समुन्द्रको गहिराइमा जन्मेका उस्का आँखा छन्
जून् पैँचो मागिरहन्छ उस्का दुई थुंगा मुस्कान
सदियो देखि हो कयौँ कलमहरू कुजिई बसेको
शब्दहरू उस्को महिमा गुन्गुनाउदै कम्मर कसेको ।
खैर, ऊ पनि एक मान्छे न हो
हारगुहार गर्नै पर्दो हो देव-दुनियाँको
टुटे-फुटेको दिल जोड्ने बुटी पक्कै पनि छैन उसँग
तिमीसँग नभए जस्तै––अनेकन जुक्तिका बावजुद् ।
सायद हुन सक्छ ऊ सँग पनि एक टुटे-फुटेको दिल
जो चक्षुमा पठाइरहन्छ जीवनका थोपाहरू रातै दिन
सोध्यौ भने उस्लाई तिमीले जीवनकै इसारा संगाली
एक जुनीलाई जून सम्म साथै लैजाने भेटौला दौतरी ।
मरूभूमीमा बालुवाका कण जति
अथक मुटुका धड्कन् जति
यि सोचहरूको गणन कति साथी ?
वायूको साहारामा आकाश टेक्न नसक्ने
सूर्यको अङ्गालोमा पग्लिन पनि नसक्ने
यो चारै दिशाको लखतरान कति साथी ?
मुटु चुपचाप चारैतिर रगत धाराप्रवाह बहाउने
नशामा ओखति राखी घाउ जचाउन पनि सक्ने
तिम्रो आफैसँगको आन्दोलन् चाहिँ कति साथी ?
गर्मी यामको मध्याह्नको चर्को घाममा
विश्राम सकी फर्किनै लाग्दा काममा
अचानक हुरी आएर दहिने कानमा
मधुर आवाजमा गुन्गुनायो तिम्रो नाम ।
तस्विर तिम्रो डुलीरह्यो मानसपटलमा
समय चुहिइरह्यो दिनको पिँजडाबाट
मधुरा सम्झना र सपनाको माँझमा
यात्रा छोटिई रह्यो आफ्नै हत्केलाबाट ।
कसैको मुहारको मुहानबाट फुत्त निस्केर
एक बचेरी निस्किएझैँ गुँडबाट पहिलो पल्ट
सजिन मेरा ओठमा आउँला हुइकेर
एक हाँसो कतै दुर-दुर बाट ।
बाँझा ओठमा एक-दुई दिन लाली चढ्लान्
फूल्लान् गुराँस गालाका भिरपाखा रंगाएर
कुनै मुलुकको कुनै कुनाबाट जाँगेर ओर्लेलान्
आँशुहरू अँजुली टेक्ने लक्ष्य लिएर ।
सिर्सिरे हावाको जहाँजमा उडेर वशन्त पनि आउँला
दुई पत्थरको भुँडीबाट जन्मेला एक कोमल पालुवा
रेटेर सारंगी वनको घाँटीमा कोइली सुर संगित भर्ला
बोझलाई चौतारीमा बिसाएर सुस्ताउला एक बटुवा ।
कोखबाट उहीँ जन्माएर हजार-लाख सन्तान
धर्ती बस्लिन् निहुरिई छालाको उमेर फाँटेर
छुरा रोपेर निर्दोष छातीमा चढ्लान् सिंहासन
छोरा-छोरीहरू जीवत्माका शिर-पाउ काटेर ।
न गोडा न त घुँडा दुखेको छ
न छाती न त हड्डी नै दुखेको छ
खुसी नै छन् हत्केला, नयन, र नाम पनि ।
कहिल्यै नफर्किने गरी हिडेकी उनका
बारम्बार आउने याद दुखेको छ
यहाँ अतित उस्तै दुखेको छ
भविष्य पनि सपनामा चिथोर्न आएकै हुन्छ ।
न त नेताको भूँडी दुखेको छ
हिराको हारमा सजिएको घाँटी दुख्ने कुरै भएन
हर्षोल्लासमा छन् बह्रैमास माड्सापका सन्ततीहरू ।
निमुखाको घरबार जरुर दुखेको छ
कतै घाम कतै असिना खेप्दा
आकाश धर्ती पनि दुखेको छ ।
आश्वासनको दाम्लोले जन्ता लतार्दा राजनीती
देशको यथार्थ त दिनहुँ चस्केको छ
खुशी बटुल्न गएको सन्तान आफै रित्तिएर आउँदा
आमाबाको काँधको बाँकस दुखेको छ ।
म भित्र एक देउता बस्छ
आफू विष पिएर जो
संसार बचाउन खोज्छ ।
म भित्र एक सैतान पनि बस्छ
आफू राज गर्न जो
अरूलाई कङ्गाल बनाउन खोज्छ ।
यसरी पहिले, कहिलेका देवता र राक्षस
‘म’लाई बनाउँछन्, आफू प्रकट् हुन्छन्
‘मै हुँ’ भन्ने ‘म’लाई
‘म’ नरहुन्जेल फन्फनी नचाउछन् ।
आज तिमी बिमारको हालत बुझ्न आउनु
नाप-तौलले सही गलत छुट्टयाउन आउनु ।
दबाइ व्यर्थ छ तिम्रो एक झल्को मुस्कान ल्याएर आउनु
घाइतेले घाउ खरिद्छ तिम्रो दु:खका दुकान ल्याएर आउनु ।
हर्ष विस्मातको यो कहानी आँशु बटुल्न रूमाल बोकेर आउनु
बेलाबखतको उदासी छल्न घर आँगनका सवाल बोकेर आउनु ।
पहिल्याउलान् बिमारको कारण तिमी घुम्टो ओढेर आउनु
निर्लज्ज दिल सपना बुन्ला फेरि तिमी चुल्ठो बाँधेर आउनु ।
आज तिमी बिमारको हालत बुझ्न आउनु
नाप-तौलले सही गलत छुट्टयाउन आउनु ।
उस्का आँखामा ताराहरु निदाउँछन् रे
गुराँसहरु उसैका ओठमा उम्रन्छन् रे ।
उस्का पाइलाले धर्तिमा गजल कोर्छ रे
चन्द्र पनि उसैको मुहारमा ऐना हेर्छ रे ।
यदि यो भन्ने सुन्नेबाट छुट्टी मिल्दो हो त
म उसँग प्रेम गर्दो हुँ ।
उस्को चुल्ठोबाट ताराहरु टिपेर
सगरतिरै फर्काउदो हुँ ।
रंग बिर्सेका फुलमालाहरूको हाड झिकेर
मसानघाँट तिरै मिल्काउदो हुँ ।
तर फुर्सद कहाँ छ र यहाँ?
तिमी — एक सोच,
म — अर्को सोच
सोचै-सोचमा लत्पत्तिएका हामी ।
काश फुर्सद हुँदो हो त
हामी नसोचेरै प्रेम गर्दा हौँ !
यो कोठाको
सामान नमिलाएको
धेरै भयो ।
त्यो मेचको मैनबत्तिले
बिहान नदेखेको
धेरै भयो ।
भित्तामा अड्केका मान्छेहरू
इन्द्रियले नभेटेको
धेरै भयो ।
सिरानी छेवैको डायरीमा
जीवन नबिसाएको
धेरै भयो ।
मन-मगज कोट्याइरहने
माकुरो नधपाएको
धेरै भयो ।
कहिँ कतै कम्पन आउँदा
केहि पुग-अपुग रहदा
शब्दहरु फिक्का पर्दा
त्यहाँ गाँसिन साथी आउन सक्छ ।
दृश्यको अन्धकारमा
ध्वनीको शून्यतामा
यात्राको उतारचढावमा
एक साथ मिल्न सक्छ ।
कही कतै
उस्तै माटो मा फलेको
एक रूखको हाँगा नै
हुर्किदो बोटको टेको भैजान सक्छ ।
जान्-अन्जान् घाउँका
भारले थिच्चिदा
आफू भित्रै सुस्त सुस्त
ज्ञानको मुल फुट्न सक्छ ।
मौसम-मुग्ध प्रवृत्तिहरू
बजारका खिचातानीका
मार्गको दर्शन बुँझ्दा
यथार्थ तिमी सामु झुल्किन सक्छ ।
आऊ आज एक पुरानो बाटो हिडौँ
आफ्नै नाम बोलाउँ
आफ्नै इतिहाश पढौँ
के थाहा अझैँ कतै भेट्टिन्छौँ कि हामी ?
आऊ आज भुलेका सपना गनौँ
आत्मारक्षाको पर्खाल ढालौँ र
लक्ष्यको ठाडो उकालो उक्लिऊ
जिन्दगी सबै यात्रामै कमाउछौँ कि हामी ?
आऊ आज आफूले आफूलाई नभेटेको रात सम्झिउँ
आफूले आफूलाई रटाएका झुटको घुम्टो खोलौँ
आफूलाई ऐना देखाउँ र हेरौ एक टक भई
के थाहा आफैसँग चिन्जान गर्छौँ कि हामी ?
आऊ आज दाँत माझौँ
धेरै चपाएको चिनी छादौँ
कोल्टै पिच्छे बिझाउने कुनाको सिङ उखलौँ
मुहारमा हाँसो सिरानमा निद्रा फलाउँछौ कि हामी ?
बर्सेनि ऋतु जसरि निरन्तर यो सोच फेरि आउला नआउला
पेटको भोक रातको निन्द्राझैँ यो बोझ फेरि आउला नआउला ।
समाजको ऐनामा आफ्नो ढाकछोप फेरि आउला नआउला
पहिले कहिलेको अन्धाधुन्ध खोज फेरि आउला नआउला ।
बटुलेको सारा ढुकुटी मास्ने प्रकोप फेरि आउला नआउला
ढिक छेवैमा जीवन ठड्याउने अठोट फेरि आउला नआउला ।
तिम्रो र मेरो चिन्जान हुने विचित्र संयोग फेरि आउला नआउला
जीवनको सिलाई कटाई साथै गर्ने अनुरोध फेरि आउला नआउला ।
एकल आवत जावतलाई साथको जरूरत फेरि आउला नआउला
आगो, वायू, प्राण, जल, धर्ती हरथोक फेरि आउला नआउला ।
तिमी संसारमा आउनु
तिमीले आमा बुबा पाउनु
तिम्रो आगमनमा आफन्त हाँस्नु
यो कस्तो सौभाग्य!
यो अन्जान दुनियाँमा
तिमी आउनु अनि अट्नु
अनि समेट्टिनु ।
यो नौलो संसारमा
तिम्रो लागी मान्छे हुनु
भाषा हुनु
माया हुनु
यो कस्तो सौभाग्य ।
यो जीवनमा
तिमी बाटा हिँड्नु
नयाँ मान्छे भेट्नु
संसार त पहिल्यै छ
तर तिमी नयाँ हुनु
यो पुरानो संसारमा
तिमी तिमी हुन पाउनु
यो कस्तो सौभाग्य ।
तिमी तिमी हुँदा
यो धर्ती नखुम्चिनु
यो धर्तीमा नयाँ तारा थप्पिनु
यो संसारले पृथक दृष्टि पाउनु ।
यो कस्तो सौभाग्य ।
यो संसार रहिरहनु
तिमी अस्ताउनु
तिम्रा बासी याद आला हुनु
अनि संसार चलिरहनु
यो हाम्रो कस्तो सौभाग्य ।
तप्केको कसैको जिन्दगीबाट
कसैको जिन्दगी भर्रिन सक्छ
अनि कसैको जिन्दगी
तप्किएरै रित्तिन पनि सक्छ ।
कोही आउँछ यस्तो मुटु ल्यएर
भएजतिको माया सबै सोरेर लान्छ
घोप्टि रहेको अर्को किनारको दिल
उस्को थोपाकै स्पर्शले अघाउन सक्छ ।
समयले नमिलाएको हिसाब
एक मनुवा मिलाउन प्रयत्न गरिरहन्छ
तिमी टर्रो-चर्को नगरको बासिन्दालाई
ऊ पत्थरको उत्तरमा फूल सुम्पिन सक्छ ।
कस्तो ठट्टा गर्दै छ ऊ
बिना नक्सा आँखामा पट्टी बेरिदिएर
गुम्नाम भएछ फरि फेला नपर्ने गरी ।
कथन् छ लोकमा कि ऊ आउँछ रे
कुनै झम्क्क औँशीको रातमा र
पुलुक्क हेर्छ रे मलाई मैले चाल नपाउने गरी ।
सुनेको छु पुर्णिमाको एक रात
उस्ले पुष्पमालाको एक टोकरी
सुटुक्क राखिदिनेछ सिरानीको छेवैमा ।
बरू उस्ले लोभको तृष्णामा अडेको
जिजीविषालाई भिरबाट धकेली दिओस
र छाम्दै मेरा अंग-अंग भेटाओस
कुना-कन्दरामा लुकेका छुप्-छुपे घाउँहरू ।
आफै घुँडा टेकी निस्कर्षको बादल मुनी पुगी
मैले रोई सकी जिन्दगीका सारा बेदनाहरू
जब सुस्ताइरहेको हुनेछु एक आर्यघाटमा
तब स्वर्गिलो चोलाको लालच देखाउन आउनेलाई
म हिर्काउने छु दन्दनी बलिरहेका अगुल्टाहरूले ।
यो सहरको रङ्गिन सपना अधुरो रह्यो कि ?
अर्काको दाम्लो अर्काकै भारी अफ्ठ्यारो भयो कि ?
भोजन पाक्न ढिलो अनि भोको पेटलाई हतार भयो कि ?
अरूले सुनाउने आफूले दोहोर्याउने बोझ दोब्बर भयो कि ?
सदियों देखीको समाज र समयको ऋण उधारो रह्यो कि ?
अरूको बाटो हिड्दा कतै आफ्नो सूर्य अँध्यारो भयो कि ?
शब्द सबै बुझे पनि अर्थ अझैँ बाँकी रह्यो कि ?
एक शरीरमै सारा अस्तित्व बन्धकी रह्यो कि ?
तरिका नयाँ अनि समस्या भने उहीँ पुरानो रह्यो कि ?
कदम चाल्दा धेरै थरी आत्मा कतै अन्धो भयो कि ?
आज आइपुग्नु, भोली नआउनु
तिमी आइपुग्नु, डोली नआउनु
सूर्य कति उदाउने हुन् ? मुहार कति फेरिने हुन् ?
यात्रा पूर्ण हुनु, सपना अधुरै रहनु
समयले वसन्त ल्याउनु, सम्बन्ध चर्केरै रहनु
गाडी कति चढिने हुन् ? शिशिर कति खपिने हुन् ?
फूल फूलिरहने, बगैँचा भने सधैभरि रित्तो रहनु
पात्र अनेक भैजाने, मात्र नक्कलको अस्तित्व रहनु
बास्नाले कति डोऱ्याउने हुन् ? नाटक कति रचिने हुन् ?
आज आइपुग्नु, भोली नआउनु
तिमी आइपुग्नु, डोली नआउनु
आज कति बित्ने हुन् ? साइनो कति छुट्ने हुन् ?
जम्छ, फुट्छ, बग्छ, उड्छ, पुन: जुट्छ
एक हिमाल अनि एक मान्छे ।
हिड्छ, छुट्छ, बिसाउछ, पुग्छ, फर्किन्छ
एक बाटो अनि एक मान्छे ।
उम्रन्छ, हुर्किन्छ, फूल्छ, फल्छ, झर्छ
एक बोट अनि एक मान्छे ।
कल्पिन्छ, देख्छ, बुझ्छ, बनाउँछ, बढाउँछ, बिर्सिन्छ
एक दैब अनि एक मान्छे ।
म भन्दा ठुला दु:खले
मलाई कुल्चिन्छन् ।
म पाँजी भित्रका यि वेदना कदापी होइनन्
म भन्दा भयङ्कर केही त छ
म भन्दा बाहिर
म भन्दा भित्र
केही त छ ?
