचा निभाउँदैनन्
दिलले पर्खाईमा हठ राखेको छ
दिलको पुच्छर सोझिएला जस्तो छैन ।

बुढेसकाल

आकांक्षा नयाँ जन्मेको छ
सूर्य डुब्ने जमर्को गर्दै छ
दिलमा केही रित्ता कोठाहरू छन्–
निम्तो टक्रयाऊँ भन्छु मञ्जरीहरूलाई‍‍‍–
तर दिल आँफैमा बुढो भैसकेको छ ।

जिन्दगीका हर्कत

कसैको नजरको कैदमा–
कसैको बेवास्तामा–
भुलेका भोली र सम्झेका नाली बेलीमा–
जिन्दगी यसरी पनि दुख्ला भनेर
मलाई थाहा थिएन ।

बेरिएर एक सर्पझैँ
घिस्रिदै आफ्नै मस्तिषकका बगरमा
गाँड्दै विषालु दाँत आफ्नै छालामा
जिन्दगीले काँचुली फेरदैन भनेर
मलाई थाहा थिएन ।

पढाई विद्यालयको सकिए पछि
घोकी पढेका ज्ञान दफ्नाएर
आफै रुवाउदै आँशु पनि आँफै पुछ्न लगाउँदै
कुरा आँफैसँग गरी शान्त आँफैसँग रहन सिकाउँदै
जिन्दगीले यसरी पनि पाठ पढाउँछ भनेर
मलाई थाहा थिएन ।

जूनलाई गुनासो

दिलको खबर सोधेर रातको अँध्यारोमा
कहाँ जान्छिन् उनी पत्तो नै नदिएर ?
केही नितान्त आफ्ना लाग्ने कहानी ढाकछोप गरेर
दुनियाँका केही कहानी बटुलेर रातको उधारो खातामा
केही न केही आफ्ना जस्तै हालखबर त जरुर बताइन्थ्यो ।

खैर, उनी फर्केर पुन: जब आइपुग्ने छिन् मेरो धोस्त छातीमा
रात ढलिसकेको हुनेछ, चन्द्र सूर्यको रापमा पग्लिसकेको हुनेछ ।
यदि चन्द्र नै बिलाई जाने जाबो एक मुहार हो भने
उनलाई भुलाई निन्द्राको जुगाँड गर्न असम्भब नहुनु पर्ने हो ।

भुईमान्छेका हैरानी

धुलोमा घुँडा टेकेर विवशताका दुई नजरले
भुईमान्छे लगातार हेरी बस्छ ठुलाबडाहरू
जसलाई सिर्फ आकाश छुनु छ ।

यो अग्लाहरूको दुनियाँ
भुईमान्छेको आँखामा
छारो बाहेक केही कोसेली नपस्किने रहेछ ।

टुहुरा बाटाहरू

यो बाटोले कुनै ठोस गन्तब्य पुऱ्याउने टुङ्गो छैन
एका बाँठो मार्गदर्शकका पाउँ साथैमा त छन्
जो निर्धक्क गन्तब्यको कुरा गर्छ भरोसा दिलाउँछ
उस्लाई यो यात्रा आफ्नो नभएर मात्र सरल लागेको हुनुपर्छ
नत्र आफ्नो कतै लत्रिरहेको यात्रा सम्झेर ऊ पनि आत्तिन्छ ।

भरिया दाइको कहानी पनि अजिब छ बा
बोकेर आञ्जानका भारीहरू भिरपाखाहरूमा
आफ्ना आँगनको गाँठो फुकाउन खोजिरहेछन् ।

कस्तो विचित्र लोक छ है साथी हो–
पत्थरले फूल बोकेको छ, समुन्द्रले बादल बोकेको छ
चुपचाप छातिमा एक दिलले कसैको याद बोकेको छ ।

सोधेर हेर्दा

कुनै थाकेको यात्रीलाई उस्को यात्राका बारेमा सोध्दा
उस्को थकान मेटिन पनि सक्छ ।

सोध्दा कसैको हाँसोका बादलहरू
उस्को सूर्य चम्किन पनि सक्छ ।

तिमीले जानेकै कुरा खोजेर हेर्दा अरूको जीवनमा
तिम्रो ज्ञानको सिमा भन्दा बाहिर नि भेट्टिन सक्छन् ।

श्रापमा मुछिएको माटो

लाग्छ यो माटोलाई श्राप लागेको छ–
देश-देशका दर्जनौ कुना कन्दराहरूमा
पेटहरू भोकले कोक्याइरहेछन् र
सासहरू सस्तिएका छन् कुनै सहरका ऐष्ट्रेहरूमा ।

एक बगाल छ जो अर्को बगालको घाँटी निमोठेर
आफ्नो पाखुरी बलको प्रदशनी गर्न मात्र जानेको छ ।
एक बच्चाको कमलो छातिको बहादुरीबाट
बा, आमा, र हात-पाउँको भेटी चढ्ने गर्छ ।

थाहा हुँदो हो त उस्लाई कि आफ्नो आकाशबाट बममात्र वर्षिन्छन् भनी
ऊ टेक्न पक्कै मान्दैन्थ्यो यो श्रापमा मुछिएको धर्ती ।
जान्दा यहाँ अन्त्यको सुरुवात र सुरुवातको अन्तय
खासै केही चिजमा मन हर्षले प्रफुल्ल हुने ठाउँ कहाँ छ र ?

कोठामा सजाउन खातिर एक चिज

आहाँ, ल्याम्पपोष्ट कस्तो सुन्दर–
बेडको छेवैमा टुसुक्क बसेर
रात भर जागराम बस्न तम्सिन्छ ।

पंखा छ अर्को पट्टी–
दिन रात नभनी
फन्को मारिरहन्छ जगतको ।

तिन-चार दर्जन किताबहरू
मस्तिषक कन्याउन उस्तै
रात दिन तल्लिन रहन्छन् ।

केही जोड नयाँ पुराना
कपडाहरू पनि सुहाउने नै छन् ।
कोठा भन्ने नै हो भने–
चित्त बुझ्दो शैलीमा सजिएको छ ।

बाँकी केही चिज छन् भेटाउन बाँकी
र सजाउन कोठाका भित्ताहरूमा ।
कयौँ हाट्बजार डुली सक्दा पनि
केही चिजहरू भेटाउन मुस्किल परेको छ ।

पानी मुनिको जमिन

समुन्द्र मुनि पनि जमिन छ
माटो मुनि पनि पानी छ ।

हाँसो भित्र कतै दु:ख सुस्ताएको छ
दुखाइको एक कुनामा दवाई पनि छ ।

सुर्जेको ज्वालामा बादलको जन्म लेखिएको छ
वर्षातका थोपाहरूमा घामको बाटो कोरिएको छ ।

सियोमा धागो र धागोको धर्कोमा सियो बाँधिएको छ
प्रश्न जहाँ भेट्टिन्छ उत्तर पनि त्यहीँ कहीँ लुकेको छ ।

प्रश्नोत्तरको सञ्जाल

दुई-चार मुठ्ठी सास, केही आसाहरूको कुम्लो
दुई-चार दिनको जाँडो, अन्तमा आगोको न्यानो
उत्तर यस्ता छन्
यस्ता उत्तर माथि कस्ता प्रश्न उठाउँछौ ?

तिम्रा जस्तै आँखा उस्का पनि छन्, एक समाज उस्को पनि त छ
पिठ्यूँमा अञ्जान भार होला, छातीमा गडेको तिर होला उस्को पनि
मान्छे यो सभ्यताका सब यस्तै हुन्
एउटा मान्छेलाई तिमी अपेक्षाको भारी कति बोकाउँछौ ?

पदार्थ ब्रम्हण्डका यिनै हुन्, अर्को जुनी पनि यस्तै हो
साँझ बिहान कयौँ बिलाए, जुनी पनि बिलाई जान्छ
परिक्षा यस प्रकारको छ
प्रश्नोत्तरको सिलसिलामा के याद छ के भुली सक्यौ ?

जून हेर्दै निदाएका आँखाहरू

जूनको प्रसंसामा प्रश्सत पाना भरिएका छन्
चिहानमा विश्राम गरिरहेका केही मुर्दाहरू छन्
वास्तबमा जून हेर्न फुर्सद भएक उनीहरू मात्र हुन् ।

ज्यूँदाहरू हातमा पुष्पको झुप्पो बोकी आउँछन्
चिहान माथि भेटि चढाउँछन् अनि आँशु खसाल्छन्
र हतार हतारमा निस्कि हाल्छन् मुर्दाहरूको अंगालोबाट
उनीहरूलाई जून हेर्न फुर्सद कहाँ छ र !

यि मुर्दाहरू न दिन न रात भनी धित नमारेरै
एक टक चियाइरहन्छन् आकाश च्यातेर आफ्नो छाती
पक्कै जीवनकालमा यिनीहरूलाई पनि
जून, तारा, बादल केही हेर्ने फुर्सद नजुरेको हुनु पर्छ ।

प्रमाण

एक-दुई वटा हाँसीरहेका तस्बीर छन्–
जिन्दगी हाँस्छ भन्ने प्रमाण तिनै हुन् ।

यादहरूले कहिले काही मुहारमा घाम बोलाउँछन्–
मायाको झरीमा रुझेको प्रमाण तिनै हुन् ।

धुवाँ नरहदा पनि घाँटमा आँखाहरू रसाउँछन्–
साथ कसैको अंगालेको प्रमाण तिनै हुन् ।

१‍-१ दिल

समुन्द्रको गहिराइमा जन्मेका उस्का आँखा छन्
जूनमा अपुग भनेकै उस्को चहकिलो मुस्कान हो
उस्को वर्णन् के गरूँ कसरी गरूँ कति पो गरूँ
शब्दहरू उस्को महिमा गुन्गुनाएर बुढा भैसके ।

खैर, ऊ पनि एक मान्छे न हो
टुटे-फुटेको दिल जोड्ने बुटी उसँग पनि पक्कै छैन
तिमीसँग नभए जस्तै–अनेकन जुक्तिका बावजुद् ।

सायद हुन सक्छ ऊ सँग एक टुटे-फुटेको दिल
जो तिम्रो घाइते दिलको सहयात्री बन्न सक्छ ।

हुनु नहुनु - फरक के ?

एक-दुई थान कुराहरूलाई ओल्टाई-पल्टाई
जिन्दगीको मान्द्रोमा केलाई बसेको धेरै भयो ।

केही प्रतिक्षित घटनाहरू छन्–
केही झट्टै गैदिए हुनी जस्ता–
केही छिट्टै आईदिएझैँ लाग्ने–
अनि केहि बाटै नपरे हुनीझैँ लाग्ने ।

कसरी सम्झाऊँ मासूम दिललाई ?
केही आउँदैमा, केही जाँदैमा–
केही हुँदैमा, केही नहुँदैमा–
एकै पटक सबै ठिक हुँदैन भनेर ।

पाउँका घाउँहरू पुरै निका भई नसक्दै
यात्रुले पाइला अघि बढाउन जान्दा राम्रो
आधा अधुरो गन्तब्यको नक्साको भरमा
कहुरोको काँगको हिम्मत जुटाउँदा राम्रो ।

ए, नाँदान दिल, उठ्ने बेला अहिले नै हो
नत्र बस्दा बस्दै, कुर्दा कुर्दै, सोच्दा सोच्दै
समय बितेर गैजान्छ, मुटु बुढो भैसक्छ ।

तिम्रो उज्यालो

तिम्रो उज्यालोको महत्व
के छ र यो अन्धो दुनियाँमा ?

तिम्रो चमक पहिचान गर्ने
आँखाहरू बिउझिएकै छैनन् जहाँ
त्यहाँ तिम्रो औचित्य नै के हुन्छ र ?