जो मलाई थिचेर
मलाई मिचेर
जन्मिन्छ र मैलाई गिज्याउँछ ।
म भन्दा भब्य सु:खले
मलाई खुबै उक्साउँछन् पनि
यि म जैरेद्वारा रचित उमङ्ग कदापी होइनन् ।
म भन्दा विशाल
मेरो परिसर भन्दा पर
मेरो चेतना भन्दा गहिरो
केही त छ
जो जाग्छ र मलई तरंगित बनाउँछ ।
म र तिमी भन्दा पर केही फूलहरू त छन्
जस्ले हामीलाई नचाइरहन्छन् भमरा जसरी ।
तिमी र म भित्र केही भमराहरू त छन्
जस्ले डसिरहन्छन् हामी पुष्पकुञ्ज भए जसरी ।
जाडो खपुँला मंसिर पुसको
वर्षात सहुँला साउन भदौको
तिमी र म ।
हाँसौला उकालीका दुई घुम्ती
बाँचौला ओरालीका दुई चुनौती
तिमी र म ।
मायामा कैदी बनौला मुक्त पनि भैजाउला
मायामा बिलाउला अर्थ पनि मायामै भेटाउला
तिमी र म ।
छलौला यि सबै काँडे पर्खालहरू
डुलौला पुर्ख्यौली पाँखा पखेरीहरू
तिमी र म ।
अनुभवका टुक्का गाँसी दोहोरी खेलौला
आदर्शको खोजीमा यथार्थ पनि झेलौला
तिमी र म ।
लम्पसार सडक छेउको अचल मेचमा
जीवनले चिमोटीरहेको एक मान्छे
लामो सुस्केरासँगै टुलुटुलु आँखा डुलाउँदै
मग्न हुन्छ ऊ आफ्नै सोच गगनमा ।
लाग्छ ऊ त आफूकै हैन
दगुर्दै छ अर्काकै दौड
मालाले सजिन्छ घाँटी
तर यो जीत पनि अर्काकै सापट्टी ।
लाग्छ ऊ त आफूलाई हैन
अर्काकै मालामा कैद छ अर्काकै बगैँचामा
प्रफुल्ल मौरीहरू डस्छन् बेला बेला
उत्पादनको निहुँमा ।
लाग्छ ऊ त आफूमै छैन
दौडिन्छ बेस्सरी भिरेर मालाजती सारा
निसासिदै फूल्छ ढक्मक्क
मौरी भुलाउने प्रयतनमा ।
भिड्को, भिड्का लागि, अनि भिड्मा समर्पित ऊ
लखेट्छ कस्ले, पुग्छ कहाँ पत्तो चाहिँ छैन
तर दौडिए जत्ती पनि
अन्तमा ऊ त भिडको मुठ्ठीमा ।
नयनको घुमफिरमा धर्तीले केवल एक तारा दर्शाउँछ
नास्तिक कन्चटमा उस्को नाम ठेगनाको मन्त्र जपाउँछ ।
निष्ठुरीको एक मुठ्ठी माया पाउन मन मुरी मुरी खर्चिन्छ
उस्कै मण्डलमा झुल्किरहन सारा दूरी मजबूरी बिर्सिन्छ ।
खुसीका पर्वहरु दुखका जँघारमा मन उस्लाई सम्झिन्छ
सडक देखी महलसम्मका करोबारमा उसैलाई अड्कल्छ ।
हर ऋतु हर घडी पवन पनि उसैको खबर ल्याएर आउँछ
उस्का पाउँका पाउँजु कानका झुम्काको गजल सुनाउँछ ।
काँचुली फेर्दा समेत खप्परले उस्कै यादको भारी भेटाउँछ
सम्झी कर्के नजर कालो केश माछा पुन: माँझी बोलाउँछ ।
देखेको के लेख्नु
दृर्श्य हो कि पहिरण मेसो नहुँदा ?
सुनेको के लेख्नु
शब्द हुन् कि भावना मेसो नहुँदा ?
पाएको के लेख्नु
यो जीवन बर्दान हो कि अभिशाप मेसो नुहुँदा ?
बरू लेख्छु नदेखिने, नसुनिने, र नपाइने
लेख्छु काँडाहरू
लेख्छु घाँउहरू
लेख्छु बल्छीहरू र
लेख्छु माछाहरू ।
लेख्छु आफ्नै खेतबारीका चोटहरू
लेख्छु समाजका हत्कडीहरू
लेख्छु नबगेका आँशुहरू र
लेख्छु जीवितका चिहानहरू ।
यूद्धलाई शान्ती
अन्यायलाई क्रान्ती
तिमीलाई चाहिने के हो कुन्नी ?
भोकलाई भोजन
गरिबीलाई धन
तिमीलाई चाहिने के हो कुन्नी ?
अपमानितलाई सम्मान
कुलतलाई धुम्रपान
तिमीलाई चाहिने के हो कुन्नी ?
जोगीलाई बैराग
व्यापारीलाई ग्रहाक
तिमीलाई चाहिने के हो कुन्नी ?
सोचलाई बिगत र भविष्य
ज्ञानलाई एक शिष्य
तिमीलाई चाहिने के हो कुन्नी ?
कहिले दु:ख ढिलो आइपुग्छन्
मन दुनियाँका खुशीबाट वाक्क भैसकेको हुन्छ
हल्लाको हर्षमा आत्मियाता लोप भैसकेको हुन्छ ।
अनि कहिले सु:ख ढिलो आइपुग्छन्
मन मेसो नपाएर कुम्लो बोकिसकेको हुन्छ
दैलोको घाम बारेर दील अन्धकार तिरै पल्किरहेको हुन्छ ।
यि बद्मासहरू कहिले चाँडो पनि आइपुग्छन्
काँडा केलाइरहेको बेला फूलमाला भिराउन आउँछन्
अनि दिलमा फूल फुलिरहेको बेला कुल्चिन आउँछन् ।
दुख सुखहरू हिसाब नगरेरै लुसुक्क आउछन् सुटुक्क जान्छन्
म समयको गणित गर्दै ठेला-टुप्पाका कारोबार मिलाउन खोज्छु
जे जसो गर्दा पनि नाफा-घाटाको अन्तमा उत्तर सधैँ शून्य पाउँछु ।
काँडाको व्यापार उनैको
बगैँचाको माली उनी कसरी ?
घायलहरू रगतले भावना कोर्ने
घातकहरू नै शिर्षक कसरी ?
धमिलो मन छरप्रष्ठ
देखावटी नक्कल आकर्षक कसरी ?
चहाना बादलझै बद्लिरहने
उनैको झल्को हरक्षण कसरी ?
आत्मा बेच्ने पुँजी सोर्ने
पुक्क गोजी सार्थक कसरी ?
बारम्बारको घटनामा अचम्मित हुने
आफ्नै दैनिकीसँग अन्जान कसरी ?
लाखौँ थोपाहरूको समुन्द्र हुँ म
यस्तो विशाल सागरको कुन अंश
कुन बेला छचल्किन्छ र तुफान आउँछ
मलाई पुर्णत: अन्दाज हुँदैन ।
थोपा-थोपाको गोरेटो अनि गन्तब्य पनि बेग्लै छन्
कुनै आँशुले भिजेका छन् निथ्रुक्क
त कुनै प्रतिक्षाको रापमा सगरको बाटो लागिसके
यसरी मेरो पहिचान म बाहिर पनि रुमल्लिरहेको हुन्छ ।
सूर्यका कानेकुसीका दुई थोपा लग
या त मेरा सतहका दुई बाल्टी
तिमी मलाई उत्तिनै बुझ्ने छौ
यो विराट समुन्द्रको तिम्रो तस्बिर
जुग-जुग सम्म मधुरै रहनेछ ।
आफ्नै परिचयको ढाँचा खोज्न
मैले छाँडेको हुँ हिमाल, पहाड, बगर, र नदीहरू
र खन्निएको हुँ आँफै भित्र र लम्केको हुँ आकाश तिर
आफैसँगको परिचय म गहिराई र उचाई अनुरूप भिन्नै पाउँछु ।
अनि तिमी आउछौ र खोज्छौ जीवनले नछोएको मान्छे ?
बरु एक झल्को दृश्य लेऊ अनि फर्कि हाल आएकै बाटो
यो भयकंर गहिरो समुन्द्र हो साथी
खूंखार पौडेवाजहरू पनि यहाँ डुबानमा परेका छन् ।
“जाबो हरफहरू के लेख्छस?” मन गिज्ज्याउँछ
शब्दले समेट्न नसक्ने सानदार संसार दर्शाउँछ
दोधारको एक मध्यरात पेटी कसी म पर्खाल नाँघ्छु ।
देख्छु कलम भन्दा क्यौँ गुणा भव्य महलहरू
देख्छु ताराझैँ चम्किरहेका मान्छेका नयनहरू
देख्छु शव्दकोषको परिधि परका अङ्गलाहरू
देख्छु पानामा नउत्रिने मान्छेका आयामहरू ।
संसार देखेर घुँडा टेक्छु र त फर्किन्छु पुन: पानामा
कोर्छु भव्य सहरका स-साना कोठाहरू
कोर्छु नपढिने आँखाहरू र नखुलेका ओठहरू
कोर्छु बुढा रूखले खेपेका हुरी चट्याङहरू
कोर्छु बारम्बारका जीवन र मृत्यूका भेट्घाटहरू ।
कसरी सोचुँ मेरा दु:ख तिम्रा भन्दा भब्य छन् भनी ?
छानो मूनि एउटै आकाशको
तिम्रा बाटामा पनि ठेस त पक्कै लाग्दा हुन् ।
तिम्रा परिश्रमका बाली मास्ने
असिने पानी बर्षिदो पक्कै हो
आफ्नै आँशुबाट ओत् तिमी पनि त खोज्दा हौ ।
कुनै खण्डहरूमा खुसीले गदगद परी डुल्दा हौ
छाती फुलाएर, मुहारमा ज्योती बालेर टोल चारी
कुनै प्रहरहरूमा तिमी काँप्दै ठिङ्ङ उभ्भिरहँदा हौ
मनमा आँसुका ढिका बटुल्दै एक हिमखण्ड ठड्याई ।
एउटै जमिन र गगन बिच उनिएका
तिमी र म
कति पो फरक हुन सक्छौ होला
सम्मेटिदा पुन: ब्रह्माण्डको कोखमा
तिमी र म
धुवाँको मुस्लो बनी माटोको ढिस्को बनी ।
दिलमा अर्काकै एक चोट छ
जिन्दगीको कहानी बुनिरहन्छ
सायद केही टुक्राहरू जोडेर, प्वालहरू थुनेर
सबै मान्छे र घटनाहरूको अर्थ लगाउनु छ उस्लाई ।
पुरानो धुलाम्मे यस्तो चोट छ
कोट्ट्याइरहन्छ बिगत र भविष्य
डुबाउँछु अरूलाई भन्छ तर
आफैले खनेको खाल्डोमा आफै पसिरहन्छ ।
नबोलिएको, नसुनिएको यस्तो चोट छ
दिन रात कानेकुसी गरिरहन्छ
फूलमा काँडा भेट्छ जूनमा खोट खोज्छ
पर्वहरू पनि सबै षड्यन्त्र ठानेर तर्सिरहन्छ ।
यो कस्तो चोट––
सफा पोखरीलाई हिलाम्मे बनाउँछ
बर्खा मासमा आँखा गुमाएको गोरुलेझै
सबै वस्तुको वास्तविक एउटै भन्ठान्छ ।
हुरी चल्छ अनि पात झार्छ
जरा-जमिनको परीक्षा लिएर जान्छ ।
धर्ती नजिकैको एकै हाँगामा दुई फल पलाउछन्
एक कुहिएर सक्किन्छ तर अर्को पुर्णत: फस्टाउँछ ।
आएर आफ्नो गुड् छाँडी एक पञ्छी फलहरू ठुंग्छ
छिप्पिदै गरेको बालीको खबर साथीलाई सुनाउँछ ।
बादलको केही तला मुनि एक हाँगा यस्तो पनि छ
जहाँ अर्को चरी घरजाम गरेर निर्धक्क बसेको छ ।
डाँडाको यो रुख दिनै रात बारै मास सारै एक्लो हुन्छ
तर जल जमिन पवन सूर्य सबैसित ऊ दिनहुँ भेटिन्छ ।
तिमी अर्कै रोगको चिकित्सक
मेरो बिमारको उपचार
तिमीलाई थाहा छैन ।
बिगतको मुसलधारे बर्षामा भिजेको यात्रीले
भविष्यको पहिरोको पनि अन्दाज गर्दछ
उस्लाई तिम्रो धुमधामको कुनै डाहा छैन ।
तिमी आउँछौ र नाप्छौ
मेरा नशा, सोच, र हैसियत् तर किन ?
यो भिरालु जग्गाको नापको केही मूल्य नै छैन ।
तिमी पुज्छौ को, ढोग्छै कस्लाई, अनि माग्छौ के ?
यि महल, मन्दिर, र घाँटहरू सबै तिम्रै त हुन्
यस्तो परम सत्य छल्ने यहाँ केहि उपाय छैन ।
समय जुरेको बेला बा बाकस उघार्थे
जीवनका शब्द झिक्थे र सम्झाउथे,
“तिमी हिमालसँग हाँस्नु,
खोला नदीसँग मितेरी गाँस्नु,
तिमी डुल्नु भिर पाखा पखेरी
हराउनु संसारै भरि
अनि टुप्लुक्क आइपुग्नु आफ्नै घरको छानो मुनि
र सुनाउनु तिम्रो जीवन हाँसे-दुखेका कहानीहरू ।”
बालाई संसार त जरुर मन पर्थ्यो
सायद मसँग गाँसिएको संसार झनै मन पर्थ्यो ।
उनी बेला बखत सोध्दथे,
“नयाँ सहरको बानी परिसक्यो कि छैन ?
अनि खानपिन, उठ्बस, साथी संग्त ?
अनि पढाई, आम्दानी, घरबार ?
अनि ? अनि ? …”
उनी यस्तै झिना मसिना प्रश्नको आडमा
तन्किदै मेरो दुनियाँ चियाँउथे र मख्ख पर्थे
कहिले काहीँ लाग्थ्यो मलाई बाले छोरालाई बुझ्नै खोज्दैनन्
त्यसपछि म बा भए र आफू छोरा हुने गरेको बिर्सिदै गए
बाले बिर्सिए जसरी ।
उनी जस्तै म पनि कहिले काहीँ मेरो बाकस उघार्छु र
मेरी छोरीलाई सुनाउँछु,
“तिमी फूलहरूसँग जिस्किनु,
तिम्रो सूर्य ओइलाउदा ताराहरूको बुइ चढ्नु,
विगत भविष्यले चिमोट्दा खोलाहरूसँग बाटो सोध्नु ।”
“तिमी जीवनबाट ओभानो नरहनु ।
तिमी बुझ्नु समाज, परिस्थिती र मान्छेहरू ।
जब तिमी भिज्नेछौ निथ्रुक्क संसारबाट
तब उहीँ पुरानो टोलको ढोका ढक्ढक्याउनु
अनि अगेनो छेवैमा बसेर तिम्रो जीवन सुस्ताउनु ।”
सबेरै बुढा बाको रेडियोमा संसार ब्युझन्थ्यो ।
त्यतिबेला सम्म कान्लाका एक बिटो घाँस दाउरा
आमा घरको आँगनसम्म ल्याइसकेकी हुन्थिन् ।
बा दिउँसभरि बारीका बाँझा आलीहरू झम्टिरहन्थे ।
दिन्चर्याको व्यस्तताको बावजुद चुलोमा माटो सुहाउदो
मिठो मसिनो दुई छाक भोजन पाँक्थे ।
हाम्रो गाँउको पूर्वपट्टी
अर्को सानो गाउँ थियो ।
दुबै गाउँमा सँगसँगै
सयपत्री फूल्थे र घर लिपिन्थे ।
चाँडबाडका बेला एक गाउँका मान्छेहरू
अर्को गाउँसम्म किनबेच गर्न डुली हिड्थे ।
अलि टाढाको अर्को गाँउमा
चौवर्षे मेला लाग्थ्यो ।
हाम्रा गाउँका ठिटाहरू
चिटिक्क परेर मेला धाउँथे, दोहोरी खेल्थे ।
कुन्नी कुन गाउँकी कन्याहरूलाई
मोहनी लाउथे र गाउँमा भित्र्याउथे ।
सुसेल्दै गाउँबेसीका भाकाहरू
त्यहिँ तल खोला बगिरहन्थ्यो ।
कहिले हुत्तिदै त कहिले सुस्तिदै
बतास डाँडाका रूखहरू जिस्काइरहन्थ्यो ।
झिस्मिसे साँझको जाँडो खप्न
जुनकिरीहरू मैनाहरूलाई बाँसघारीको बोलाइरहन्थे ।
कोही आउछ
टुसुक्क बस्छ
काँपी रहेको दिललाई
कम्मल ओढाउँछ ।
धर्तीमा ताराको रुप लिन्छ
हरेक अध्याँरोमा दियो बाल्छ
रोइरहेको आकाशलाई
ख्याल ठट्टामै हसाउँछ ।
साथमा कम्पनहरू पनि ल्याउछ
कुनै पल अन्यौलता झन् बढाउछ
निथ्रुक्क भिजेको ज्यानलाई
जेहोस् चुहिने छानोको सुबिधा दिन्छ ।
कहिले बिगतका धुन सुसेल्छ
भोलीका सपना पनि उमार्छ
एकान्तमा विलीन समुन्द्रलाई
हिमालको बाटो डोऱ्याउछ ।
कोहि आएर गाँसिन्छ
दैनिकीको हिस्सा बन्छ
ध्यान नै नगरेको आफ्नो पहिचानलाई
छर्लङ्ग दर्शाइदिने ऐना बनिदिन्छ ।
लुकामारी खेल्छन् जहाँ ताराहरू
जहाँ इन्दु सृङ्गारिएर ऐना हेर्छिन्
जस्लाई चुम्न नस्केर हिमाल बाँफिन्छन्
मेरो घरको छानो त्यहीँ हो ।
भित्तैभरि उनकै हतेलीहरू जहाँ लुकेका छन्
जहाँ चुलोमा उनी माया पकाउँछन्
जस्ले एक घरको आत्मा हुर्काउछिन्
मेरो बास उनैको काखमा हुन्छ ।
पुष्पहरू सिंहासन खोज्दै जहाँ शिर चढ्छन्
ईन्द्रेणीले जस्को ओठमा लाली चक्षुमा गाँजला भर्छ
जस्ले नदीलाई संयमताको पाठ पढाएर पठाएकिछिन्
मेरा कविताहरू उनैका मौनताका अपुरा अनुवाद हुन् ।
संसारिक स्वार्थका पोलहरू जहाँ गाडिएका छैनन्
जहाँ उनी उनी हुन उहाँको मञ्जुरीको खाँचो पर्दैन
जस्ले आफ्नो शक्ति प्रदशनका खातिर वन जलाउदैनन्
सारा कथा उनैका अस्तित्वहरूका स्तुति गायन हुन् ।
यो कविता
तिम्रो समाजको सुन्दरताको
आयमले नसमेटेको मुहारले
वाचन गरेको हो ।
आत्मा बिर्सेका सपनाका
धारिला सिसाहरूमा टेक्दै
चुचुरोतिर लम्केका रक्ताम्मे पाउँहरूले
यि हरफहरू कोरेका हुन् ।
समाजको खोलबाट उम्केर
दैवको ढोका खोल्नु पहिले नै
जीवन दर्शन भेटेका दैनिकीहरूले
यो स्वतन्त्रको सास लिएका हुन् ।
तिम्रा क्रान्तिका बम बारुद पड्काउन
गाँउघरका बारीहरू बाँझै रहनु पर्दा
एक बालकको भोको पेटको द्वन्दले
यो देशको भविष्यवाणी गरेका हुन् ।
सिर्सिरे बतासले बोकेका चाराका लयहरूमा
भेट्टिने उनका हाँसोका पंक्तिहरूको
समझनाको लहराले तानेका छहराहरूद्वारा
यो काव्य रचिएको हो ।
कट्ठै तिम्रो जीवन
बिझाउन पुगेछ फेरि कोही
तर दोष सबै उसैलाई नभिराऊ––
ऊ पनि त अरु कसैले रोपेको काँडा हो ।
जब बेहोसीबाट बिउँझिन
फूलबारी छाडेर घाँटतर्फ दौडिनु पर्छ
आँशुको डुबानमा सदाका लागि सूर्य ननिभाऊ––
आखिर बादल पनि यो विशाल आकाशको साथी नै हो ।
अनि सबै सोचको बथानले शब्द र स्वर नभेटाउँदा
अक्मक्किदै बरालिनु पर्छ अन्यौल गल्लीहरू जब
तब पनि सोचै सोचको सगरमाथा नठड्याऊ––
संयम हुन छाडेको हिमाल एक हिमपहिरो न हो ।
हाटबजारमा सौन्दर्यको नापको तुलनमा
काँडाको अंक कम नै हुन्छ
तर पनि निर्धक्क फुल्नका निमित्त शिखरमा––
फूलले टेक्नै पर्ने खुड्किलो काँडा नै त हो ।
तिम्रो विराट सगरको
घमण्ड तोड्न
जुन त्यहीँ सानो पोखरीमा
पनि त झुल्किन्छ ।
तिमी सुगन्धको आश्वासनमा
फूलहरूको हिसाब गरिरहदा
बिँउ कतै धर्ती मुनि
कोहिएरै जीवन जितिदिन्छ ।
दौडेर मुटु नै फुट्ने गरी
जब तिमी बिसाउन पुग्छौ एक चौतारी
अर्कै गाँउको पिपलको छाँयाले
तिम्रो आफ्नो-बिरानोको परिधि मिचिदिन्छ ।
चरी त उड्यो है गुँडै छोडेर
हाँस्-खेल् गर्ने दौतरी बिर्सेर ।
सातै है साँगर तरेर गैगयो
माया गर्ने मुटु पत्थरै भैगयो ।
उधो है बगेको खोला
उभो फर्कन्न भन्छन् ।
भाँचिएको है मनले
ओखती टेर्दैन भन्छन् ।
दिन है हिँड्यो रातमा ढलेेेर
कर्तव्यको भारि बिसाउन भनेर ।
पात है डाली त्यागेर गैगयो
न्यनो साथ खडेरी भैगयो ।
यादको है दाम्लो
बलियो हुन्छ भन्छन् ।
सम्झनाले है बारबार
रुवाएरै छाड्छ भन्छन् ।
टम्म अघाएको पेटलाई पो
अन्तरिक्ष उक्लनु छ
भोक्ले कोक्याइरहेको पेट त
खोज्दछ माटो मुनिका कन्दमुल
र भेटाउछ कुपोषणले घुँडा टेकाको
आफ्नै छोराका करङहरू ।
गल्ली-गल्लीका लामखुट्टेले टोकेकाहरू पो
बिमारको जाँच गर्न अस्पताल धाउँनु पर्छ ।
आफ्नै बारीको एक काँडाले घोचिएकाहरू त
कुटो कोदालो बोकेर खनिरहन्छन्
आफ्नै छाति र
उखेल्न तम्सिरहन्छन् पुस्तौ देखि गाँडिएको खम्बा ।
सफलताको राजगद्दीमा गदगद परेकाहरू पो
धाउँछन् विगतका धरोहरहरू र लेख्छन् आत्माकथा
अन्धो समाजले मलम लाउन भुलेकाहरू त
ताली पड्काइरहेछन् एक फटाहा नेताका झुटा बयानमा
र भुल्न खोजिरहेछन् जाँडोले
कापी रहेको आफ्नै अस्तित्व ।
सोचाइमा पट्टी लगाएकाहरू पो
घन्काइरहेछन् भविष्यका बिगुल
हिजो देखि आज सम्म छर्लङ्ग देखाकाहरू त
बेहोरिरहेछन् डुङ्डुङ्ती गनाउने आदर्शहरू
र टिपी रहेछन् यिनै आदर्शका नारा पोतिएका
बाटोमा झिङ्गा सरि फन्फनाइरहेका पोस्टरहरू ।
जब ऊ सानै थिई
उस्लाई सिन्दुर पोते
खुबै मन पर्ने ।
अल्मारीका आमाका
सृङ्गार समाग्रीहरू
हात पारेरै छाड्थी ।
सजिएर बाल्यकालको रहरमा ऊ सोध्द्थी,
“आमालाई भन्दा धेरै
रातो त मैलाई सुहाउने है, बाबा?”
जिस्केर बा मिजासिलो स्वरमा भन्थे,
“रातो साडी किनिदिउला एउटा
कोही लक्का जवान खोजिदिउला
उस्ले एक बट्टा रातै सिन्दुर दिनेछ
अनि मेरो छोरी त जीवनै भरिलाई रातो खुर्सानी ।”
बा,आमा, र म गलल हाँस्थ्यौँ ।
ऊ सुरुसुरुमा त लजाउँथी
तर चेतनाको रापले पोतिदै जाँदा
बाका यस्ता तर्कका खण्डन् गर्थी, ”
मेरो अस्तित्व रङ्गाउने साँचो
अर्काको हातमा म किन दिऊँ ?
म त आफ्नै जराहरूमा
गुराँसको बोटझै उभिन्छु
र फूल्छु ढकमक्क
दिनमा प्रित गाँस्छु सूर्यसित
र रातमा मुहार साट्छु जूनसित ।”
बा चुपचाप उस्का तर्क सुन्थे
र आफ्नो हार स्विकार्थे तर
उनी झिस्क्याउन कहिल्यै छाड्दैन्थे ।
मेरी बहिनी––
गुराँसको फेद मुनि––
गराँस फूलका पत्रहरूझैँ
छरिएका रातो दुप्ट्टा र सुरुवालसँगै
लखतरान, रक्ताम्मे अवस्थामा
भेटिएको प्रहरीले खबर पठाउँछ
अल्मारीका सृङ्गारहरुलाई र
बा-आमाले खोजिदिने दुलाहालाई र
मेरो समाजलाई––
जो उठ्छ आँखा मिच्दै, रुन्छ एक मुठ्ठी
र पुन: सुत्दछ निर्धक्क ।
केही छैन यहाँ मेरो
जो देखेर तिमीले वाह भन्नु परोस् ।
मेरा पाउँले चुम्ने धर्ती
नयन पग्लाउने झकमक्क आकाश
तिम्रा पनि समपत्ति हुन् ।
यो महल
अर्काको पसिनाले पनि बनेको हो ।
आफ्नै कोठामा बसेर म कल्पेर अर्कैलाई
एक-दुई थान कविता लेख्दछु ।
हिजो झिस्मिसे साँझमा टोलाएर हिड्दै गर्दा
अन्जानसँग नयनहरू जुँधे मुटुका दुई पल
उनीले मलाई यस्तो मिठो मुस्कान पस्किन कि
मेरो कलौटे चोलाको ग्रहण हटेको छ आजभोली ।
भो यो पनि डाहा नगर तिमी
म हिड्दै छु कयौँ झिस्मिसे गल्लीहरू
यात्रामा अल्झिरहेको निन्याउरो बटुवा भेट्छु छिटै
र यो पोतिएको हाँसो उसैलाई थमाइदिन्छु ।
नजरमा परेका हजारौँ दृश्य अबुझ नै रहिरहे
कति दृश्य त नजरमा नठोक्किएरै पाठ पढाँए ।
कान भेटेका केही ध्वनीहरू चिच्यारै पनि मौन बसे
कुनै सुस्केराहरूले चिरनिन्द्राबाट बिउँझाउन समेत भ्याए ।
हिमाल जस्तै कञ्चन सुन्दरीका दुई झलक मानसपटलमै पग्लिए
छिमेक-टोलकै कान्छीको बिहेको हल्लाले पो पटक-पटक तर्साए ।
कसैको ऋणको भार थेग्न नयाँ गोजीहरू तुनिए, भरिए, र रित्तिए
आफ्नै पसिनाको खुशी टिपरे सिउरन नसक्ने गरी साहुँले भार बोकाए ।
दिनै पिच्छेको अस्तित्वले हिलोमा डोबे अनि पानीमा पखाले
कोशौँ पर धुवाँ र थोपाले मृत्युको हिसाब-किताब मिलाए ।
१.
लुगा धोइने र सुकाइने
खोला किनारको ढुंगा
एक जीवन ।
२. चिटिक्क मिल्ने एक आकार
नयनका लेक-बेँसी
कठै बरा पाइथागोरस ।
३. महंगा अन्न हाटबजार भरी
भोको पेट रित्तो गोजी
टाट पल्टेको झुसिल किरा ।
४. दुर-दुर परबाट स्वर्गको निमण्त्रणा
छाति भित्र प्रियसी
आँशु––हवाई जहाज ।
५.
उस्का नजर
हतमा नक्शा
कुहिरोको काग ।
पानीका थोपाहरू कठ्याङ्ग्रिएर
पत्थर हुँदै थिए मन जस्तै
फूलहरू आफ्नो धर्म बिर्सेर
काँडा जसरी घोच्न थालेका थिए ।
कलम आफ्नो मुटुको मुठ्ठी कसेर
कविको बिरोधमा तयनाथ थियो
शब्दहरू दिमागका कुना-काँप्चा उम्केर
गाँसिदै थिए समस्त जगतको शून्यातामा ।
आज कमिला, मौरी, र चराहरू
चिमोट्दैछन् आफ्नै छालाका आलीहरू
भुकम्पै भुकम्पमा हुर्केको उस्को मुटु
आज काँप्दै थियो ओर्लिदै गरेको हिम्पहिरो जसरी ।
आकाशबाट तप्किरहेका हिम्कणहरूले
धर्तीमा कोरेको एक नरम गजल जस्तो
उस्का आँखाबाट बर्सेका हरफहरू पनि
पल-पलमै बिलाउँदै थिए याद भुमरीमा ।
लाली पुछिदिदै बोटका ओठबाट
पुष्प कुञ्जलाई डोऱ्याई माटोतर्फ
आयो मलाई पुकार्दै बतास टाँढैबाट
आजै रैछ र पो गुराँस र मेरो भेटघाट ।
टिमुरका बोटै भरि
काँडा नै काँडाका बुट्टाहरू
तिनै बुट्टाहरूको बार छल्दै
टिमुरका दानाहरू टिपिरहेकी आमा ।
सोच्छु:
टिमुरले सबै काँडाहरू त
आत्मरक्षाको लागि रोपेको हो
आमाको जिउँ भरिका काँडाहरू त
अरु कसैले बिँझाएका हुन् ।
आफैले रोपेका काँडाको
सुरक्षामा फक्रेका टिमुरे दानाहरू
अनि अर्कैले रोपेका काँडाको
चोटहरूमा जन्मेका आँँशुका दानाहरू ।
ए, व्यापारीहरू
आऊ उन्का दानाहरू बटुल
र बेच बजारमा हजारमा ।
कुनै एक समय
गर्वसाथ ठडिएका
मुर्तिहरू पनि
ढल्छन् तृष्णाले ।
समयको वेगसँगै
सत्यका इन्द्रेणीहरू
छुट्टाछुट्टै रंगहरू ओढ्छन्
इतिहासको मसानघाटमा ।
शरदमा फूलझैँ
फूलेका दुई मुटु
ओइलाउँछन् शिशिरमा
डाँडाको एक्लो पिपल जसरी ।
अन्तरात्माको जाँडो खप्न
बाहिरी काठ दाउराहरू सल्काउदा
भित्र भित्रै धुवाँको मुस्लोले
पुऱ्याइहाल्छ चिताको अंगालोमा ।
घर छोडेको रूखको हाँगामा टेकेर पनि
काँप्दै, चुलिदै उतिर्ण हुन सक्ने
एक बोट ।
मुहारका भब्य गुलाबहरू ओइलाउदा समेत
यथार्थको फूलबारीमा फक्रिरहने कालझैँ
एक सम्बन्ध ।
चिनजानका नजरहरूले घुम्टो ओढी मुन्टो मोड्दा
सत्यको तपस्याबाट ब्यूँझेर ओर्लने
एक आँशु ।
यात्राको उकालोमा पसिनाका असिनाले चिमोट्दा
थकित ढाड् सोझ्याउन बिसाइने
एक झुपडी ।
कसैले उपहार दिएको स्विटरमा ठ्याक्क नअटाउने
आफ्नै छालामा सियो घोचेर बुनेको
एक जिन्दगी ।
पर्खाइको सन्नटामा कतै बहिरो हुँदै जाँदा तिमी
हर्षको जुलुस ल्याएर ऊ आएन भने
फर्खेर हिजो जान सक्ने छैनौ तिमी
जो पर्खेर भोली तिमीले मासी सक्यौ ।
आफ्नै चड्कनमा चिसिएका गालाहरूका निमित्त
व्यवस्थाले स्याबासीका ताली पड्काएन भने
चाउरिएका छालामा बुट्टा भर्न सक्नै छैनौ तिमी
जो सजिएका छन् आदर्शका खरानीमा ।
स्वाभिमानको स्वार्थमा बम बनाउदै हिँड्दा तिमी
शान्तिका परेवाहरू गुँड् छाँडी हिँडे भने
सफलताको ईन्द्रणी झुल्किने छैनन् देशमा
जो चिसिएर ढुङ्गा भैसकेको छ तिम्रो भ्रमसँगै ।
शिखर छुने उद्धेश्यमा तिमी भुईमा तातिदा
हिमाल घुँडा टेकेर लोप भयो भने
चुपचाप सुस्ताउने छैनन् तिम्रा पाउँहरू
जो टेकिरहेका हुनेछन् दन्किरहेको धर्ती ।
तिमीले पुर्खाको विरताको गित गाइरहदा
आफ्नै सन्तानको आन्दोलन चर्को भयो भने
भाँसिने छ तिम्रा पसिनाले उभ्याएको पुल
जो खोजिरहेछ दर्शाउन एक कारागारको बाटो ।
केही नहुनु पनि केही हुनु हो
केही नगर्नु पनि केही गर्नु हो
केही नहुँदा नहुँदै पनि
सुस्त-सुस्त तिमी कोही भईजाउला ।
तिम्रो सपनाको भारी बोक्ने
हवाई जहाज नभेटिदा
तिमीले एयरपोर्टको बाटो बिर्सनु पर्दा
तिम्रो गाईगोठ नै तिम्रो गन्तब्य होईजाला ।
दिनै पिच्छे चुलोको धुवाँम्मे मुस्लोले ग्रस्त
खरानी जस्तै देखिने मुहार पुछिरहेका तिम्रा
हत्केलाका भाग्यरेखा मासिदै जाँदा हर दिन
तिम्रो भागको अभागी रात पनि ढलीजाला ।
तिमीलाई रुच्ने थालीमा
पस्केको स्वादिलो भोजन जसरी
तिम्रा सबै चाहनाहरू नपस्किदा
जिन्दगीको कुन् पेट भोको रहने हो कुन्नी ?
शिर ठटाउने आस्थाका ढुंगाहरू
उस्तै तिम्रा दुर-दुरका आदर्शहरू
तिमीलाई झम्टिन आउँदा
यथार्थको उपचार कुन दैबले बेहोऱ्ने हुन् कुन्नी ?
शव्दहरूको फूलबारीमा नअट्ने
अस्तित्वका काँडाहरूले
तिमीलाई कोतर्दा पटक-पटक
कुन अत्तरको बेहोसीमा चोट भुलाउने हो कुन्नी ?