तिमी यस्तो सोच्दा हौ कुनै निरास क्षणहरूमा
तर दियोको अन्धकारमै जन्म भएजस्तो
अँध्यारोमै बल्ने नै तिम्रो गुण हुन सक्छ
बलेर सक्किनु नै तिम्रो प्रप्ति हुन सक्छ ।

तिमी नबल्दा सम्म तिमी आँफै ब्यूतिने छैनौ
बले पछि तिमी कुनै कुनामा बञ्चित आँखाहरू
खोज्याउँदै निस्केर अन्धकारबाट सुस्त-सुस्त
खुलेर हेर्ने छन् दुनियाँका दु:ख, सु:ख, र संघर्षहरू ।

सोचका परिधीहरू

के सोच्छौ तिमी ?
अनि हुन चाहिँ के हुन्छ ?
जे हुन्छ त्यो कहेल्यै सोच्छौ तिमी ?

नसोचेको हुँदा के सोचिन्छ ?
सोचेकै भैजाँदा के बिर्सिइन्छ ?
अनि सोचाइ पर कति चिज हुन्छन् ?

के सोच्दै नसोचेको कुरा पनि हुन्छ ?
सोच्दा-सोच्दै यथार्थ साँघुरो भैजान्छ कि फराकिलो ?
कति अट्छ सोचमा: एक मुरी कि एक मानो ?

पहिचान

वस्तु, व्यक्ति, संस्थाको नाम हुन्छ वास्तविक्ताको कुनै परिचय हुँदैन
देहको नजरमा सम्पत्तिको हिसाब हुन्छ आत्माको त कुनै संचय हुँदैन ।

मान्छेको लेखा-जोखा-दस्तावेज हुन्छ मृत्युले केही प्रमाणपत्र खोज्दैन
नगरमा नगरीको घरजाम हुन्छ सरणार्थीले कही कतै सिमाना खोज्दैन ।

रहरका गोलेलीले चरा थला पार्छ बिचरो बचेरोको पेटले चारो भेट्दैन
फटाहाका गोलीले बाटाहरू रक्ताम्मै छन् एक शन्त हिड्ने मेसो भेट्दैन ।

चोकमा बसी बोलीमा बुद्दका वाणीहरू पड्काएर मान्छेले बुद्धत्व पाउँदैन
दोहोरिए ता पनि दिन, रात, हुरी धर्तीले पुन: उस्तै अस्तित्व पाउँदैन ।

जाँडो खेप्छ बर्कीले बाहिरको भित्री मौसम खप्न तयार कुनै वस्त्र पाइदैन
हजार सुनिए पनि कहानीहरू एक जीवनका सुक्षम भोगाई सर्वत्र पाइदैन ।

एक्लो

एक मान्छे खुब एक्लो हुन्छ–
उस्को सक्कल, उस्का बा-आमा
उस्का मसिना रहर-बाध्यतामा पलाएका टुँसाहरू
उस्को हाँसोमा झुल्किने दन्ते लहर–
टुक्र-टुक्रा उस्का जस्तै खोज्दा संसार भर
ऊ जस्तो अर्को कोही भेटिदैन–
एक मान्छे खुब एक्लो हुन्छ ।

मान्छे पनि के एक्लो हुन्छ र ?
बा-आमा र समाजको बुई चढेको छ
सबै त्यागेर एक्लिन्छु भन्दा पनि
अघि अघि त्यो यात्रामा ठुलै हुल हुन्छ ।
यस्ता सपना र यस्ता मान्छेको घुइँचो
कति आए कति अस्ताइ पनि सके
कसरी मान्नु कि यस्तो भिँडमा मान्छे एक्लो हुन्छ ?

मान्छे विशेष गरी भिड्मै त एक्लो हुन्छ
कहाँ कहिलेको पुराना सपनाको भारी बोकेर
एक मान्छे न आफूलाई न अरूलाई बुझेर
एक सस्तो छरितो हाँसोले गुजारा चलाउँदै
आफ्नो घाँटीमा अड्केका केही टुक्राहरू
न ओकल्न न निल्न सकी भिड्को बिचमै
एक मान्छे खुब एक्लो हुन्छ ।

समुन्द्रमा के एक नदी एक्लो हुँदैन ?
समुन्द्रमा नदी कसरी एक्लो हुँन्छ ?

मुटु मासे उनीहरूले माटोको निमित्त

एक पुष्पको मेरुदण्ड पक्डेर निस्किदैछे ऊ युद्ध भूमिमा
आफ्नो काँडेबारमा अल्झेको देशलाई न्याय दिलाउन ।

ए, साँची–
युद्ध काँतरले जन्माउँछन् कि बहादुरले जन्माउँछन् ?
अनि युद्धमा बिर मारिन्छन् कि बुद्धु मारिन्छन् ?

के सबै नेताको थोत्रो भाषणमा जस्तै
माटोले रगत माग्ने गरेको कुरा साँचो हो ?
अनि रक्त पोखरीका देबताहरू को-को हुन् ?

माटोले मान्छे जन्माएको हो कि मान्छेले माटो ?
अनि के मान्छे, पैसा, सिद्धान्त, क्रान्ति सबैको
गन्तब्य फगत माटोमै मिसिएर लोप भैजाने हो ?

गण्थन्

तारा खस्यो आकासबाट
आँसु झऱ्यो आँखाबाट
प्रेम फुत्कियो अंगालोबाट ।

न आकाश रित्तो भयो न आँखा
कस्तो कठोर भाग्य ल्याएछ कुन्नी
अंगालोमा प्रेम पलाउने सुरसार देखिएन ।

कहिलेकाही

कहिलेकाहीँ कुरी बस्नु पर्ने हुन्छ–
जाने हरूको बाटो
हात हल्लाउदै
मुटु कमाउदै
खुट्टा भुईमा गाड्दै
कहिलेकाहीँ एक टक उँभिरहनु पर्ने हुन्छ–
जानेहरूका पाइला गन्दै–

परेली पुन: नउघ्रिने गरेर आँखाहरू थाकिसक्दा सम्म
खुट्टा पुन: जिउँलाई सिढी चढाउन नसक्ने हुँदा सम्म
मुटु पुन: छातिभित्र डुबुल्की मार्ने समर्थ नरहदा सम्म
कहिलेकाही पर्खिरहनु, छुट्टिरहनु, लडीरहनु नै
एक जिन्दगी उद्देश्य हुन जान्छ ।