एक किरा किला ठोकिरहेछ
झुन्ड्याउँछु भन्दैछ आफ्नो एक तस्बिर
एक निरङ्कुश नेताझै गर्जेर धाक लाउँछ––
“म तिमीले पल्काएको एक पाहुना हुँ !”
देब्रे छातीको भित्तामा एक पुतली नाचिरहन्थी
पंखा निखार्छु भन्थी गगन चुम्नलाई
एक बालकका हाँत पाऊले धर्तीलाई जसरी
आकाशलाई अढेश लगाउँदै ऊ पनि उडेर गैगइ ।
मेरै शरीर र सोचको सङ्ग्राहाल्यबाट
विलीन भए कयौँ चिनारी र यादहरू
धमिलो नजरले देख्छु आजभोली
स-सना प्वालहरूबाट लुसुक्क पसिरहेका
फौजहरू जो तम्सिरहन्छन् बारबार
मैले थालेको युद्धको अन्त्य गर्न ।
देख्छु तिनै स-सना प्वालहरूबाट
स्वतन्त्रको नारा चिर्बिराउँदै
फुत्त-फुत्त निस्किरहेका
रगतले नुहाइएका सेताम्मे परेवाहरू ।
कुनाको दाँत कोट्याएरै जीवन काटेको एक किरा बाँकी छ
जो निर्धक्क छाती ठोक्दै खुब फुर्ती लाउँदै भन्छ––
“हेर कान्छा, जिउन कति सजिलो ।”
गिँजा दुखाएरै बेला-बखत खिस्स म हाँसिदिने गरेको छु ।
नजिकको निस्पट्ट अन्धकारले दिनहुँ झम्टिदा
टाँढा-टाँढाको तर्मिरे उज्यालोले डोऱ्याइरहन्छ ।
अनि सपनाको भारि बोक्दै टाँढा लम्किरहँदा
त्यहीँ कोप्चाको निन्द्राको झल्को आइरहन्छ ।
गाग्रीमा जसोतसो जीवन भर्छु भन्दा
लयबद्द चुपचाप जीवन चुहिरहन्छ ।
बुढी आमै डाँडामा घाँस-दाउराको बिटो बनाउँदा
एक काँडा एक फूलको सम्झना हुर्किरहन्छ ।
एक सुन्दरी ओठमा लाली आँखामा गाजल भर्दाभर्दै
सिन्दुरको एक बट्टा हाँस्दै आएर उस्लाई रुवाइरहन्छ ।
रातभरि घोचिरहने व्याथाहरूको चित्र कोर्न कलम समाउँदा
लजाउँछन् सोचहरू अनि मौन पाना चुपचाप सत्य बाँचिरहन्छ ।
दाँत बिच-बिचमा अड्केका माँसुका टुक्राहरू
टूथपिकले घोचेर निकाले जस्तो सजिलो कहाँ हुन्छ
निकाल्न यादमा बल्झेर घरीघरी दिल घोच्ने मान्छेहरू ।
बाटोका धुलो मैलो बटुलेको नयाँ पाइन्ट र सर्ट
पुन: चम्काउन टक्टक्याए जस्तै सरल कहाँ छ
टक्टक्याएरै हटाउन बिगत भविष्याका डामहरू ।
प्रेम पत्रमा क्षणभंगुर भावनामा मुटु रित्याएर
माया जताँए जसरी शभ्य र पूर्ण कहाँ छ
सम्हालन उतारचढावका बद्मास पहरहरू ।
भुकम्पले मुल खम्बा चर्काउदा झुटो मुस्कान ओढेर
मनको डढेलो लुकाए जसरी सजिलो कहाँ छ
टेक्न आफ्नै पैताल मुनि बलिरहेको आगोका अंगारहरू ।
समुहमा जम्नकै निम्ति बुनिएको एक मुकुन्डो भिरेर
हुलमा हाँसेर चाँड मनाए जसरी कहाँ सकिन्छ
नभिज्न छाँतामुनि जब बर्सिन्छन् सत्यका आँशुहरू ।
यो निधार बिझाइरहने
झुसिल् किरो
कुन बेला पुतलीको उडान भरेछ पत्तो भएन ।
चिरपरिचित कविलाई बुझ्दै जाँदा
तमाखु तान्दै कौसीमा गफ्फिने बाजे
उत्तिकै ज्ञानका खानी भएको अन्दाज लागेन ।
टाउको तन्काएरै मात्रै देखिने हिमालहरू
सुस्त-सुस्त पाइला चाल्दै जाँदा
भेट्टिन्छन् भन्ने विश्वास नै जागेन ।
उनको सौन्दर्यको महिमा गाउँदा गाउँदै
पर्दा पछिको उनको शुद्द अस्तित्वले
पहिचान गुमाएको हेक्का रहेन ।
संसारिक घडीका १२-२४ चक्र लगाउँदै गर्दा
छाती भित्रका दुई धड्कनले
जीवन मृत्यु झल्काएको होसै आएन ।
कोही आज हिमाल हेरेर
कुहिरोमा बाँफ थपेर
चियाँको प्याला निलेर
हाँसोको थुंगा सिउरेर
कविताका दुई पंक्ति गुन्गुनाएर
बुढा बाजेको पुच्छर लागेर
कोर्दैछ संसारलाई चेतनाको पानामा ।
कोही आज हत्केलाले सुर्जेे छेकेर
घडीका तिनवटै खुट्टा बाँधेर
बिदाईमा परेलीहरू चिम्लेर
बाध्यताको मुठ्ठी कसेर
सम्झनामा औला भाँचेर
सपनाको मण्डप त्यागेर
बेहोर्दै छ चेतनामा हुर्केको संसारलाई ।
सबै हड्डीहरूले
उस्तै शरीर बोक्दैनन्
सबै आँँखाहरू
एउटै संसार देख्दैनन् ।
आँशुहरू घर छाडी माइत आउने
बाटा बाध्यताका एक्नास हुदैनन् ।
उहीँ शब्दले बुनेका वाक्यहरूको
सदा-सर्वदा अर्थ एउटै लाग्दैनन् ।
सुस्केराहरू लेक र बेसीका
उस्तै जनजीवन बोक्दैनन् ।
चिम्लेर देख्छ ऊ
जो म चक्षु तरेर देख्दिनँ ।
चुपचाप लेख्छ ऊ
जो म किताब भरेर लेख्दिनँ ।
सबको बुझाईमा प्रश्न सोध्छ ऊ
जो म गलत कुरामै सोद्धिन्नँ ।
सत्यको लागि विष पिउँछ ऊ
जो म असत्यको पुँजा गर्न परे पनि पिउदिनँ ।
आफू भित्रको जंगली एक जनवारको कुरा गर्छ ऊ
जो म मेरा दैवको अपमान होला भनी चुइक्क बोल्दिनँ ।
देखिने सत्य
देखाइने सत्य
बोलिने सत्य
बोलाइने सत्य ।
प्रचारको सत्य
प्रवचनको सत्य
प्रशासनको सत्य
पाठशालाको सत्य ।
सोचाइको सत्य
भोगाइको सत्य
रोजाइको सत्य
खोजाइको सत्य ।
सत्यको प्रचुर खेतीको युग छ
पसलेले दाममा, नेताले भाषणमा उमारेको छ
हरेक रूखले बुद्द जन्माएको छ
चौर-चौरमा सत्यै सत्यको भिडन्त छ ।
आज त गैगयो अरू कसैको यादमा
तिम्रो बर्कोको सप्कोमा माया भर्न
म भोली आउँछु है ।
हप्ता भरिकै साँझहरू चट्याङ छल्दै बिते
आगम हर गोधुली साँझमा दिन बिसाउन
तिम्रो काँध माग्छु है ।
सही-गलत सीमित छ समाजको तराजुमा
सम्बन्धमा अर्कैले रोपेको काँडा उम्रन नदिन
तिमी खेले-हुर्केको आँगन बुझ्छु है ।
भविष्य निदाउने छ तिम्रै अङ्गालोमा
मायाको तिर्थ थालनी गर्न
म डोली ल्याउँछु है ।
मनका बेइमानी चालहरूले उक्साउदा
लोभ, इर्ष्या, तरंग, र भ्रम बुझ्ने
म देउराली भाक्छु है ।
पानी पोखिएर छताछुल्ल भुईमा
न बगेर भेटायो सागर न तिर्खा मेटायो ।
वशन्तको फूल चुडिएर डालीबाट
न सजियो बोटमा न त कसैको चुल्ठोमा ।
सहरको सान्दार महल हल्लायो घर झगडाले
न दिनमा चयन न त रातमा निन्द्रा भेटियो ।
समुन्द्रमा हाँसो खोज्दै आएकाहरूले आँशु बेच्दा
न आँशुले भिजाए न त हाँसोले उम्त्याए ।
समयको दियो अस्ताउदा क्षितिजमा
न गोजीको अर्थ रह्यो न त खोजीको मूल्यांकन भयो ।
भविष्यको रेखा हिडिरहेका दुई पाइलाहरू
न त गतिलो गन्तब्य भेटे न फर्किदा बास नै पाए ।
सूर्यसँग आँखा खुल्ने
सिरानीमा निन्द्रा पर्ने
बानी किन्न नसकिने ।
कतै हँसाए पनि
अन्त कतै बिझाइरहने
आफ्नो भोगाई बद्लिन नसकिने ।
जन्म पूर्व, पछि, र जीवन कालमै
देखिने, छुट्टिने, र गाँसिने
मान्छेहरू आफै उभ्याउन नसकिने ।
आफ्नो रात भब्य हुँदा
कुप्रो परेको जूनलाई उकास्न
हर्सोल्लासको निम्तो पठाउन नसकिने ।
चाहानको गन्तब्य खोजिरहन
आफ्नो शरीर ननुघोस भनी
समयको गति मनमर्जी हाँक्न नसकिने ।
बेला कुबेला जिब्रो समातेर बसेको
गित संगित बिर्सिए ।
घर-वन-विद्यालय सँगै हिडेका
साथी सारथी छुट्टिए ।
मुटुलाई दाम्लोले बाँधेका
अनेक मुहार फुत्किए ।
जे नहुँदा जिन्दगी नै निरर्थ हुने सोचिन्थ्यो
त्यस्तै धेरै घामहरू अस्ताए ।
तथापि अस्तित्वको नयाँ दिन झुल्केकै छ
डाँडामा बाटो चारेर बतास हुइकेकै छ
महिनौ जाँडो खपेर बोट फेरि पलाएकै छ
खोला बगेकै छ मुहान छोडेर
दैनिकी चलेकै छ उही दोहोरिएर ।
मध्यरातको यो शून्य घडीमा म बढो उदासीन् पंक्तिहरू लेख्न सक्छु
जस्तै कि: घाम डुब्दै थ्यो क्षितिजमा लाली छरेर भोलि पुन: झुल्किन
अनि जिन्दगी बिलाउदै छ आफ्नै अंगालोमा कहिल्यै नभेट्टिने गरेर ।
रात लट्ठ छ । मन चुपचाप रोहिरहेछ सिरानीको एक फोटोसँग ।
आजको रात म लेख्न सक्छु सब्से मर्माहत शब्दहरू:
रोएरै सक्किएछ जिन्दगी जस्को निम्त्ति वर्षौ पछि
भेटाएको थिए दुई चुट्किलाहरू ।
फुर्सदमा चुमूलाँ भनेर पर्खाइएका गालाहरू
आज धुवाँमा भौतार्रिरहेछन् न्याना हत्केलाहरु पुजेर ।
आजको रात म लेख्न सक्छु बडो उराठिला शब्दहरू––
कोही थियो माया गर्ने जस्लाई मैले बुझ्नै खोजिन
कोही थियो माया नबुझ्ने जस्लाई मैले भुल्नै सकिन ।
म उसैको ओठमा लालीगुराँस फुलाइरहे
पाँउमा पाउजु बजाइरहे; शिरमा बुट्टा भरिरहे
उस्को यथार्थलाई तन्काएर म प्रवेश गरे उस्को जीवनमा
मकै बारीमा बाँदर पसे जसरी ।
ढुंगा प्रहार गर्ने निष्ठुरीलाई म चिन्दिनँ
मैले माया बुख्याँचालाई गरिरहे ।
आजको रात म लेख्न सक्छु सब्से विस्मातजनक शब्दहरू:
सोच्दा त रित्तिएछ मनभरिको सागर जत्तिको गहिरो माया
मलाई माया गर्ने त्यो अभागी र मैले माया गरेकी त्यो भाग्यमानी
कता भिजिरहेछन् कुन्नी कस्को अंगालोमा ।
आजको यो रातलाई दुई अंजुली आँशु सापटी दिन पनि म सक्छु––
जुन खुम्चेर सक्किन लाइसक्यो मेरो मुटु जसरी
चरो रोइरहेछ भत्केको गुँडमा एक्लोपनले पिरोलेर
ताराहरू आकाश छोडेर हिड्दै छन् हिमालको काखतिर ।
विस्मयको अन्तिम पाँउ ढोगी अब म नबहकिने संकल्प लिनै पर्छ
कलमले आँशु पुछी सक्यो अब लेखन बाँकी केही रहेको पनि छैन ।
रित्याउदिनँ भन्छु नयनको खाल्डो
छातीको फोटो गलेर टुक्रियो ।
सिउदिनँ भन्छु सपनाको भोटो
यथार्थको ठण्डीले चिमोटेर बिउँझायो ।
निस्कन्छूँ भन्छु यादको कारागारबाट
जाने त दिलको दैलो फोडेर हुईकियो ।
लेख्छु भनेथे सकसको साँगर
जो पश्चतापको रापैमा सुकेरै बिलायो ।
फर्किन्न भन्छु भत्केको गोरेटो
धड्कन सारा विगत हिडेर सकियो ।
बिर्सन्छुँ भन्छु मानवताको अध्याँरो
साथीले पिठ्यूँमा छुरा रोपेर सम्झायो ।
सोचहरू कहाँबाट आउँछन्––
चोक-चोकमा भग्वानहरू जागरुकै छन्
क्यौँ बद्मासहरू कहाँबाट आउँछन् ?
माया कहाँबाट आउँछ––
छाती-छातीमा बिस्पोटक धड्कन् चलिरहेको छ
एकतर्फी समय कहाँबाट आउँछ ?
बोझहरू कहाँबाट आउँछन्––
समाज, समय र प्रशास्न हत्कडी बेचिरहन्छ
जेलभित्र निर्दोषहरू कहाँबाट आउँछन् ?
षड्यान्त्र कहाँबाट आउँछ––
स्वार्थको राजमा चुर्लुम्म मुन्टो डुबाईरहेछ नयाँ टोपीले
गणतन्त्र कहाँबाट आउँछ ?
कानुनहरू कहाँबाट आउँछन्––
यथार्थ बेसुरा गुन्गुनाइरहन्छ
धुनहरू कहाँबाट आउँछन् ?
कोही आऊलिन् र भन्लिन्
मेरो अँगालोमा चिटिक्क अट्ने गरी
उनको जीवन बुनिएको छ !
कोही भेटिएला र बुझिएला
उस्को काँध ठ्याक्कै
मेरो शिरको सिरानी पुग्ने छ !
पर पर हेर्छु यो बगर
संकेत गर्छु; आवाज दिन्छु
अह, पत्झड् बगरमा बोट हुर्किने
छाँटकाँट कतै देखिदिनँ ।
हेरिरहेछु एक फोटो
हाँसिरहेछौ तिमी
सम्झीरहेछु म
रुझिरहेछ मन ।
दोडिरहेछौ अर्कै बाटो
पर्खिरहेछु म
डुब्दै गएछ जवानी
आँत्तिरहेछ समर्पण ।
छिप्पिरहेछ एक जिन्दगी
छोडिरहेछन् कोही
गाँस्सिरहेछन् अरु
बल्झिरहेछ ऐंठान ।
अजीब मान्छे––
न कोही बाटो-बाटोमा सल्लाह माग्दै पछि लागेको छ
न वरिपरि ताली बजाइदिने दुई-चार हात बटुलेको छ
न हेर्दा आँखै खाने घरबार ठड्याएको छ ।
हाँसिरहेथ्यो हिजो देख्दा, एक्लै––
न कसैले चुट्किला सुनाएथ्यो
न कोही यादमा पस्किएको थियो
न त स्थिति हस्यास्पद नै थियो ।
हिँडिरहेछ साँघुरो गोरेटो
फर्किरहेछ पुरानै आँगन
तापीरहेछ कुनाको अगेनो
फेरिरहेछ दुई मुठ्ठी प्राण ।
झुक्केर विदेशी चक्लेट उस्को हातमा पनि परे
भन्छ दाँतले चक्लेट भेटाउनु पैला किराले दाँत खाए
हाँस्छ चाउरी परेको छालामा भिरेर वर्षौँ पुरानो समय
उस्को दैलोमै आए र दैलोबाटै हजार सपनाहरू फर्किए ।
दिन निधारको सिरानीमा पल्टेर
सपनी देखिरहे हिजो-अस्तिका
नङ् हिँडे तर्किदै छाला नाघेर
यादमा आइरहे हितैषी प्रेमिका ।
न घाम बोकेर ल्यायो अनेक थरि काम
न शरीर चोटको वेदनामा ग्रस्त रह्यो
न अपेक्षित मुटुबाट पुकारियो आफ्नो नाम
न छाती घोच्ने नङ् काट्न फुर्सद जुऱ्यो ।
बर्खे भेल बटुलेर ल्याइरह्यो बाटाघाटाका कसिङ्गर
समुन्द्र नापेका थोपाहरू बाँफिदै गए सुस्त-सुस्त
मनको एक कुनामा जाग्दैथ्यो एक डर भयंकर
नसकिदा बटुल्न न रित्याउन जिन्दगी एकमुष्ट ।
देशले रगत मागिरहेछ
हाम्रो देशै मंशहारी ।
यहाँ बुद्ध, सगरमाथा, र विरहरूको ताँती छ
हाम्रो देश इतिहास प्रेमी ।
भूपीलाई इतिहास गलत लागेर के हुन्छ ?
हाम्रा नेताहरू झुठ्को व्यापारी ।
जनताको नशा-नशामा रोग-भोक-शोक दौडिरहन्छ
अबिर घस्ने माला लाउने नेता भाग्यमाणी ।
भाषण र घोषणमा देश दिनहुँ अघि लम्कन्छ
कुशासनले बुनिरहेछ यथार्थको टपरी ।
आँगनीमा छोरो नेता बन्ने सपना सुनाउँछ
पिँढीमा बुढी आमा रुन्छिन् धरधरी ।
चौरका कलिला पुष्पहरूको सुवास सोरेर
हुरी आएथ्यो एक औँशीको रात
घरको पिँढीसम्म बाटोको धुलो ओढेर
खोज्दै अविरल यात्रामा नयाँ साथ ।
परलोकको ढुकुटीबाट ल्याइएको अथाहा ज्ञानमा
रात गुञ्जियो माटो र मान्छे, चेतना र जगत बारे
घाम बिउँझाउन आइपुगनु केही पहिले ओछ्यानमा
मन्त्रहरू जपिए मुटु र समय, देउता र जन्नत बारे ।
बिउँताउदै कान्लाका झारपात सितले छम्केर
प्रकाश पल्टिरहेथ्यो लम्पसार पर्खेर प्राण ढकनीमा
भित्तामा गडेका निसानी त उडी गए उम्केर
चक्षु अझैँ पच्छ्याउँछन् पवनका पाइलाहरू सपनीमा ।
हातहरू चुलाउदै चुली तिर
टोलाई बसे नानीहरू घुर्दै
कदम चाल्न आँटेको गाँडी ।
जब दृश्टीको क्षितिजबाट
गाडीको दृश्य बिलाई गयो
लम्किए पाइलाहरू डाँडातर्फ ।
दोबाटोमा पाइलाहरू काँपे; मुटुमा पऱ्यो गाँठो
झल्झली यादहरूमा उस्को, जो परेलीबाट धमिला
नियाल्दै होलीन् गन्तब्य कोरिरहेको नयाँ धुलो ।
बाबु घर तलको ओडारमा लुकेर
आँशुले मुहार धोई सकी
उज्यालो पूर्णेको मुहार ल्याएर मात्र घर पस्छन् ।
घरका आँधा दर्जन कोठामा कुन्टी लाई
बहकिऊ भन्दा बालाई कोठाकै चारै कुना
हपार्नु हपार्छन् रे नामर्दको नाउँ काँडेर ।
कुनै दिन एक छोरा बाउ भएर
खोज्दै भौतारिने छ गुफाहरू
पग्लाउन छातीका हिमालहरू र नेत्रका बादलहरू ।
बुझ्ने छ
रोई-कराई सकी
एक मान्छेका आँशु खुब गोप्य हुन्छन् भनी ।
बौलाएर डाँडा-काँडा भट्टी-वेस्यालय
चक्कर लाइरहदा एक पुत्र
एक बाबु ढल्किन्छन् बुढ्यौलीमा ।
गगन पल्टी रहेछ
जूनलाई सिरानी हालेर
उपरखुट्टी लाएर
कल्पिदै तिम्रो बारेमा ।
तिम्रो स्मृतिको महासागरमा पौडिदै
उस्ले बुट्टा भरिरहेछ
आफ्नो बिराट मस्तिष्कको क्यान्भासमा
टिलपिलाइरहेका ताराहरू ।
टिकुली उपहार दिन भनी तिमीलाई
उस्ले ताराहरू गोजीभरी बटुलेको छ
सन्देश बोकाई मुटुका उस्ले पठाइरहेछ
परेवाहरू तिम्रा घर-आँगनका ठेगनाहरूमा ।
भेटाउन भनी तिमीलाई ऊ
आफ्नो पाउँ देखि शिरसम्मको लगन् जुराइरहेछ––
नाघी रहेछ आफ्नै सिमा, तन्काइरहेछ खुट्टाहरू र
फैलिरहेछ असीम दुरीसम्म समयको गति नाँघेर ।
समुन्द्रलाई भेटन आज एक नदी आएको छ
जस्को प्रतिक्षामा ऊ सायद नभएको हुनुपर्छ ।
उस्लाई लागिरहेछ कि यो नदी
कतै बांगो-टिंगो हिडेर––
कतै कुनै चट्टानमा ठोकिएर––
खोच्याउँदा खोच्याउँदै, थाक्तै, लड्दै––
अलि-अलि बाटो बिराउँदै जाँदा
उस्को सरनमा आइपुगेको हुनुपर्छ ।
समुन्द्र यो विवस्ताको घडीमा गर्न के सक्छ र ?
के ऊ नदीलाई आएकै बाटो फर्केर जाऊ भन्न सक्छ ?
के ऊ अब नदीलाई सत् मार्गदर्शन गर्न सक्छ ?
धेरै काल पुर्ब समुन्द्र निष्कर्षमा पुगेको हुनुपर्छ––
बाटो बिराएर, भौतारिएर, बहुलाएर, तड्पिएर,
बिछोडिएर, बिरक्त भएर, बैरागमा डुबेर
आउने सबैलाई बाटो देखाउन थाल्यो भने
ऊ आफै सिद्दिने छ ।
हिजो आज एक समुन्द्र उस्को सरनमा आउनेहरूलाई
हाँस्दै आफ्नो छातीमा लुकाउँछ
जस्को खोजीमा कोही नआउने कुरा जगजाहिर नै छ ।
यसरी हजार नदीहरू मञ्जुर हुन्छन् समुन्द्रको छातिमा विलीन हुन
र समुन्द्र लुकाई हजार नदीहरू छातीका थोपाहरूमा रोई बस्छ
जब सम्म अर्को पाहुना उसँग बास माग्दै आइपुग्दैन––
जुन बेला ऊ हर्ष उल्लासका साथ उफ्रिदै, गज्जिदै
नव आगन्तुकलाई स्वीकार्न त्यार भैसक्छ ।
खासमा समुन्द्रलाई उही क्षणमा रोइरहेनुपर्छ
जुन क्षणमा ऊ हाँसिरहेको पनि हुन्छ ।
शब्द धेरै, सत्य कम
लामो याद, छोटो सम्बन्ध ।
तन्केको एक गुलेली, थकित अर्को कलम
निमुखाको घर जलछ, लखपतिलाई मलम ।
सोचाईमा ठप्प एक ताल्चा, पुर्ख्यौली एक पहिचान
कला साहित्य चाहिँ शून्य, चेतना ओगट्छन् भाषण ।
धारिला हतियार, कम्जोर शरीर
देशको माया गाँडा, भ्रष्ट सरकार ।
किसानका पसिना, कुही जाने अन्न
टम्म नेताजीको भुँडी, कस्तो अचम्म ।
छाँडी मुहान बाटो बुनेर झरना नदी भेट्दछ
ताल मुहान भेटाउन अर्कै खुड्किलो उक्लन्छ ।
प्रकृति आफ्नो गर्भमा शुन्दर चित्र कोर्दछ
कवितामा लेखकले भिन्नै बयान लेख्दछ ।
अपराध भने पुरा समुदायको भिड मिलेर गर्दछ
समचारमा केबल एक नाम एक मुहार छापिन्छ ।
कुरो यत्र-तत्र सुइकिन्छ; कुरा गरूँ कुरैको दु:ख लाग्दछ
रहरहरू खोज्न बेसीँ झरेको तन्नेरी सपना डाँडाको देख्दछ ।
छामछुम गर्दा आफ्नै घाउँ यदाकदा चिने जस्तो मान्छे ब्यूँझिन्छ
आँखाको ढक्नी खोलेर लुसुक्क कतै टाँढाको लागि निस्किन्छ ।
ब्याक्ग्राउण्डमा बजिरहेको एक गित
श्रोताको ध्यानमा नपरेरै सक्केजस्तो
सक्किदैछन् सधैँ आँखा खोल्ने दिनहरू ।
आफ्नो बुढो सोचबाट उफ्रिरहेका सन्तानलाई
सुझाई-बुझाई गर्दै हैरान एक बाबुजस्तो
चिन्तित छन् भ्रम बेहोरिरहेका भोलीहरू ।
दैनिक कष्टको मारमा निसासिएर
रिंगटाले फन्फनी भौतारिरहेको एक नागरिक
खल्ति कोट्याइरहेछ किन्न नेताका बाँचाहरू ।
प्रगति पथमा लम्केर
मनको बाँसुरी भाँचेर
श्रीपेचको खोजीमा छ एक तन्नेरी
शिरको उक्लिदो उमेर नकारी ।
बाआमाहरू आफै उँभिरहेछन् आँगनमा
हातमा लट्ठी बोकेर
खेदिरहेछन् घर फर्किने छोराछोरीहरू
हकार्छन् पुँजी र प्रतिष्ठाको उपनाममा ।
समाज लागिपरेको छ बुझाउन
परिवर्तनको झिल्के चोकमा बसेर
माया पाउन लाग्ने लगानी जुटाउन
भिँडको मेलामा आफूलाई बेचेर ।
समय र स्थानले चार दिशा डुलाउँदा
सम्झना र सपनाले हात्कडी भिराउँदा
बिचरो ‘म’ भन्ने चरी गुँड् छाडेर आज
कुनै बादलको ढिस्कोमा खोज्दैछ बास ।
एकाबिहान चियाँको गलासमा
हर्ष गिँजा फिजाएर आउँछन
सूर्य अविरल झुल्किन्छ क्षितिज चिरेर
तिमी एक दुई पल उदाएर अस्ताएकी
जीवन त दिनहुँ सल्बलाइरहन्छ ।
तिम्रो अनुपस्थितिले नसताएको पनि होइन
बादलको मुठ्ठीमा कैद एक सूर्य जस्तो
चिसिएर मौन बसेको चियाँ जस्तो
केरमेट गरेर च्याँतिएको एक पाना जस्तो
मन पनि दिनै पिच्छे मुर्झाइरहन्छ ।
खैर, बादलले शितलता पनि पस्किन्छ
न्यानो लुेटेको बाँफले समयको गति चिनाउँछ
केरमेटको शिलशिलामै एक कवि जन्मिन्छ
हुनु नहुँदा, नहुनु हुँदा पनि संसार चलिरहन्छ ।
अनि गतिशील समयमा एक मनुवा थला नपर्ने पनि होइन
नयाँ कलम नयाँ कपीले मौन धारण गरेजस्तो
शिशिरमा सूर्यमूखी फूलले ढुंगा ढोगे जस्तो
चियाँ उमाल्दा घरमा आँगो सल्केजस्तो
मान्छे पनि कुहिरोमा अलपत्र काँगझै बेला-बेला अलमल्लिरहन्छ ।
यो नयाँ पाना, नयैँ कलम
समाउन पनि डर लागिरहेछ
कलकलाउँदा, ज्यूँदा, र रित्ता पानाहरू
सम्भावना प्रचुर जो बोकेका छन्
कुनै दम्दार लेखको शरणमा पो पाउँछन् कि कुन्नी ?
डर लाग्छ चलाउन मेरा औलाहरू
म टुटे-फुटेको एक लेखक
कतै लेख्न थालेको बिच्चमा
कोरेर, च्यातेर, भाँचेर यि नयाँ कलिला जीवनहरू
मिलकाइदिन्छु कि एक डुङ्डुङ्ती गनाउने डष्ट्बिनमा ?
मेरो जीवननै काँपीरहन्छ
यो धर्तीका मनुवाहरूका बातहरू सुन्दा
धर्म गुरूका अर्ति उपदेशहरू सुन्दा
सबै देशले नागरिकलाई कुवाको भ्यागुतो बनाएको देख्दा !
के लेखूँ अस्तित्वको यो खोलबाट ?
लेखूँ आफ्नै बिरुद्ध
आफ्नै बाबुको बिरुद्ध
आफ्नै गुरूआमाको बिरुद्ध
आफ्नै साथीको बिरुद्ध ?
निश्चित् मेरा औलाहरू थिचिनेछन्
औला थिचिएको लेखको साहारामा
यि कलिला कलम र पानाको भविष्यमा
जुवाँ खेल्न म कसरी तम्सिऊँ र खै ?
आफूलाई लत्याई सोचिहाल्दा फेरि
सायद म भित्रको एक कायरलाई
म जोगाइरहेछु, म सम्झाइरहेछु
कुनै एक भरपर्दो जाँगिर दिएर
घरपरिवार र समाजको माला अर्पेर ।
समाजको चुनाबमा उठेर
म जोगिइरहेछु सायद––
बिष पिउन सुकरातले जसरी
ढुङ्गा सहन ग्यालिलियोले जसरी
त्याग स्विकार्न बुद्ध जसरी ।
धेरै याम बितेपछि ऐनाको एक सक्कल चिनियो––
अबेर राति सम्म पनि ननिदाउने,
कति नाघे अति हुन्छ नठहऱ्याउने,
मान्छे उहीँ नै त हो !
बर्बाद गरेर आफूले आफैलाई,
अपराधको सजाय पनि आफैलाई दिने,
मान्छे उहीँ नै त हो !
आफू प्रतिको घृणाले आफैलाई राक्षस बनाउने,
क्षामा याचन गरी मन्दिरको ढुंगामा शिर चढाउने,
मान्छे उहीँ नै त हो !
जबरजस्ती कसैले अपहरन गरेर राखेकोझैँ ठान्ने,
आफ्नै जीवनको वास्तबिक्ताबाट उम्किन खोज्ने,
मान्छे उहीँ नै त हो !
नसोधोस् कसैले आएर मेरो जीवन कहाँ दुखेको छ
सदाबहार हँसिलो मुहारको व्यथा कहाँ लुकेको छ
झुटो बोलेर थाकिएको छ
फ्याट्ट सत्य निस्कन सक्छ ।
तलाश गर्ने कष्ट पनि नगरोस् कानुनले दोषीका घर नगरहरू
औल्याउन पनि नखोजोस कसैले पछि-पछिसम्म फैलिने असरहरू
हिँडेर डाँडो काटेको छ घाइतेले
बोलाए बिगतको घाँउले ऊ पुन: फर्किन सक्छ ।
नसोधोस् कसैले कि एउटै घाउँले कतिलाई पोलेको छ
ठडिएको हिमाल कति पत्थर किति हिउँले ढाकेको छ
कसैको एक विनम्र प्रश्नको उत्तरमा
निर्धक्क उभिएको एक मान्छे ह्वात्त पल्टिन सक्छ ।
आँखामा एक झार पसेर आँखामै बिलायो
पित्को झारले पुरै ब्रह्माण्डनै धमिलो बनायो ।
मानसपटलमा एक सोच बार-बार दोहोरिएरै वर्षौ बिझायो
सोचै त हो सोचेरै टारौला भनेको त मनमा घरबारै बसायो ।
हिजो अस्ति पर्खिदै, कल्पिदै कोरेको भोली कता पो हरायो
टाँसिएको छ छातीमा घडी; भित्ताको घडीले कति पो तर्सायो ।
चञ्चल तालको पानीले अचल हिमालको सम्झना थोपामै पस्कियो
धेरै सम्झनामा अड्किएछ; बग्नु पर्ने जीवनमा जमेर पत्थरै बनियो ।
ट्वार-ट्वार गरिरहने कुवाँको भ्यागुतोले बिस्तारै आफ्ना बिलौना बिर्सियो
चराको एक गित फूलको एक झोक्का वासनामा आफ्नो अस्तित्व सुम्पियो ।
बाटा छन् अनेक
मान्छे छन् धेरै
यो मुटु कुन बाटो बिराई
कुन मान्छेलाई खोजिरहेछ कुन्नी ?
यात्रा सबै पैदल थकाउने
समय हिँडेर कहिल्यै नअघाउने
यो यात्री कुन घडी हेरी
कुन गन्तब्य तर्फ लम्किदै छ कुन्नी ?
कमाई कम ऋण धेरै
छानो कम्जोर वर्षात धेरै
यो निमुखाले कुन हिसाब गरी
घरबार र साहुँ समालिरहेछ कुन्नी ?
छोटो भन्दा केही दुरी बढी
ठिक्क हुन हल्का अपुग
यो भोगाई कुन तारजुले नाँपी
मिल्दो जुल्दो बुझ्न-बुझाउन सकिन्छ कुन्नी ?