ओखती

कविताहरू हाँसिरहन्छन
पुस्तकालयमा मध्यरातभरि
पुस्तकहरूको ढाँडमा लड्बडाउँदै ।

घरी टाउको कन्याउँदै त घरी ढाँड मुसार्दै
एक कवि रातले डाँडा काटिरहदा
पाना भरि छताछुल्ल आँशु पोखिरहन्छ ।

कविको छातिमा टेकेर ताण्डब नाच्नु नै
सायद कविताको मार्ग हुन पर्छ
अनि कविताको साहारामा दिन-रात कटाउनु
एक दिल एक दिमागको औषधी हुनु पर्छ ।

फेरी फेरी

आधाउँधी जिन्दगी कटाउँदा सम्म पनि
यस्तो मजबुरी परेको छ उस्लाई
सोध्दा आफ्नै नाबालकले भन्नु परेको छ
उस्ले जिन्दगी अझै बुझिसकेको छैन ।

आमा रोएता पनि आँसुहरू बारम्बार
उनीसँग कुनै ठोस प्रमाण जुटिसकेको छैन
न्याय-अन्याय बुझाउन आफ्नै छोरीलाई ।

आमा-बा बुढेसकालमा थाकेर आफ्नै मैदानमा
टुलु-टुलु हेरेर बसिरहेछन् विवशताको झ्याँलबाट
आफ्ना जस्तै दु:खहरूमा होमिरहेका सन्तानहरू ।

प्रकाश

एक बुढो लठ्ठीको खुट्टो टेकेर
संसार घुम्न निस्के जस्तो
लख्तरान एक मस्तिषक खोच्याइरहन्छ
बेरिएर आफ्नै भोगाइ र बुझाइमा‍‍–
एक किताबमा–
किताबको एक पानामा–
पानाको सिर्फ एक हरफमा–
एकै हरफको एक अक्षरमा–
एक अक्षरको एक घुम्तीमा ।

बुढा पुगेर मास्तिरको एक भञ्ज्याङ्मा
आफ्नै गोडाको दुखाइको चक्र लाएझैँ
मस्तिषक घरिघरि भेटिरहन्छ आफ्नै छायाँ
शब्द, दृश्य, ध्वनीका प्रकाशहरूमा ।

परिधि

के सोचेर मैले उस्लाई माया गरे होला ?
के मलाई मेरो एक रत्ति वास्ता थिएन ?
जरा गाड्दा एक फूलले माटोको भरमा
माटोमा साहारा नभेट्दा फूल मुर्झिन्छ भन्ने
के मलाई हेक्का समेत थिएन त्यो बेला ?

खै, कहाँ छिन् उनी आज !
फूल फुलाउन मौसमको कसरत चालिरहको छ
झरी परिरहेछ, आकाशमा जुन-तारा नतमस्तक छन्
यस्तै रात हुनु पर्छ पक्कै पनि त्यो रात
जब केही नसोची उस्लाई माया गर्ने आँट ममा पलायो ।

यादबाट चन्द्र

दिन सुरु भैसक्यो
यादबाट चन्द्र अझैँ निस्कि सकेको छैन

यसरी दिनहुँ आइरहे उस्का याद
आए जसरी सूर्यका किरण हर बिहान ।

मन नाम मात्रैको छ
मनमा म कतै छैन ।

समयसँगै मन पनि बद्लिएला भन्ने आशमा
समयले धेरै हिमाल समेत सागर बनाइसक्यो ।

तस्बिर

पानामा उतार्न प्रयत्नरत छु म एक मनको तस्बिर
ब्यूँझाएर केही लक्ष्यहरू र केही लक्ष्णहरू
सृंगार बिना नै प्रस्टै कोरिदिनेछु म एक तक्दिर ।

रित्तो यो पानामा उतारिदै छ मनको मसाँनघाट
भौतारिहेछ खरानी अंगालेर मस्तिषक चार कुना
स्वर्ग-नर्कको रणभूलमा बितेछन् हजारौ सूर्य चन्द्र ।

लाशका न नयन हुने न त कुनै दृश्यको सम्झना
कतै दुखे-हाँसेको हिसाब किताब गोप्य राख्न
बनेको भेटियो मनमा एउटा सुक्षम झ्यालखाना ।

यो लाश चुपचाप उभ्भेको केही घण्टा पनि बितिसक्यो
उस्को मनको फेदमा संयम रहेको कुहिरो झ्याँल उघारेर
वायूमा मिस्सिने तर्खर् गरिरहेको खबर आगोले ल्यायो ।

कास, ऊ बोल्न सक्दो हो त
बोलेर सत्य छोप्दो हो छातीमा
तर आज सत्य छोप्ने वस्त्र छैन ।

आज वायू उत्खनन् गरेर सत्यहरू उस्को छातीबाट
डुलाउनेछ यो धमिलो सहरका रंगिन गल्लीहरू
र पस्किनेछ स्वर्गको द्वारमा–
जो तिम्रा निदाइरहेका कानहरू हुन्–
यसरी तिमीले स्वर्ग कहिल्यै देख्दैनौ
अनि तिमी हौ त केवल एक मैदान–
जहाँ जन्म र मृत्यु लुकाछुपी खेलिरहन्छन् ।

खम्बा

जगतले कुन मजाक रच्यो आज फेरि उस्को शिरमा
भारी बोकिरहेको थियो जो हिजो सम्म
आज भारी भएर बिसाएको छ कसैको काँधमा–
बल् झुल्केको छ काँधमा रात ढलेको छ मलामीको मुहारमा ।

गाँडिएर एक ठाउँमा त्यहीँ ठाउँमा कुँजिएर
परिचय ठड्याई नमस्कार बटुली रह्यो एक बाँसले
छातीमा समय सकिदै आइरहेको थियो उस्को
अब कुन बस्तिमा पुग्ने हो ऊ बसाई सरेर ।

लाशमा बचेकुचेको केही जिन्दगी पनि भेटिन्छ
बारम्बार गल्लीको फन्को मारिरहने
केहि जिवित खम्बाहरू पनि छन्
जस्का पैतला मुनि कैद एक लाश पनि भेटिन्छ ।

सिकाइ

मैले भुल्न सिकिसके मनका अति प्यारा चिजहरू
टन्टलापुर घाममा म जूनको छायाँलाई बिर्सिन्छु
म सम्झन्न शिशिर याममा वशन्तका लाली ओठहरू
बर्खामा आँगनको फूलबारी पनि बग्नलाई छोड्दिन्छु ।

सत्य

सत्य लेखेर नसकिदो रहेछ
लेख्दा लेख्दै एक जाल बुनेर
कलम आँफै अल्झिदो रहेछ ।

माया जोखेर नपोखिने रहेछ
सम्हाल्दा सम्हाल्दै यस्सै फुत्किएर
एक दिल आँफै बहकिने रहेछ ।

अर्थ खोजेर नभेट्टिने रहेछ
ब्यर्थै ब्यर्थमा पुर्पुरो मुसारेर
भाग्य आखिरी सबै मेट्टिने रहेछ ।

फोटो

भित्ताको फोटोले
च्याँप्प समातेर राखेको छ
एक खुशी परिवार ।

नाँपीले भेट्टाउने
दुरी भन्दा धेरै पर
तारा मनाइरहेछन् तिहार ।

अनकन्टार रातमा आकाशको पेट मिचेर
गम्किरहेको छ जूनको मुहार ।

पाउँ सामु मात्रै हो
केही काँडा उम्रेको
घोचिहन्छन् जस्ले बारम्बार ।

समुन्द्र

कैयौँ सम्झनाका बाल्टीहरूले
आँखाको इनारबाट जल उतारिरहँदा
जिन्दगी धोइदै छ कि पग्लिदै छ कि रित्तिदै छ
म त्यो जाँन्दिनँ ।

दुर-दुर क्षितिजमा
दिन खोज्याउँदै छ
आकाशको नाँगो चौरमा
चन्द्र बामे सर्ने तर्खरमा छ ।

आँशुको वर्षामा
जिन्दगी भिज्दै छ कि हलुकिदै छ–
आँशुभेलमा बगिरहेका मान्छेको पहिचान–
त्यो मलाई केही पत्तो छैन ।

आकाशको बादल
आँशुको दाना
उ, त्यहीँ माथी-माथी
त्यहीँ तल-तल
भित्रै भित्र, कुनै कुना
जन्म-पुनर्जन्म लिइरहेछन् ।

आँखाको ‍ढिकको पहिरो कहिले खस्दछ–
सँगालिएर बसेको पिडाहरूको धमिलो बाँध
जिन्दगीको कच्ची प्वाँल पक्डेर कहिले फुत्किन्छ–
हो, म यि चिजमा पनि अज्ञात नै छु ।

हेर न हेर, समुन्द्र,
तिम्रो पछि-पछि
तिम्रो अघि-अघि
तिम्रो वर-पर चारैतिर
छाँलहरू छल्किरहेछन्, बाँफहरू उडीरहेछन् ।

कविताको उमेर

कवि बुढो भएको छ
बुढो रूखको आङबाट
छुटेझैँ पात र हाँगाहरू
अक्षर र लय हराउँदै छन्
कविको मानसपटलबाट ।

कविता पनि बुढो भैजाला
केही शताब्दीऔँ पछि
कुनै चिहान खोलेर कसैले
नरम हातले, मधुर स्वरले
जगाउनेछ कवितालाई चिर निन्द्राबाट
अनि पुन: भेटिनेछन् कवि र कविता ।

नयाँ दिन

आज नयाँ गित सुन्छु
एउटा नयाँ कविता पढ्छु
जान्छु एक नयाँ स्टोर
अनि एक जोडा नयाँ लुगा किन्छु ।

आज म बोलाउँछु त्यो दिन
जो पहिले आउन भ्याएको थिएन
र भोली दोहोरिने पनि मुम्किन् छैन ।

आज म खासै पुराना केही सम्झिन्न
अहँ, म बिर्सिन पनि कसरत गर्दिन
भोली फेरि म
हिजोसँग पुनर्मिलन हुने पक्का छ ।

बितेका कुरा न रहे मसँग सारा
बिती जाने कुरा न रहेछन् सारा ।

यात्रा

घरी दायाँ घरी बायाँ
गाडीको चारकुने झ्याँलबाट
छुट्टिरहेका भेट्टिरहेका केही दृश्य
टुलुटुलु हेर्दै
एक अञ्जान काका बसेका छन् मेरो सामु ।

उनको घर कहाँ होला–
उनी घर हिँडेका कि घर छोडेर–
के उनी विदेश हिँडेका–
के उनी विवाहित हुन्–
हुन् भने, काकी उनलाई कति माया गर्दिहुन्–
अनि काका काकीलाई मया गर्छन् कि गर्दैनन् ?

हे बरै, यो गाडी किन भिर खसेको खोला पसेको
के यिनी काका खोला हिँडेका हुन् ?
म त अन्त कतैको लागि भनेर पो निस्केको ।

अचेत

पिठ्यूँमा घाँस-दाउराका भारि
बादल भएझैँ बोक्ने मेरी आमा
उन्लाई कुन भारले थिच्यो
मलाई पत्तो भएन ।

ढिकमा उभिएर आँगनको
मेरो नामको गित गाई बोलाउने
उनको स्वर कुन मौसमले चिस्याँएछ
ठ्याक्कै अनुमान रहेन ।

टाढा-टाढा लम्किरहेका मेरा पैतला
कान टाँठो पारी हच्किरहन्छन् दोबाटोमा
घर बोलाउने उनको आवाज हराए पछि
घरको आँगनले मन थामेन ।

चार दिशामा डुल्दा मन, कान, र चक्षुहरू
भटाउँछन् केबल उनको उपस्थितीका खरानी
मैले बोलाउँदा नबोल्ने आमा कस्ती अटेरी
यादले अझैँ नेटो काटेन ।