थुप्रो प्रश्न छन् गोजी-गोजीमा
फटाहा-सन्त सब छन् आ-आफ्नै खोजीमा
यो दौड्धुपमा कुन छाता ओढी
एक पुजारी सडक पेटीमा दैब बेचिरहेछ कुन्नी ?
हिँउ चुमिरहेछ धर्ती
दुरी जत्तिकै आकाश धर्तीको
त्यतिनै परको एक घाउँ पनि
घरी-घरी दुखिरहेछ ।
हिमकणहरू टेकिरहेछन् पाइला
धर्तीलाई ओढाइदिदै नरम कम्मल
पुस्तकका सबै पात्रहरू मौन छन्
सिरेटो भने ढोका-झ्याँल जिस्क्याइरहेछ ।
रात बुढेशकालको हड्डी सोझ्याउँदै
कोल्टो फेर्दै छ निन्द्रा बिचमा
चन्द्र बाम्बे सर्दै उठाउँदैछ सूर्यलाई
रूखहरू चढाइरहेछन् भेटी धर्तीलाई ।
निद पलाइरहेछ
आँखाको खोपीमा
सम्झना उकालो चढिरहेछन्
शिरको टुप्पीसम्म ।
पर पर क्षितिजमा केही परीहरू लाली लाउदै छन्
चक्षु नै धम्लिने गरेर एक ठिटो बसेर सन्ध्याकालीन झ्याँलमा
कस्दै छ डुबिरहेको जवानीका बुढ्यौली कम्मरहरू ।
पर पर डाँडाबाट फर्केर आउँदै छन् केही बथान पंक्षीहरू
पर्खाईको साँघुरो पर्खालमा अढेस लागेर निदाउन खोजिरहेको एक बुढो
सोच्दै छ चरीको गुँड जलाउन जहाँ बस्ती बसाएका छन् माकुराहरू ।
वर-वर आइरहेछ बतास ल्याएर रित्तो कोसेली नाक-कानका जालीमा पस्किन
सुन्सान् क्षणमा शून्य वायू चिच्यारै सकिन्छ शून्यताको चेप्टो भुँडीमा
सुन्दै सुनाउदैछु मनको कुनामा उब्जेका बिर्से-बिर्से लाग्ने आवाजहरू ।
आज कोरेर केही समाज-शास्त्रका चुलिँदा गन्थनहरू
यो गन्हाउने गल्लीका आदर्शको भारी थामेका भित्ताहरूमा
ठ्याप्प टाँसिदिऊँ कि क्याँ हो एक क्रान्तिको टिप्पणी ?
हैन, कि बरु घुँढा टेकेर, छाती पोखेर उनको न्यानो काँखमा
एकबारको एक्लिदो एक खोला हुँइकिएर अर्को दोभानमा
रोपी दिऊँ कि क्याँ हो एक प्रतिको फूलबारी ?
आज उठेर ओच्छ्यानबाट सबेरै घामलाई भित्र्याउन
यो अँध्यारो कोठाको गुप्त कुना-कन्दराहरूमा
धपाइ दिऊँकी क्याँ हो हर बिहान मन लठ्ठयाउने एक मञ्जरी ?
होस्, बरु टुँकी बालिदिएर अन्धकारका कणहरूलाई
सपनामा एक बिरामी ढाँडलाई ब्यूँझाएर राती-राती
खुवाई पो दिऊँ की यथार्थमा मुछिएको एक तितो-सत्य औषधी ?
न बिजेको थियो काँडा पाउँमा
न घोचेको थियो केसैले शरीरमा
तर आँशु यसै बर्सिन भ्याए ।
बिगतको नजानिदो घोचाई पनि होइन
बर्तमानको यथार्थले पोलेको पनि होइन
तर कुन्नी कुन समय जुराई आँशु आइपुगे ।
न भेटाउन हिड्या थिए झिस्मिसे भविष्य
न खोज्न नै तल्लिन थिए भब्य गन्तब्य
तर आँशुले जरुर मुहान छोडेका थिए ।
न औला लम्किए मेटाउन उनीहरूका मार्गहरू
न उनीहरूले बास नै खोजे मुहारका बस्तीमा
तर आँशुले मस्त निदाएको अनुहार चाहिँ ब्यूँझाए ।
न टुंगियो आँशु कि आँखा जेठो भन्ने विवाद
न आँखा आफ्नो हार स्वाकारी रोई नै बसे
तर आँशुले आँखाको कसिंगर हटाउन लागिरहे ।
बादल पारी अर्को एउटा देशमा
लडीबुडी खेल्दै चौरमा,
चराहरूलाई सुर संगित सिकाउदै,
टुहुरा फूलहरूलाई आफ्नो
केशको स्वर्गमा बासको कृपा दिदै
तिमी गुजारी रहेकी हौली अर्को सामान्य दिन ।
हाँगा त्यागेका तपस्वी पातहरूलाई सुमार्ग दर्शाउँदै
गन्तब्य बिर्सेका पथहरूलाई आफ्ना पाइलाको आशिर्वाद दिदै
एक प्रेमिल नजर कुरिरहेको ब्रह्माण्डलाई गाँजलु नयन पस्किदै
तिमी गुजारी रहेकी हौली अर्को सामान्य दिन ।
हिमालको टुप्पो ओल्लो पट्टीको डाँडामा तिम्रो घर होला
जस्को बार्दलीबाट आँगनीका डिलका फूलको नाँचमा टोलाउँदै
खोपीमा पाउँका पाउजुहरूको झंकार बिसाएर निन्द्रा बोलाउँदै
तिमी गुजारी रहेकी हौली अर्को सामान्य साँझ ।
आँखा खुब चञ्चले
फूल देख्छन् अनि मन बहकाउछन्
एक सुन्दरी निवासको बाटो पैल्याउछन्
जब घामले घुँडा टेक्ने सुरसार गर्छ
आँखा फर्केर आफ्नै झुपडीमा मुहान भेटाउछन् ।
दोकाने आमैले हाँस्दै बेचेको कलम
घरी-घरी पानाको अंगालोमा रुने गर्छ
खुट्टा भाँचिएको छ एक लेखकको
बिचरा लठ्ठीले घोर सास्ती खप्नु पर्छ ।
दिलको दिमाग कि त दिमागको दिल नभएकै हो ?
हर दिन एक दिल एक दिमागसँग सिंघौरी खेल्छ
दिमागले दिलमा यस्तो सियो चलाउँछ
आँफै उम्कन नसक्ने गरी आफ्नै गाँठोमा फस्छ ।
खाली––सन्नाटा––फाँट
बगैँचा भनी नठान एक मरुभूमीलाई ।
चिप्लो––हिलाम्मे––बाटो
बर्खा भनी नसम्झ एक झरीलाई ।
भ्वाङ्ङ––रित्तो––खोपी
खाल्डो भनी नठान एक कुवाँलाई ।
टन्न––भाग्य––खल्ती
सम्पत्ती भनी नसम्झ एक जुवाँलाई ।
चट्ट––वाक्य––सन्देश
बुद्द भनी नठान एक नेतालाई ।
निरन्तर––आवत-जावत––यात्रा
सवारी मात्र नसम्झ एक जिन्दगीलाई ।
लाली ओंठ, गाँजलु नयन, फराकिलो निधार वाली
रातो साँडी, लाल दुप्ट्टा, सेतो गुँरास शिरमा सप्केर
मस्किदै हिड्ने गर्छन् साँझ बिहान सोभा बढाउँदै
भोकमरीको अंगालोमा बाँधिएको शोक-ग्रस्त गल्लीमा ।
झोत्रा लुगाफाटाले ज्यान ढाकेर टन्टलापुर गर्मीमा
बेरोजगारी हातमा फूट्बललाई नचाइरहेको
एक मरनच्यासे ठिटो आफ्ना दुनियाँका दुई दिने खडेरी
चटक्कै बिर्सन्छ तिम्रो वशन्तको आगमनमा ।
यो गल्ली पनि श्रापमै बाँचिरहेछ क्यार
तिमी कुन राजदरबारकी महारानी हौ कुन्नी !
तिमी हिड्छ्यौ वेवास्ता गरेर यो गल्लीको धुलो
तिम्रा खातिर बिच्छ्याइएका मुटुहरू दिनहुँ कुल्चेर ।
भोको पेटमा पालेको एक नेता चाँदीको लठ्ठी टेक्दै गाँउ फर्किदा
हाटबजारबाट एक थान गफ उपहार ल्याई सोझालाई झुक्याएझैँ
यि हरफहरू नेताका गफ जस्तै हल्का-सस्ता ठान्दिहो एक निठुरी
जो अस्तितवको कुवाँ निचोडेर उब्जेको दुई थोपा मसिले कोरेका हुन् ।
भैगयो त नि तिमी-हामी भन्दा केही कोष पर अर्को बस्ती पनि छ
त्यो बस्तीमा पनि नाप-जोखको तराजुमा तौलिदा धेर-थोर यस्तै छ
एक आमा, एक लोग्ने, एक बहिनी शिर नियूराउँदै, ठड्याउँदै हेरिरहेछन्
अरूले आफ्नो जीवन बारीबाट उखलेर लगेको एक दुईवटा बोटहरू ।
फलानोलाई उस्का दन्ते लहरको डाँहा भए
सम्झाउनु कसैले उस्को कुनाको दाँत बारे ।
कसैलाई भब्य महलका आठौँ तलाको घमण्ड पलाए
सम्झाइदिनु उस्लाई पर्खिरहेको आर्यघाट बारे ।
सपनाको सिस्नो पानीमा एक युबक बैरागमा डुबे
सुनाउनु उस्का जस्तै लाख-हजार हकिकत बारे ।
तिम्रो नाममा ताली पिटिदा संसारले तिम्रो पुरा कथा बिर्सिए
बताइदिनु कुनै रात तिम्रो ठाडो शिर ननिदाउने ओछ्यान बारे ।
घर छोडेर खजनाको खोजीमा निस्केका कोही यात्रुहरू भेटे
सुनाउनु गन्तब्य लत्याएर घर फर्किदै गरेका तिम्रा पैतला बारे ।
दिलमा ज्वरो जस्तो केही बिमार पलाएको छ
न डाँक्टर न औषधी न कुनै सान्तवना खोजेको हो
तिर चलाएर गइन् जो दिललाई उहीँ चाहिएको छ ।
दिन सक्किदा मैनबत्ति सक्किएझैँ पुन: अँध्यारोमा
पर्खाइमा टोलाएका आँखाको प्रकाश नसकिने रहेछ
निद चोरेर गइन जो नयनलाई उहीँ चाहिएको छ ।
बच्चाहरु एक-अर्काको खेलौना पाउन ढिँपी कसे जस्तो
अथक जिद्धी गर्न पल्केको छ दिल उस्लाई पाउनको निम्त्त
आफ्नै मर्जीले छोडेर गइन् जो धड्कनलाई उहीँ चाहिएको छ ।
सबै बगैँचामा फूल फूल्दैनन् ए मित्र भनी सम्झाउनु सम्झाइन्छ
फूल ओइलाएको बोटका काँडा अँगालोमा सजाउन तम्सिन्छ ऊ
जो फूलले बसाइ सरेर गैसक्यो अभागीलाई उहीँ चाहिएको छ ।
धेरथोर मदन-मज्नुहरूले आफ्नो ज्यान जवानीको ख्याल राखे पनि हुनी
फूलको कविता लेख्न माटो मूनि कुहिएको बिउँलाई पनि माया गर्नुपर्ने
गनहाउँदै गर्दा आँफू मगमगाउने छ जो लाल्चीलाई उहीँ चाहिएको छ ।
लेख्दा एउटा कविता राम्रो
उनका हातका चुरा, कानका झुम्का, शिरको चुल्ठो राम्रो
कलकल बगिरहेको एक ब्राह्रैमासे नदी राम्रो ।
हड्डीहरू आफ्नै छालामा कुहिएरै जाने भएता पनि राम्रा
राम्रा आफ्नै फुपू, गाईवस्तु निलेका भिर पाखाहरू
आमाबालाई तह लाउँन खुकुरी पक्डेका सन्तान पनि राम्रा ।
समयसँगै चिसिएर जाने गलासको चिया राम्रो
चराहरू वनमा दोहोरी खेलेको झन् कति राम्रो
भोग्दा कोक्याउने अनुभबहरू सम्झिदा साह्रै राम्रा ।
हेर्दा सबैलाई उनैका निर्दोष स्थितिको खाल्डोमा राखेर
सुक्ष्म-अकाट्य अवस्थाको बन्धन र विवश्तामा जोखेर
यहाँ रूवाउनेहरू कस्ता राम्रा अनि रुनेहरू त ज्याद्रै राम्रा ।
धेरै भाउ नबढाउँ कान्छी भन्छु, उनी माने पो
चोक-चोकमा गल्ली-गल्लीमा वस्तुको वास्तविक्ता नबुझेर
मूलय के अमूल्य के, तौल्य के अतौल्य के नबुझेरै
महंगा-चहकिला सम्पत्ति जोड्ने माड्सापहरूको ओइरो छ ।
बाटो हेरेर नपर्ख भनी सम्झाउँछु प्रेम वियोगमा परेका मित्रलाई
पुरानो घाउँको नाशो बोकेर निथ्रुक्क भिजेको मुटुलाई सम्हालेर
पुन: दिनचर्याहरू चलाउन भए पनि ऊ जरुर उठ्नुपर्छ
नफर्किनेहरूको अर्कै गाउँको अर्कै मुटु भेटाउने सवारी छ ।
भट्टि पसलहरूमा बुद्दको मुर्ति नराख भन्छु, साहुजी माने पो
मदिराले लट्ठ बोलीका शब्द-शब्दमा गोली-बारुद पड्काएर
कसैको भावनका कलिला कोपिलाहरू लुछेर
रक्ताम्मे हत्केलाहरू बुद्दको पाउँमा पुछ्ने भक्तहरूको लस्कर छ ।
भोली आउँदै होला
कसैको डोली ल्याउँदै
वशन्त ल्याउँदै कसैको खडेरीमा
उकालीका ओराली ल्याउँदै ।
भोली यसरी पनि आउँदै होला
पर्खिएका केही मुहार नफर्काएरै
शिशिरको पैतलामा पालुवा नरोपेरै
हिजो आजका डामहरू नमेटाएरै ।
भोली भुलेर समयको मुठ्ठीमा
लड्दै, उठ्दै एक जडियाँ जसरी
पर्खी बसेको घरको दियो निसास्याउँदै
आउँदै होला बिस्तारै, अबेर घुँडा टेक्दै ।
बाँचा गरेर नयाँ ऐना नयाँ तस्बिर
दुर-दुर क्षितिजमा बाम्बे सर्दै
हात हल्लाउँदै बिदाई र बधाईका
भोली माँसिदै, छोटिदै आउँदै होला ।
व्यस्त सहरमा रहरहरू फुत्त-फुत्त भाँगिरहेथे आफ्नै गुँडबाट
जब कुनै सडक छेउको एकान्त कुनामा तिमी उदायौ शून्यबाट
भेटियौ पुरानो स्मृति जसरी जो भुलिएको होस् आफ्नै चेतनामा ।
मुहार यस्तो कतै देखे-देखे कतै भेटे-भेटे जस्तो
चन्द्र मेरो शिर चढे जस्तै देब्रे छाती पसे जस्तै
तिमी उभियौ सहजै पहिलो पटक कयौँ पटक जस्तै ।
उस्को आवज कस्तो भएछ ? के उस्लाई बोलाउन उचित हुन्छ ?
के उस्को आवाज पहिले-कहिले सुनिने-बोलिने जस्तै छ अझैँ ?
फेरि जूनलाई बोलाएर जूनका कुरा सुन्न पाएको कसैले छ र ?
यो द्वविदा मेटाउन सायद कायरताको मुठ्ठी कसेर उस्लाई म बोलाउनै पर्छ
फेरि कुनै जबाफ यस्ता हुन्छन् जस्को उत्तर पाउन मुम्किन् हुँदैन––
के तिमी पहिल्यै भेटिएकी थियौ ? यस्तो प्रश्नको भविष्य के हुन्छ ?