निम्तो

हावाको झोका
सुवास ल्याएर आउँछ
छाला-छाला ठुंग्छ
अनि संगित सुनाउँछ ।

अंगालेर पुष्पको थुङ्गा
ताली बगैँचा भरि बजाउँछ
पुतलीको लहर नचाउँछ
मनमा हर्षको बहार ल्याउँछ ।

एक्लकाटे चार पर्खाल तोडी
पैतलाहरूलाई डुल्न बोलाउँछ
मौसमले कायापल्ट रचेका गल्लीहरू
अनि ब्रह्माण्डको कोखमा पुऱ्याउँछ ।

आल्मारीका यादहरू

जीर्ण अल्मारी भित्र
कतै थन्काइएको एक कुसुमे रुमाल जस्तै
ओझेल परेका छन् होला हाम्रा यादहरू
तिम्रा अनगिनत् यादहरूको बथानमा ।

यता यादहरूको ज्वालाले
मनमा खडेरी निम्त्याएको धेरै भो ।
ओल्ट्याइ-पल्ट्याइ गर्छु नयाँ पाइलाहरू
तर भग्नावशेष महलमा कस्को स्वार हुन्छ र !
यसै पनि दिलको राजमर्ग भत्केको धेरै भैग्यो ।

फेरि उन्लाई हाम्रा याद कहिल्यै आउनै नसक्ने पनि होइन–
सिम्सिमे वर्षामा घाम सुस्ताइरहेको एक साँझ
जब माटोमा जन्मिदै हुनेछ ताँजा सुगन्ध
जस्लाई सिर्सिरे हावाले बोकेर तिम्रो छातीमा टाँसिदिनेछ
तब हाम्रा स्मृतिहरूका मुहानहरू फुट्नेछन् तिम्रो धर्तीमा ।

चराहरू खेतका आली-आलीमा नाचिरहेका हुनेछन्
फूलहरू काँडाको भऱ्याङ चढी आकाश चुलिदै हुनेछन्
लटरम्म फलहरू बोटका ढाँडहरू नुघाइरहेका हुनेछन्
एक गोठ पर्खिरहेको हुनेछ चरणमा गएका बस्तुभाउहरू ।

झिस्मिसे साँझको अन्यौल्तासँगै जब
गुँडहरू सम्झेर चराहरू फर्केर आउँनेछन्
चुलोमा जब दाउराहरू प्राण त्याग्नेछन्
जुनकिरी जूनको साथमा जब डुल्नेछन्
तब तिम्रा मनका कुनामा हाम्रा यादहरू सल्बलाउनेछन् ।

भुलेर खोलाले हिमालको बाटो
भौतारिए जस्तै गगनै चारेर
हामी पनि कुन चौरमा अल्मलिरहेका छौँ कुन्नी
एक दिन जब घन्किने छ घाँटीको घण्टी
तब हामी जरूर खोज्ने छौँ घर फर्कने बाटो ।

अल्मारीको पुरानो एल्बममा कैद एक धमिलो तस्बिर जस्तै
पुरिएर ओझेलमा परेको छ आँफै भित्र घर फर्कने बाटो
जुन बाटोमा हामीले धेरै पहिले
केही हिम्मत जुटाएर कदम चालेका थियौँ ।

जब बा-आमाका शरीर थला पर्ने छन्
जब घरका भित्ता चाउरिएर नचिनिने भैजानेछन्
जब छिमेकीहरू पराई भैसकेका हुनेछन्
तब फर्किने बाटोले लतार्दै ल्याउने छ हामीलाई
त्यहीँ पिपल चौतारीमा
जहाँ कुनै दिन हात्ते मालो गरेर हामी हाँस्ने गर्थ्यौँ ।

थकान

दाँतले किटेका ठेला-टुप्पा भरी डाम
भित्ता भुँईमा बजारिएका केही लक्ष्ण
बेहोरिरहेको कलम ज्याद्रै लखतराण परेको छ
आज कविसँग कुरा गर्न जो पटक्कै मञ्जुर छैन ।

यस्तै बेला मसँग जिस्किन आइन् उनी
अलमलमा परेको छु केही बेर देखि
के साँचै जूनलाई दाग हो चाहिएको ?
कि सक्कल हेर्न एक हिले पोखरी ?

ब्रह्माण्डको एक निन्द्रा

अनकन्टार एक चकमन्न जंगलमा
रातले कम्मल ओढेर बसेको छ
भुईमा वृक्षले बिच्छ्याएका छन् ओच्छ्यान्
एक रूख कैद छ माटोमा जो
ढाँड सोज्याएर वतासको वेगमा
चन्द्र तिर पुलुक-पुलुक टहल्न पनि भएको छ ।

आकाशमा ताराको जन्ती जत्तिकै
छेवैको तालमा थोपाहरू छन्
जून ऐना हेर्छ त्यहीँ तलाउँमा ।
रूखहरू व्यर्थै निहुरिएको नहुनु पर्छ ।

वतासले ब्यूँझाएर सुतिरहेका पातपतिङ्गर
कतै मस्तिषकको ब्रह्माण्डमा लम्पसार
त्रासलाई जगाएर चेतानमा भुकम्प ल्याउँछ ।

वतास आवरणमा पनि केही जन्माउँदै छ
तलाउँमा केही तरङ्गहरू उठ्बस् गरिरहेछन्
गगनमा जून पनि डगमगाइरहेको हुनुपर्छ ।

बिरोध

यो क्षणको बिरोधमा केही पक्कै बोलिएको थियो
यो सोचको गर्दन थिच्ने उल्टो सोच पनि त थियो
जो भएन त्यो पनि बर्दान बिनानै हुन सक्ने थियो

अनेक सोच, योजना, र अवसर अनुसार
धेरै कुरा भएनन्
थुप्रै बाधा, अबरोह, र अड्चनहरू बावजूद
धेरै कुरा भए ।

सोचे-सोचे

जुग-जुग पहिले नै सोचे-सोचे लाग्ने एउटा सोच भिटियो
एक सोचमा लठ्ठी प्रहार गर्ने अर्को सोचको अठोट भेटियो ।

अन्तमा सिंगो ओखतीको आसमा धेरै चोटपटक सहियो
एक तिर टाल्दा छानो अर्को तिर चुहिँदा भरसक सहियो ।

बुझ्नु कसरी रोग हो कि ओखती हो जो पहिले पलायो
जिन्दगी चढ्दा जरा देखि हाँगासम्म सोच कहिले पलायो ?