प्रश्नको उत्तरमा उनी जुरुक्क उठेर रिसाउँदै मोबाइलको फेदको गहिरो तपस्याबाट
नाक खुम्च्याउँदै सुस्केरा छाँड्दै टाउको कन्याउँदै टेबल नै छाँडेर हिडिँन भने
उसँग फेरि कुनै अर्को स्थान कुनै अर्को समयमा भेट्टिने मेलो-मेसोको टुंगो छैन ।
होस्, बोलाउदिन उस्लाई, सुन्दिन उस्को कोइली जस्तो स्वर, सोद्दा पनि सोद्दिन्न––
के हामी पहिल्यै भेटिइसक्यौँ ? के हामी फेरि भेटिने छौँ ?––
एक दुई दर्जन प्रश्नको उत्तर नपाएरै अस्ताउनु पनि जिन्दगी एक लक्ष्ण न हो ।
स्टेथोस्कोप छातीमा टाँसेर डाँक्टर
ज्यान ठिकठाक भएको दाबि गर्छन् ।
यथार्थमा रातभर आँखा चुहिन्छन्
धड्कनहरू सुँक्सुँक्क रोई बस्छन् ।
सिलिपिङ् ट्याबलेटको कुरा डाँक्टर बारम्बार गर्छन
यता दिल बेहोसीबाट नब्यूँझेको महिनौ भैसकेको छ ।
औषधी आजको रात पनि कुनै काम आउँने सुर छैन
टुलुटुलु हेरी बस्न सिबाय जूनले अरू केही जानेकै छैन ।
पर्खाइको छट्पट्टीबाट भागेर
केही अंशहरू मनको बाँधबाट
खोज्दै आएका छन् तिम्रा पाउँहरू ।
बिराई बाटा अनेक
अल्झिनेछन् कुनै भिरको काँडेबारमा
कुनै आइनै छाड्नेछन् तिम्रो दैलोमा ।
समस्त जगतको अन्तिम घडीमा
नयनका दुई झलकहरू हामी साँट्दा
चिने-भेटेझैँ लाग्ने छौँ एक अर्कालाई ।
झिना मसिना मनमुटाबमा,
झैझँगडामा, भ्रमहरूमा, सफलतामा, असफलतामा,
आशा, निराशाहरूमा
मन अलि कम दुख्न थालेको छ ।
आफ्नै औलाका टुप्पा-टुप्पामा उम्रेका
नङ्ग्राहरू पनि बिस्तारै खिइदै छन्
शिरले आजभोली शरीर भन्दा टाढा
हेर्न र बुझ्न पनि सिकेको छ ।
एक दुई दर्जन दुखाईहरू
ज्यानमा थपिएका पक्कै छन्
धेरै वर्ष पछि मुहारको दाग पनि
नितान्त आफ्नो अनि प्यारो लागेको छ
वर्षौ लगाएर आफूलाई
अलिकति बर्ता चिनिएको छ ।
कसैको नजरको कैदमा
कसैको बेवास्तामा
भुलेका भोली र सम्झेका नाली बेलीमा
जिन्दगी यसरी पनि दुख्ला भनेर
मलाई थाहा थिएन ।
बेरिएर एक सर्पझैँ
घिस्रिदै आफ्नै मस्तिषकका बगरमा
गाँड्दै विषालु दाँत आफ्नै छालामा
जिन्दगीले काँचुली फेरदैन भनेर
मलाई थाहा थिएन ।
पढाई विद्यालयको सकिए पछि
घोकी पढेका ज्ञान दफ्नाएर
आफै रुवाउदै आँशु पनि आँफै पुछ्न लगाउँदै
कुरा आँफैसँग गरी शान्त आँफैसँग रहन सिकाउँदै
जिन्दगीले यसरी पनि पाठ पढाउँछ भनेर
मलाई थाहा थिएन ।
दिलको खबर सोधेर रातको अँध्यारोमा
कहाँ जान्छिन् उनी पत्तो नै नदिएर ?
केही नितान्त आफ्ना लाग्ने कहानी ढाकछोप गरेर
दुनियाँका केही कहानी बटुलेर रातको उधारो खातामा
केही न केही आफ्ना जस्तै हालखबर त जरुर खुलाइन्थ्यो ।
खैर, उनी फर्केर पुन: जब आइपुग्ने छिन् मेरो धोस्त छातीमा
रात ढलिसकेको हुनेछ, चन्द्र सूर्यको रापमा पग्लिसकेको हुनेछ ।
यदि चन्द्र नै बिलाई जाने जैरे एक मुहार न हो भने
उनलाई भुलाई निन्द्राको जुगाँड गर्न म आँट जुटाउनु पर्छ !
यो बाटोले कुनै ठोस गन्तब्य पुऱ्याउने टुङ्गो छैन
एका बाँठो मार्गदर्शकका पाउँ साथैमा त छन्
जो निर्धक्क गन्तब्यको कुरा गरी भरोसा दिलाउँछन्––
उन्लाई यो यात्रा आफ्नो नभएर मात्र सरल लागेको हुनुपर्छ
नत्र आफ्नो कतै लत्रिरहेको यात्रा सम्झेर उनी पनि आत्तिन्छन् ।
भरिया दाइको कहानी पनि अजिब छ बा
बोकेर आञ्जानका भारीहरू भिरपाखाहरूमा
आफ्ना आँगनको गाँठो फुकाउन खोजिरहेछन् ।
कस्तो विचित्र जगतबासी हामी जहाँ
पत्थरले फूल बोकेको छ, समुन्द्रले बादल बोकेको छ––
चुपचाप छातिमा एक दिलले अर्कैको याद बोकेको छ ।
लाग्छ यो माटोलाई श्राप लागेको छ––
देश-देशका दर्जनौ कुना कन्दराहरूमा
पेटहरू भोकले कोक्याइरहेछन् र
सासहरू सस्तिएका छन् कुनै सहरका ऐष्ट्रेहरूमा ।
एक बगाल छ जो अर्को बगालको घाँटी निमोठेर
आफ्नो पाखुरी बलको प्रदशनी गर्न मात्र जानेको छ
एक बच्चाको कमलो छातिको बहादुरीबाट
बा, आमा, र हात-पाउँको भेटी चढ्ने गर्छन् ।
थाहा हुँदो हो त उस्लाई कि आफ्नो आकाशबाट बममात्र वर्षिन्छन् भनी
ऊ टेक्न पक्कै मान्दैन्थ्यो यो श्रापमा मुछिएको धर्ती
जान्दा यहाँ अन्त्यको सुरुवात र सुरुवातको अन्तय
झुटा ठहरिन्छन् स्वर्गबाट पठाइएका तमाम कहानी ।
एक सान्दार ल्याम्पपोष्ट
बेडको छेवैमा टुसुक्क बसेर
रात भर जागराम बस्न तम्सिन्छ ।
पंखा छ अर्को पट्टी
दिन रात नभनी
फन्को मारिरहन्छ जगतको ।
तिन-चार दर्जन किताबहरू
मस्तिषक कन्याउन उस्तै
रात-दिन तल्लिन रहन्छन् ।
केही जोड् नयाँ-पुराना
कपडाहरू पनि सुहाउने नै छन्
कोठा भन्ने नै हो भने
चित्त बुझ्दो शैलीमा सजिएको छ ।
बाँकी केही चिज छन् भेटाउन बाँकी
र सजाउन कोठाका भित्ताहरूमा
कयौँ हाट्बजार डुली सक्दा पनि
केही चिजहरू भेटाउन मुस्किल परेको छ ।
दुई-चार मुठ्ठी सास, केही आसाहरूको कुम्लो
दुई-चार दिनको जाँडो, अन्तमा आगोको न्यानो
उत्तर यस्ता छन्
यस्ता उत्तर माथि कस्ता प्रश्न उठाउँछौ ?
तिम्रा जस्तै आँखा उस्का पनि छन्, एक समाज उस्को पनि त छ
पिठ्यूँमा अञ्जान भार होला, छातीमा गडेको तिर होला उस्को पनि
मान्छे यो सभ्यताका सब यस्तै हुन्
एउटा मान्छेलाई तिमी अपेक्षाको भारि कति बोकाउँछौ ?
पदार्थ ब्रह्माण्डका यिनै हुन्, अर्को जुनी पनि यस्तै हो
साँझ बिहान कयौँ बिलाए, जुनी पनि बिलाई जान्छ
परीक्षा यस प्रकारको छ
प्रश्नोत्तरको सिलसिलामा के याद छ के भुली सक्यौ ?
पानामा उतार्न प्रयत्नरत छु म एक मनको तस्बिर
ब्यूँझाएर केही लक्ष्यहरू र केही लक्ष्णहरू
सृंगार बिना नै प्रस्टै कोरिदिनेछु म एक तक्दिर ।
रित्तो यो पानामा उतारिदै छ मनको मसाँनघाट
भौतारिरहेछ खरानी अंगालेर मस्तिषक चार कुना
स्वर्ग-नर्कको रणभूलमा बितेछन् हजारौ सूर्य चन्द्र ।
लाशका न नयन हुने न त कुनै दृश्यको सम्झना
कतै दुखे-हाँसेको हिसाब किताब गोप्य राख्न
बनेको भेटियो मनमा एउटा सुक्ष्म झ्यालखाना ।
यो लाश चुपचाप उभ्भेको केही घण्टा पनि बितिसक्यो
उस्को मनको फेदमा संयम रहेको कुहिरो झ्याँल उघारेर
वायूमा मिस्सिने तर्खर् गरिरहेको खबर आगोले ल्यायो ।
आब वायू उत्खनन् गरेर सत्यहरू उस्को छातीबाट
डुलाउनेछ यो धमिलो सहरका रञ्जित गल्लीहरू
र पस्किनेछ स्वर्गको द्वारमा
जो तिम्रा निदाइरहेका कानहरू हुन्
र परेलीहरूमा जो हुन् केवल एक मैदान
जहाँ जन्म र मृत्यू लुकाछुपी खेलिरहन्छन् ।
जूनको प्रसंसामा प्रश्सत पाना भरिएका छन्
चिहानमा विश्राम गरिरहेका केही मुर्दाहरू छन्
वास्तबमा जून हेर्न फुर्सद भएक उनीहरू मात्र हुन् ।
ज्यूँदाहरू हातमा पुष्पको झुप्पो बोकी आउँछन्
चिहान माथि भेटी चढाउँछन् अनि आँशु खसाल्छन्
र हतार हतारमा निस्कि हाल्छन् मुर्दाहरूको अंगालोबाट––
उनीहरूलाई जून हेर्न फुर्सद कहाँ छ र !
यि मुर्दाहरू न दिन न रात भनी धित नमारेरै
एक टक चियाइरहन्छन् आकाश च्यातेर आफ्नो छाती
पक्कै जीवनकालमा यिनीहरूलाई पनि
जून, तारा, बादल केही हेर्ने फुर्सद नजुरेको हुनु पर्छ ।
एक-दुई थान कुराहरूलाई ओल्टाई-पल्टाई
जिन्दगीको मान्द्रोमा केलाई बसेको धेरै भयो ।
केही प्रतीक्षित घटनाहरू छन्
केही झट्टै गैदिए हुनी जस्ता
केही छिट्टै आईदिएझैँ लाग्ने
अनि केहि बाटै नपरे हुनीझैँ लाग्ने ।
कसरी सम्झाऊँ दिललाई ?
केही आउँदैमा, केही जाँदैमा
केही हुँदैमा, केही नहुँदैमा
एकै पटक सबै ठिक हुँदैन भनेर
हुँदैन सबै बेठिक एकै पटकमा भनेर ।
दुनियाँलाई अन्धोको उपनाम दिई
तिमी छारो छर्दै छौ रे
उज्यालोको औचित्य नभेटी
आफ्नै नानी भरि ।
निस्पट्ट रातको हुरीसँग सिँगौरी खेली
कौँसीमा दीपले भुकम्प खपिरहे जस्तै
हुन सक्छ तिम्रो लक्ष्य अँध्यारोमा झुल्की
बलेरै सक्किनु एक जुनकिरी जस्तै ।
तिमी नबल्दा सम्म तिमी आँफै ब्यूतिने छैनौ
बले पछि तिमी कुनै कुनामा बञ्चित आँखाहरू
खोच्याउँदै निस्केर अन्धकारबाट सुस्त-सुस्त
खुलेर हेर्ने छन् माटो-ढुंगामा जन्मेका बाटाहरू ।
वस्तु, व्यक्ति, संस्थाको नाम हुन्छ वास्तविक्ताको कुनै परिचय हुँदैन
देहको नजरमा सम्पत्तिको हिसाब हुन्छ आत्माको भने कुनै संचय हुँदैन ।
मान्छेको लेखा-जोखा-दस्तावेज हुन्छ मृत्युले केही प्रमाणपत्र खोज्दैन
नगरमा नगरीको घरजाम हुन्छ सरणार्थीले कहीँ कतै सिमाना खोज्दैन ।
रहरका गुलेलीले चरा थला पार्छ बिचरो बचेरोको पेटले चारो भेट्दैन
फटाहाका बन्दुकले बाटाहरू त्रसित छन् एक बुढो हिड्ने मेसो भेट्दैन ।
कुर्सीमा बसी बोलीमा बुद्दका वाणीहरू पड्काएर मान्छेले बुद्धत्व पाउँदैन
दोहोरिए पनि घाम, बादल, र वर्षा धर्तीले पुन: दुरुस्त अस्तित्व पाउँदैन ।
जाँडो खपे पनि बर्कीले भित्री मौसम सुहाउँदो ठिक्क कुनै वस्त्र पाइदैन
हजार सुनिए पनि कहानीहरू एक जीवनको सिंगो भोगाई सर्वत्र पाइदैन ।
एक मान्छे खुब एक्लो हुन्छ––
उस्को सक्कल, उस्का बा-आमा, इतिहास
उस्का मसिना रहर-बाध्यतामा पलाएका टुँसाहरू
उस्को हाँसोमा झुल्किने दन्ते लहर
टुक्र-टुक्रा उस्का जस्तै खोज्दा संसार भर
ऊ जस्तो अर्को कोही भेटिदैन––
एक मान्छे खुब एक्लो हुन्छ ।
मान्छे पनि के एक्लो हुन्छ र ?
बा-आमा र समाजको बुई चढेको छ
सबै त्यागेर एक्लिन्छु भन्दा पनि
अघि-अघि सो यात्रामा ठुलै हुल भेट्टिन्छ ।
यस्ता सपना र यस्ता मान्छेको घुइँचो
कति आए कति अस्ताइ पनि सके
कसरी मान्नु कि यस्तो भिँडमा मान्छे एक्लो हुन्छ ?
मान्छे विशेष गरी भिड्मै त एक्लो हुन्छ
कहाँ कहिलेको पुराना सपनाको भारी बोकेर
एक मान्छे न आफूलाई न अरूलाई बुझेर
एक सस्तो छरितो हाँसोले गुजारा चलाउँदै
आफ्नो घाँटीमा अड्केका केही टुक्राहरू
न ओकल्न न निल्न सक्दा भिड्को बिचमा
एक मान्छे खुब एक्लो हुन्छ ।
समुन्द्रमा के एक नदी एक्लो हुँदैन ?
समुन्द्रमा एक नदी कसरी एक्लो हुन्छ ?
कहिलेकाहीँ कुरी बस्नु पर्ने हुन्छ:
जाने हरूको बाटो
हात हल्लाउदै
मुटु कमाउदै
खुट्टा भुईमा गाड्दै
कहिलेकाहीँ एक टक उँभिरहनु पर्ने हुन्छ:
जानेहरूका पाउँ पुज्दै ।
परेली पुन: नउघ्रिने गरेर आँखाहरू थाकिसक्दा सम्म
खुट्टा पुन: जिउँलाई सिढी चढाउन नसक्ने हुँदा सम्म
मुटु पुन: छातिभित्र डुबुल्की मार्न समर्थ नरहदा सम्म
कहिलेकाहीँ पर्खिरहनु, छुट्टिरहनु, लडीरहनु नै
एक जिन्दगीको उद्देश्य हुन जान्छ ।
एक बुढो लठ्ठीको खुट्टो टेकेर
संसार घुम्न निस्के जस्तो
लख्तरान एक मस्तिषक खोच्याइरहन्छ
बेरिएर आफ्नै भोगाइ र बुझाइमा
एक किताबमा
किताबको एक पानामा
पानाको सिर्फ एक हरफमा
एकै हरफको एक अक्षरमा
एक अक्षरको एक घुम्तीमा ।
बुढा पुगेर मास्तिरको एक भञ्ज्याङ्मा
आफ्नै गोडाको दुखाइको चक्र लाएझैँ
मस्तिषक घरिघरि भेटिरहन्छ आफ्नै छायाँ
शब्द, दृश्य, र ध्वनीका टुक्राहरूमा ।
के सोचेर मैले उस्लाई माया गरे होला ?
के मलाई मेरो एक रत्ति वास्ता थिएन ?
जरा गाड्दा एक फूलले माटोको भरमा
माटोमा साहारा नभेट्दा फूल मुर्झिन्छ भन्ने
के मलाई हेक्का समेत थिएन त्यो बेला ?
खै, कहाँ छिन् उनी आज !