पहिलो सोच कुन अन्तिम चाहिँ कुन हो भन्ने कस्ले टुङ्ग्यायो ?
गल्लीमा उत्तर बाड्दै हिँडेका दैबको पहिचान बहसले टुङ्ग्यायो ।

देखे-देखे लाग्ने धुलाम्मे तस्बिरमा एक मधुरो मुहार देखियो
आत्मा बिलाई गयो आखिरी कोखमै वायूमा आकार देखियो ।

थोपाको बाटो

कोही आएको थियो
एक साँझ
बास बस्नलाई
मेरो मनमा ।
एक बिहान
सबेरै ब्यूझेर
सुटुक्क निस्केछ ।

पैतलाका डोब सारा
घामले मासेछ
बाटोले धेरै पर
पुऱ्यायो होला उस्लाई ।

बाटो त मेरो दैलो सम्म
दिन-रात टुप्लुक्क आइरहन्छ
याद पनि अजम्बरी छन्
जो आइरहन्छन् घाम जून जसरी
नफर्कने गरी गएकाहरूका
झझल्को फर्किरहन्छन् ।

समुन्द्रको थोपामा
हिमालको केही स्मृति बाँकि रहेझैँ
उस्को दिलमा
बितेका पलहरूका केही किस्सा
पक्कै बगिरहेछन्
जो हर दिन ब्यूझिन्छन् र
उड्दै बादल सरि आइरहन्छन्
मलाई भेट्न
हिँडेर आकाश-धर्तीको बाटो ।

आकाशको बाटो

आइनन उनी
आएन निन्द्रा पनि
आजको यो रात
आइरहे यादहरू धेरै-धेरै
टाढा-टाढा बाट ।

जून पनि आएन
आएनन् तारा पनि
आकाशमा आजको रात
हिडिरहे बादलका ढिस्का
टाढा-टाढाको बाटो ।

A Sketch

a thought in a collective brain–
an atom in the cosmic sphere–
a day in the years of the universe–
just a sight for most–
a heart’s delight for few–
i know you, don’t i ?

a face, a name, an idea–
a metaphor, a narrative–
a comical tragedy indeed–
a beginning of the end–
a random play, a staged drama–
i know you, don’t i?

a drop in the ocean or from the sky–
a drop that might boil or freeze–
a leaf of the spring–
a leaf yet to find its hole in the ground–
or its wings to take a flight?
i know you, don’t i?

छिनोफानो

खास्सै सोचे जस्तो भएको केही छैन
घाम कति उदाए-अस्ताए हेक्कै छैन
हुनु पर्ने के हो भएको चाहिँ के हो
त्यस्को छिनोफानो गरी सकिएको छैन ।

हतारमा हुइकिएको छ जिन्दगी
केही पाउन, केही बचाउन, केही जोड्न
समयको वेग कसरी मिलाउने हो
त्यो नि थाहा छैन ।

तिब्र गतिमा चलिरहेको छ जिन्दगी
कतै पर-पर बाट सुस्त-सुस्त
रात्री बसको अन्तिम सिटमा बसेर
लेक बेसीका सुसेलीहरू सुन्दै गुन्गुनाउदै
आइरहेको हुनु पर्छ मेरो भाग्य ।

म सुतिरहेको बेला–
म बेहोसिएको बेला–
म हारिरहेको बेला–
म रुमल्लिरहेको बेला–
मेरो भाग्य कतै चल्मलाइरहेको हुनुपर्छ ।

खोलाका खेलाडी

खोलाले यसरी बग्न कहाँ सिक्यो होला ?
मुहानको काखबाट बाम्बे सर्दै टाढा-टाढा
खोला कुन गन्तब्यको खोजीमा निस्कियो होला ?

खोल्सा, भिर, पाँखा, बस्ती, बगर सबै छोडेर
पुन: छुटिएकै पहिचानहरू भेटाउदै जाँदा सेरोफरोमा
बहावले कति चिन्यो अनि कति बिर्स्यो होला ?

दिन-रात बगिरहेछ खोला
बगिरहेछ, बगिरहेछ
पाउँ सामु बगिरहेछ एक खोला
निधार‍-चक्षुमा बगिरहेछ अर्को खोला
अनि अर्कै खोला बगिरहेछ नसा-नसामा ।

बुद्द

बुद्ध सुस्ताइरहेछन् आफै भित्र
उनीलाई नबोलाएको, नसोधेको, नब्यूँझाएको धेरै भयो
झट्ट ब्यूँझिएर कतै टालटुल गरेको घाउ चिमोट्दै
सोधे भने बुद्दले–
ल भन त यो घाउ कुन घटनाको सन्तान हो ?–
या–
सुनाऊ त घाउलाई किन चिनो सरि जफत गरेको ?–
या–
के घाउको वरिपरि बेरिएर जिन्दगीलाई न्यानो पारेको ?

बुद्द सारै जाद्रा मान्छे–
कति सोधेको ? कति झस्काएको ?–
उनलाई सुत्न दिएकै जाति !