फूल फुलाउन मौसमको कसरत चालिरहको छ
झरी परिरहेछ, आकाशमा जुन-तारा नतमस्तक छन्
यस्तै रात हुनु पर्छ पक्कै पनि त्यो रात
जब केही नसोची उस्लाई माया गर्ने आँट ममा पलायो ।
जगतले कुन मजाक रच्यो आज फेरि उस्को शिरमा
भारी बोकिरहेको थियो जो हिजो सम्म
आज भारी भएर बिसाएको छ कसैको काँधमा
बल् झुल्केको छ पाखुरीमा रात ढलेको छ मलामीको मुहारमा ।
उभिएर एक ठाउँमा त्यहीँ ठाउँमा कुँजिएर
परिचय ठड्याई नमस्कार बटुलि रह्यो हिजो
धड्कन दिनहुँ चुहिँदा उस्को छाती भयो रित्तो
अब कुन बस्तिमा पुग्ने हो ऊ बसाई सरेर ।
लाशमा बचेकुचेको केही जिन्दगी पनि भेटिन्छ
बटुली गल्लीको फन्को मारिरहने अठोट
केही खम्बाहरू जीउन फर्किन्छन् घाटबाट
जस्का पाइलै पिच्छे एक लाश ढुली हिँड्नेछ ।
भित्ताको फोटोले
च्याँप्प समातेर राखेको छ
एक खुशी परिवार ।
गोडाले भेट्टाउने
दुरी भन्दा धेरै पर
तारा मनाइरहेछन् तिहार ।
अनकन्टार रातमा आकाशको पेट मिचेर
गम्किरहेको छ जूनको मुहार ।
पाउँ सामु मात्रै हो
केही काँडा उम्रेको
घोचिरहन्छन् जस्ले बारम्बार ।
कैयौँ सम्झनाका बाल्टीहरूले
आँखाको इनारबाट जल उतारिरहँदा
जिन्दगी धोइदै छ कि पग्लिदै छ कि रित्तिदै छ
म त्यो जाँन्दिनँ ।
दुर-दुर क्षितिजमा
दिन खोज्याउँदै छ
आकाशको नाँगो चौरमा
चन्द्र बामे सर्ने तर्खरमा छ ।
आँशुको वर्षामा
जिन्दगी भिज्दै छ कि हलुकिदै छ,
अनि आँशुभेलमा बगिरहेका मान्छेको पहिचान
त्यो मलाई केही पत्तो छैन ।
आकाशको बादल
आँशुको दाना
उ, त्यहीँ माथी-माथी
त्यहीँ तल-तल
भित्रै भित्र, कुनै कुना
जन्म-पुनर्जन्म लिइरहेछन् ।
आँखा ढिकको पहिरो कहिले खस्दछ ?
सँगालिएर बसेको पिर-मर्काको धमिलो बाँध
जिन्दगीको कच्ची प्वाँल पक्डेर कहिले फुत्किन्छ ?
यि तमाम जवाफको अझैँ ज्ञान फेला परेको छैन ।
हेर न हेर, समुन्द्र,
तिम्रो पछि-पछि
तिम्रो अघि-अघि
तिम्रो वर-पर चारैतिर
छाँलहरू छल्किरहेछन्, बाँफहरू उडीरहेछन् ।
आज नयाँ गित सुन्छु
एउटा नयाँ कविता पढ्छु
जान्छु एक नयाँ स्टोर
अनि एक जोडा नयाँ लुगा किन्छु ।
आज म बोलाउँछु त्यो दिन
जो पहिले आउन भ्याएको थिएन
र भोली दोहोरिने पनि मुम्किन् छैन ।
आज म खासै पुराना केही सम्झिन्न
अहँ, म बिर्सिन पनि तम्सिन्न
भोली फेरि म
हिजोसँग पुनर्मिलन हुने पक्का छ ।
बितेका कुरा न रहे मसँग सारा
बिती जाने कुरा न रहेछन् सारा ।
घरी दायाँ घरी बायाँ
गाडीको चारकुने झ्याँलबाट
छुट्टिरहेका, भेट्टिरहेका केही दृश्य
टुलुटुलु हेर्दै
एक अञ्जान काका बसेका छन् मेरो सामु ।
उनको घर कहाँ होला;
उनी घर हिँडेका कि घर छोडेर;
के उनी विदेश हिँडेका;
उनी विवाहित होलान कि अविवाहित;
हुन् भने, कुन बाध्यताले उनी एकलै हिँडिरहेछन्;
कि उनलाई महापुरुषको बैरागले तानेको होला र …
हे बरै, यो गाडी किन भिर खसेको, खोला पसेको
के यिनी काका खोला हिँडेका हुन् र बरै ?
म त अन्त कतैको लागि भनेर पो निस्केको !
जीर्ण अल्मारी भित्र
कतै थन्काइएको एक कुसुमे रुमाल जस्तै
ओझेल परेका छन् हाम्रा यादहरू
अनगिनत् यादहरूको बथानमा ।
सिम्सिमे वर्षामा घाम सुस्ताइरहेको एक साँझ
जब माटोमा जन्मिदै हुनेछ ताँजा सुगन्ध
जस्लाई सिर्सिरे हावाले बोकेर हाम्रो छातीमा टाँसिदिनेछ
तब स्मृतिका मुहानहरू फुट्नेछन् हाम्रो धर्तीमा ।
चराहरू खेतका आली-आलीमा नाचिरहेका हुनेछन्
फूलहरू काँडाको भऱ्याङ चढी आकाश चुलिदै हुनेछन्
लटरम्म फलहरू बोटका ढाँडहरू नुघाइरहेका हुनेछन्
एक गोठ पर्खिरहेको हुनेछ चरणमा गएका बस्तुभाउहरू ।
झिस्मिसे साँझको अन्यौल्तासँगै जब
गुँड्हरू सम्झेर चराहरू फर्केर आउँनेछन्
चुलोमा जब दाउराहरू प्राण सुम्पिनेछन्
जुनकिरी जूनको साथमा जब डुल्नेछिन्
तब मनका कुनामा हाम्रा यादहरू सल्बलाउनेछन् ।
भुलेर खोलाले हिमालको बाटो
भौतारिए जस्तै गगनै चारेर
हामी पनि कुनै चौरमा अल्मलिरहेका छौँ
एक दिन जब घन्किने छ घाँटीको घण्टी
तब हामी जरूर खोज्ने छौँ घर फर्कने बाटो ।
अल्मारीको पुरानो एल्बममा कैद एक धमिलो तस्बिर जस्तै
पुरिएर ओझेलमा परेको छ आँफै भित्र घर फर्कने बाटो
जुन बाटोमा हामीले धेरै पहिले अन्तैको लागि
केही हिम्मत जुटाएर कदम चालेका थियौँ ।
जब बा-आमाका शरीर थला पर्ने छन्
जब घरका भित्ता चाउरिएर नचिनिने भैजानेछन्
जब विरानाहरू छिमेकी र छिमेकी विराना भैसकेका हुनेछन्
तब बाटोले लतार्दै ल्याउने छ हामीलाई
त्यहीँ पिपल चौतारीमा
जहाँ कुनै समय हात्तेमालो गरेर हामी हाँस्ने गर्थ्यौँ ।
अनकन्टार एक चकमन्न जंगलमा
रातले कम्मल ओढेर बसेको छ
भुईमा वृक्षले बिच्छ्याएका छन् ओच्छ्यान्
एक रूख कैद छ माटोमा जो
ढाँड सोज्याएर वतासको वेगमा
चन्द्र तिर पुलुक-पुलुक टहल्न पनि भ्याएको छ ।
आकाशमा ताराको जन्ती जत्तिकै
छेवैको तालमा थोपाहरूको लस्कर छ
जून ऐना हेरिरहेको छ त्यहीँ तलाउँमा––
रूखहरू व्यर्थै निहुरिएको नहुनु पर्छ ।
बतासले ब्यूँझाएर सुतिरहेका पातपतिङ्गर
कतै मस्तिषकको ब्रह्माण्डमा लम्पसार
त्रासलाई जगाएर चेतानमा भुकम्प ल्याउँछ ।
मुटुमा पनि बेचैनी उर्लेर आउँछ पहिरो सरी
तलाउँमा केही तरङ्गहरू उठ्बस् गरिरहेछन्
गगनमा जून पनि डगमगाइरहेको हुनुपर्छ ।
कोही आएको थियो
एक साँझ
बास बस्नलाई
मेरो मनमा ।
एक बिहान
सबेरै ब्यूझेर
सुटुक्क निस्केछ ।
पैतलाका डोब सारा
घामले मासेछ
बाटोले धेरै पर
पुऱ्यायो होला उस्लाई ।
बाटो त मेरो दैलो सम्म
दिन-रात टुप्लुक्क आइरहन्छ
याद पनि अजम्बरी छन्
जो आइरहन्छन् घाम-जून जसरी ।
समुन्द्रको थोपामा
हिमालको केही स्मृति बाँकि रहेझैँ
उस्को दिलमा
बितेका पलहरूका केही किस्सा
पक्कै बगिरहेछन्
जो हर दिन ब्यूझिन्छन् र
उड्दै बादल सरि आइरहन्छन्
मलाई भेट्न
हिँडेर आकाश-धर्तीको बाटो ।
खास्सै सोचे जस्तो भएको केही छैन
घाम कति उदाए-अस्ताए हेक्कै छैन
हुनु पर्ने के हो भएको चाहिँ के हो
त्यस्को छिनोफानो गरी सकिएको छैन ।
हतारमा हुइकिएको छ जिन्दगी
केही पाउन, केही बचाउन, केही जोड्न
समयको वेग कसरी मिलाउने हो
त्यो नि थाहा छैन ।
तिब्र गतिमा चलिरहेको छ जिन्दगी
कतै पर-पर बाट सुस्त-सुस्त
रात्री बसको अन्तिम सिटमा बसेर
लेक-बेँसीका सुसेलीहरू सुन्दै, गुन्गुनाउदै
आइरहेको हुनु पर्छ मेरो भाग्य ।
म सुतिरहेको बेला
म बेहोसिएको बेला
म हारिरहेको बेला
म रुमल्लिरहेको बेला
मेरो भाग्य कतै चल्मलाइरहेको हुनुपर्छ ।
बुद्ध सुस्ताइरहेछन् आफै भित्र
उनीलाई नबोलाएको, नसोधेको, नब्यूँझाएको धेरै भयो
झट्ट ब्यूँझिएर कतै टालटुल गरेको घाउ चिमोट्दै
सोधे भने बुद्दले:
ल भन त यो घाउ कुन घटनाको सन्तान हो
या
सुनाऊ त घाउलाई किन चिनो सरि जफत गरेको
या
के घाउको वरिपरि बेरिएर जिन्दगीलाई न्यानो दिएको ?
बुद्द सारै ज्याद्रा मान्छे
कति सोधेको ? कति झस्काएको ?
उनलाई सुत्न दिएकै जाति !
पर डाँडामा अर्का बुद्द बस्छन्
उनी केही नसोधी, नखोतली सुनिरहन्छन्
केही भन्न केही माग्न परीआएमा
त्यतै जाने रीति बसेको छ ।
जिन्दगीको हिडाईमा एक दिन––धेरै दिन––
ठेस लाग्न सक्छ तिमीलाई ।
तिम्रो मनमा पिरतीको फूल फक्रीरहेको बेला
कोही कलिला थुँगा कुल्चिएर सुइकिन सक्छ ।
तिम्रा शरीरका सबै हड्डी निदाइसके पस्चात
यादहरू बियूँझेर दौडिदै यादसागरमा विवश पार्ने छन्
तिमीलाई पुकार्न पत्थर भैसकेका दैवी-देवताका नामहरू ।
तिम्रो घाउहरूको रक्तस्रावले
बुट्टा भरिएक केही चित्रहरू
उपहार भई जाने छन्
जो हिम्मतले तिमी टांग्ने छौ आफ्नै छातीमा ।
ऊ बिन्ती बिसाउन आएको छ––
उस्को नाम लगिदिनु पर्ने रे
धर्ती माथी आकाश पारि ।
उस्ले केही पाप गरेको छ अरे
पापको पश्चताप गर्न थालेको अस्ती नै हो रे
ऊ चाहान्छ कि भग्वाणलाई यो कुरा बेलैमा थाहा होस् भनी ।
ढिला सुस्तीको चापमा गल्तीले ऊ नर्क पो जान पऱ्यो भने
उस्लाई लाग्छ कि सब बर्बाद हुन्छ––तिर्थयात्र खेर जान्छ––
अनि भग्वाण आफै पापको सिढि उक्लेर लोप भैजानेछन् ।
ऊ मलाई यि सब कुरा किन सुनाउँदै छ कुन्नी
मेरो अन्तिम घडीमा
के ऊ––मेरो प्राण प्रिय साथी––मलाई एक रत्ति जान्दैन होला ?
म त राक्षस कहाँ पो जान लागेको ।
आइनन उनी
आएन निन्द्रा पनि
आजको यो रात
आइरहे यादहरू धेरै-धेरै
टाढा-टाढा बाट ।
जून पनि आएन
आएनन् तारा पनि
आकाशमा आजको रात
हिडिरहे बादलका ढिस्का
टाढा-टाढाको बाटो ।
भुलिए आफ्नै निष्कर्षहरू
कतै भेटिएर कतै छुट्टिएका
दर्जनौ मान्छे पनि सम्झनामा आउन छाँडे ।
किन सम्झिरहेको छु म
जो-जे यादमा अल्मल्लिरहेछन् अहिले ।
भरियाले भारि पक्डे जस्तो
गितकारले धुन् समाते जस्तो
लेखकले आत्मा खोतले जस्तो
केही सोचहरूसँग बल्झेको छु म पनि ।
भुलिदा यति धेर घटनाहरू
समझनामा छन् केही
सम्झेकै बिर्सिए भने
म कस्तो हुँदो हुँ ?
तारा छरप्रष्ट आकाश भरी
जून ठिङ्ङ उभ्भेको छ माँझमा
छन् तारा जूनहरूजस्तै
टिल्पिलाइरहेका अंशहरू जीवनमा ।
खोजेर
गोजीमा, अल्मारीमा, झोलामा, बाकसमा
नभेट्टिने रहेछन् अखिर
केही चिजहरू
जो हराएका त छैनन्
तर नजानिदो ढंगमा
बद्लिएर नचिनिने भैसकेका छन् ।
सुन्छु: तिम्रो रुमाल नसुकेको धेरै भयो
दृश्य हराउँदा तिम्रो नयनको
टन्टलापुर घाममा पनि तिम्रो सोच अँध्यारो भयो ।
भोली भूत जस्तो भएको हो तिम्रो ?
के त्यहीँ हो तिमीलाई तर्साउने ?
कि हिजो निसाना नछोडी अलपत्र भयो सपना जसरी ?
त्यो पो हो कि तिमीलाई झस्काउने ?
बताऊ तिमी आज आखिरीमा
तिम्रो मण्डलमा ग्रहण के-केस्ले ल्याएका छन्
कानलाई निन्द्राको बर्कोले छोपेर म सुनिदिउला
एक खोलीका सुसेलीहरू बगरले सुने जसरी ।
आज तिमीले राम्ररी चिनेर बयान गरी बताऊ
पछि कसैले फेरी तिमीलाई तिमीले नचिन्ने गरी
बताउन आउनेछन् तिमीले बिर्सिसकेका हर्ष-विस्मातहरू ।
खित्काको मसिनो आवाज र
पाइलाको मधुरो झंकार पुगेका थिए तिम्रा
सूर्य ढल्दै गर्दा गगनको दाहिने कानमा ।
पुर्णिमाको रात लठ्ठ छ
गगन पल्टि रहेको छ
चन्द्रामाको सिरानी हालेर
उपरखुट्टी लगाई जो सोचिरहेको छ
धेरै तला मुनि सन्ध्याकालिन चौरमा
खित्-खित् हाँसिरहेकी तिम्रो बारेमा ।
कस्तो भारी हुँदै गइरहेछ आजकाल यो जिन्दगी
जो आफैले दिन-रात लगाई बटुलेको थिए
टोल-छिमेकका तमाम गतिबिधीका ढुकुटी खोतली ।
आज भोली किन हो किन
ज्याद्रै भारी हुँदै गइरहेछ
यो जिन्दगी ।
कता गई आधा-उधी पोखिऊँ म
भारी हुँदै गइरहेछ अनयासै
आफ्नै तिर्खा मेटाउन बोकेको गाग्री ।
लाग्छ यो कसैको स्मृतिमा कोरिएको एक पत्र हो––
अहँ, यस्तो पनि लाग्छ यो कसैको स्वीकारोक्ति हो––
यस्मा दुई-चार केही अनुत्तरित प्रश्नवाचक चिन्हहरू छन्––
कुनै वाक्यहरू प्रतिउत्तर नखोजी पूर्ण विराममा ढलेका छन् ।
यो गजल हो कि कविता ?
कि यो कथा हो ? कि एक निबन्ध ?
कि त यो हो झर्दै गरेको बर्खाको झरीको लहर––
कि हो सिस्नोका बोट ढाकेका काँडाको एक पंक्ति––
या हो असह्य बेदनामा जन्मेको चित्कारको शून्यता ?
फेरि यो पनि त हुन पायो कि पाना पुरै खाली भेटिएको होस्––
कुनै चित्रकारका डग्मगाइरहेका औलाहरूले इन्द्रेणीका रंग घोली––
तिम्रो मस्तिष्कमा सुस्त-सुस्त कोरिरहेको चित्र पो हो कि यो कतै––
जो तिमीले बारमबार देख्न भ्याइसक्यौ या एकबार पनि देखेकै छैनौ––
सायद तिम्रो बेवास्ताको कुनाबाट उम्कन तम्सिरहेको आफ्नै चिज हो यो ।
साहित्य ? सत्य ? मिथ्य ? आफ्नो ? बिरानो ?
प्रश्न ? उत्तर ? पाना ? मस्तिष्क ? इन्द्रेणी ?
के हुन् यि सब बक्वासहरू ?
यो पनि त हुन सक्छ––
यि केसैको उत्पत्तिको प्रारम्भ भएकै नहोस्––
वर-पर चारैतिर आफैभित्र नव चलायमान उब्जेको होस्––
हड्डी-हड्डी ठोक्किएर मसिनो सुस्केरा बल्ल गुञ्जिदै होस्––
तथास्तु ! तथास्तु !