पर डाँडामा अर्का बुद्द बस्छन्
उनले केही नसोधी, नखोतली सुनिरहन्छन्
केही भन्न केही माग्न
त्यतै जाने चलन छ ।

उपहार

जिन्दगीको हिडाईमा एक दिन–धेरै दिन‍‍–
ठेस लाग्न सक्छ तिमीलाई ।
तिम्रो मनमा पिरतीको फूल फक्रीरहेको बेला
कोही कलिला थुँगा कुल्चिएर सुइकिन सक्छ ।

पत्थर‍‍–हो पत्थर‍‍–
तिम्रो माँसुले पत्थरको प्रहार खाप्नु पर्छ
तिम्रो मष्तिषकले पत्थरको नाम जप्नु पर्ने हुन सक्छ ।

तिम्रो घाउहरूको रक्तस्रावबाट
बुट्टा भरिएक केही चित्रहरू
आफैलाई दिइने उपहार भई जान सक्छन् ।

ठेगना

ऊ बिन्ती बिसाउन आएको छ–
उस्को नाम लगिदिनु पर्ने रे
धर्ती माथी आकाश पारि ।

उस्ले केही पाप गरेको छ अरे
पापको पश्चताप गर्न थालेको अस्ती नै हो रे
ऊ चाहान्छ कि भग्वाणलाई यो कुरा बेलैमा थाहा होस् भनी ।

ढिला सुस्तीको चापमा‍‍ गल्तीले ऊ नर्क पो जान पऱ्यो भने
उस्लाई लाग्छ कि सब बर्बाद हुन्छ–तिर्थयात्र खेर जान्छ–
अनि भग्वाण आफैले गल्तिको पाप बोक्नु पर्ने हुनेछ ।

ऊ मलाई यि सब कुरा किन सुनाउँदै छ कुन्नी
मेरो अन्तिम घडीमा
के ऊ–मेरो प्राण प्रिय साथी–मलाई एक रत्ति जान्दैन होला ?
म त राक्षस कहाँ पो जान लागेको ।

टिलपिल

भुलिए आफ्नै निष्कर्षहरू
कतै भेटिएर कतै छिट्टिएका
दर्जनौ मान्छे पनि सम्झनामा आउन छाँडे ।

किन सम्झिरहेको छु म
जो-जे यादमा अल्मल्लिरहेछन् अहिले ।
भरियाले भारि पक्डे जस्तो–
गितकारले धुन् समाते जस्तो–
लेखकले आत्मा खोतले जस्तो–
केही सोचहरूसँग अल्झेको छु म पनि ।

भुलिदा यति धेर घटनाहरू
समझनामा छन् केही–
सम्झेकै बिर्सिए भने
म कस्तो हुँदो हुँ ?

तारा छरप्रष्ट आकाश भरी
जून ठिङ्ङ उभ्भेको छ माँझमा
छन् तारा जूनहरूजस्तै
टिल्पिलाइरहेका अंशहरू जीवनमा ।

खै

खोजेर
गोजीमा, अल्मारीमा, झोलामा, बाकसमा
नभेट्टिने रहेछन् अखिर
केही चिजहरू
जो हराएका त छैनन्
तर नजानिदो ढंगमा
बद्लिएर नचिनिने भैसके ।

भन्-सुन्

सुन्छु: तिम्रो रुमाल नसुकेको धेरै भयो
दृश्य हराउँदा तिम्रो नयनको
टन्टलापुर घाममा पनि तिम्रो सोच अँध्यारो भयो ।

आऊ, के-केस्ले तिमीलाई सताइरहेका छन्
मलाई निर्धक्क दिल खोली बताऊ ।

भोली भूत जस्तो भएको हो तिम्रो ?
के त्यहीँ हो तिमीलाई तर्साउने ?
कि हिजो निसाना नछोडी अलपत्र भयो सपना जसरी ?
त्यो पो हो कि तिमीलाई झस्काउने ?

बताऊ तिमी आज आखिरीमा
तिम्रो मण्डलमा ग्रहण के-केस्ले ल्याएका छन्
कानलाई निन्द्राको बर्कोले छोपेर म सुनिदिउला
एक खोलीका सुसेलीहरू बगरले सुने जसरी ।

तिमी बताएरै छोड आजको रात
दु:ख सु:खको के भर बरा
भोली अर्कैको दैलोमा पाहुना बनेर पुग्छन् ।

आज तिमीले राम्ररी चिनेर बयान गरी बताऊ
पछि कसैले फेरी तिमीलाई तिमीले नचिन्ने गरी
बताउन आउनेछन् उस्का आगन्तुकहरू जो तिमी सुन्नु पर्नेछ ।

दैनिकी

आहा!, ओहो!, ओखो!, कठै!–
लु शुभकामना, लु बधाई, लु बर्बाद–
हो र ? हैन कि ? कसरी होला र ?–
भैहाल्छ, हुन्छ, भएरै छाड्छ–
हिजो, आज, भोलीका वाणीहरू ।

तथा आस्तु

लाग्छ यो कसैको स्मृतिमा कोरिएको एक पत्र हो–
अहँ, यस्तो पनि लाग्छ यो कसैको स्वीकारोक्ति हो–
यस्मा दुई-चार केही अनुत्तरित प्रश्नवाचक चिन्हहरू छन्–
कुनै वाक्यहरू प्रतिउत्तर नखोजी पूर्ण विराममा ढलेका छन् ।

यो गजल हो कि कविता ?
कि यो कथा हो ? कि एक निबन्ध ?
कि त यो हो झर्दै गरेको बर्खाको झरीको लहर–
कि हो सिस्नोका बोट ढाकेका काँडाको एक पंक्ति–
या हो असह्य बेदनामा जन्मेको चित्कारको शून्यता ?

फेरि यो पनि त हुन पायो कि पाना पुरै खाली भेटिएको होस्–
कुनै चित्रकारका डग्मगाइरहेका औलाहरूले इन्द्रेणीका रंग घोली–
तिम्रो मस्तिष्कमा सुस्त-सुस्त कोरिरहेको चित्र पो हो कि यो कतै–
जो तिमीले बारमबार देख्न भ्याइसक्यौ या एकबार पनि देखेकै छैनौ–
सायद तिम्रो बेवास्ताको कुनाबाट उम्कन तम्सिरहेको आफ्नै चिज हो यो ।

साहित्य ? सत्य ? मिथ्य ? आफ्नो ? बिरानो ?
प्रश्न ? उत्तर ? पाना ? मस्तिष्क ? इन्द्रेणी ?
के हुन् यि सब बक्वासहरू ?
यो पनि त हुन सक्छ–
यि केसैको उत्पत्तिको प्रारम्भ भएकै नहोस्–
वर-पर चारैतिर आफैभित्र नव चलायमान उब्जेको होस्–
हड्डी-हड्डी ठोक्किएर मसिनो सुस्केरा बल्ल गुञ्जिदै होस्–
तथास्तु ! तथास्तु !